जथाभाबी फोहर फाल्नेलाई पाँच हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना


प्रनिश थापा, चितवन।

तपाईँ चितवन प्रवेश गर्दै हुनुहुन्छ ? सावधान हुनुहोस् है ! चितवनमा प्रवेश गर्दा अब जथाभाबी रूपमा फोहोर फाल्न नपाइने नियम भरतपुर महानगरपालिकाले गरेको छ । यसरी फोहोर फालेको पाइएमा भरतपुर महानगरपालिकाले फोहोर मैला व्यवस्था ऐन २०६८ को प्रावधान अनुसार जथाभाबी फोहोर फाल्नेलाई ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको छ । यस्तै, जथाभाबी रूपमा फोहोर फालेको सूचना दिनेलाई सुराकीलाई जरिवाना बापतको आउने रकमबाट २५ प्रतिशत पुरस्कार दिने निर्णय समेत भरतपुर महानगरपालिकाले गरेको छ । कार्यपालिकाको गत मङ्सिर ७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘फोहोर मैला व्यवस्थापनलाई नियन्त्रणमा लिन भरतपुर महानगरपालिका धेरै कडा बन्दै गएको छ’, महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भने, ‘फोहोर व्यवस्थापनमा सहयोग गर्नेलाई पुरस्कार र असहयोग गर्नेलाई कारबाही हुन्छ ।’ फोहोरको प्रकृति, परिणाम र पट्केको आधारमा १ लाखसम्म जरिवानाको व्यवस्था गरिएको उनले बताए ।

समितिमा हेरफेर 
यस्तै, नगर कार्यपालिकाको समितिमा हेरफेर समेत गरेको छ । अनुगमन समितिको संयोजक नगरप्रमुख नै रहेकी छन् भने आर्थिक र पूर्वाधार विकास महाशाखाका सदस्य समितिमा थप गरिएको हो । सामाजिक विकास समितितर्फ संयोजक भरतपुर २५ का वडा अध्यक्ष विजय भुजेल नै रहेका छन् भने सदस्यसचिवमा तुलसीप्रसाद श्रेष्ठ रहेकामा उनको स्थानमा कलावती ओझालाई राखिएको छ । भरतपुर
महानगरपालिकाका प्रवक्ता अरूणपीडित भण्डारीका अनुसार वातावरण तथा विपत् व्यवस्थापन समितिमा वडा ५ का अध्यक्ष पदमपाणी सुवेदी साबिककै संयोजक रहेको र सदस्यसचिवमा भने सुशीला रेग्मी लाई हटाएर अञ्जनी अधिकारीलाई राखिएको छ । सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजक २२ नम्बर वडा अध्यक्ष विष्णुराज महतो रहेकोमा साबिकको कायम गरिएको छ भने सदस्य सचिवमा रोमबहादुर महतको ठाउँमा अर्जुन पौडेल रहेका छन् । सरसफाइ तथा ल्यान्ड फिल्ड साइड उपसमिति संयोजकमा वडा ३ अध्यक्ष चन्द्र मित्र पण्डित रहेका छन् भने सदस्यसचिव लीलाराज खरेल लाई हटाएर सुशीला रेग्मीलाई राखिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

अन्य निर्णय 
आर्थिक वर्ष ०७३/०७४ मा पर्यटनतर्फ सङ्घीय सरकारबाट प्राप्त भई महालेखाबाट बेरूजु औँल्याएको झन्डै ३ करोड रकम सम्परीक्षणका लागी बेरूजु खातामा दाखिला गर्ने निर्णय भएको प्रवक्ता भण्डारीले जानकारी दिए । नगर सदस्यमध्येबाट नगर कार्यपालिकाले मनोनीत गर्ने एक जना सदस्यमा धन कुमारी विकलाई मनोनीत गरिएको छ । वडा नं १६ मा करेन्ट लागी मृत्यु भएका विद्युत् कामदारका परिवार लाई राहतस्वरुप २ लाख ५० हजार उपलब्ध गराउने निर्णय भएको छ । नगर प्रहरीले जफत गरेका र ट्राफिक प्रहरीबाट प्राप्त वस्तुको लिलाम बिक्री प्रक्रिया अघि बढाउनेसमेत निर्णय महानगरको कार्यपालिका बैठकले गरेको छ । वडा नम्बर २ र १२ को वडा कार्यालय साँघुरो भएकाले अर्को आवश्यक जग्गा पहिचान गरी केन्द्रमा स्वीकृतका लागि पठाउने निर्णय भएको छ । महानगरभित्रको कालोपत्रे सडकको लगत तयार गरी एकरुपता कायम गर्ने र पौष ११ गते भित्र नगर सभा सम्पन्न गर्ने गरी नगरप्रमुख रेणु दाहालको संयोजकत्वमा उमप्रमुखसहित ७ जनाको टिम बनाइएको महानगरका प्रवक्ता भण्डारीले जानकारी दिए ।


Related posts

Leave a Comment