मनाङ २ खेल अघि नै ‘ए’ डिभिजन लिग च्याम्पियन


सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब अन्तिम चरणका २ खेल बाँकी रहँदै पल्सर सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ । ११ चरण सम्म आइपुग्दा विजय यात्रालाई जारी राखेको मनाङले उपाधि रक्षा पनि गरेको हो ।

लिगको निर्णायक मानिएको खेलमा शीर्ष स्थानको मनाङले दोस्रो स्थानको संकटा क्लबलाई ३–१ गोलले हराउँदै उपाधि जितेको हो । पहिलो हाफमा २ मिनेट थपिएको इन्जुरी टाइमको पहिलो मिनेटमा मनाङले खेलमा अग्रता लियो । मनाङका विशाल राईको कर्नरलाई रोक्ने क्रममा संकटाका गोलकिपर राजाबाबु थापाको हातबाट बल खुस्किएको थियो । सो बलले जाली चुमेपछि मनाङले खेलमा अग्रता लियो ।

खेलको ८२ मिनेटमा मनाङका विशाल राईको कर्नर बलमा पुजन उपरकोटीले हेडमार्फत गोल गरे । ८७ मिनेटमा मनाङले तेस्रो गोल गर्यो । एडिलेजाले मनाङका लागि तेस्रो गोल गरेका थिए । यसपटक पनि उनलाई गोल गर्न विशाल राईले नै पास उपलब्ध गराएका थिए । खेलको अन्तिम मिनेटमा संकटाका सेड्रिक अबाले गोल फर्काएका थिए । मनाङले खेलेका सबै ११ खेल जित्दै ३३ अंक जोडेको छ । दोस्रो स्थानको संकटाको २५ अंक छ । अब बाँकी रहेका दुवै खेल हारेपनि मनाङ च्याम्पियन बन्नेछ । त्यसअघि बिहीबार नै भएको पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ क्लबले १ – १ गोलको बराबरी थिए । बराबरीसंगै एपीएफले १७ अंक बनाएको छ । च्यासलको १५ अंक छ ।


Related posts

Leave a Comment