सार्वजनिक सवारीसाधनमा डस्टबिन अनिवार्य


सार्वजनिक सवारीसाधनमा डस्टबिन राख्ने अभियान सुरु गरिएको छ। फोहोर व्यवस्थापन गरी पूर्ण सरसफाइयुक्त जिल्ला बनाउन सहयोगी कार्यक्रमका रूपमा यस्तो अभियान सुरु गरिएको हो। भरतपुर महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र वे गु्रप चितवनले संयुक्त रूपमा भरतपुर महानगर क्षेत्रमा यो अभियान सुरु गरेका हुन्।सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेहरूले जथाभावी फोहोर फाल्ने गर्दछन्। खानेकुराका बोक्रा, खोल, प्लास्टिक आदि फाल्ने ठाउँ सवारीसाधनभित्र नहुँदा यात्रुहरू झ्यालबाटै फेहोर फाल्न बाध्य भएका हुन्। यात्राका क्रममा फालिने त्यस्ता फोहोर व्यवस्थापनका लागि सवारीसाधनमा डस्टबिन राख्ने अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।अभियानअन्तर्गत चितवन भएर र चितवनभित्र चल्ने सानाठूला सार्वजनिक सवारीसाधनमा फोहोर व्यवस्थापनका लागि डस्टबिन राख्ने र चेतनामूलक स्टिकर टाँस्ने काम सुरु गरिएको हो। अभियानअन्तर्गत केही सवारीसाधनलाई डस्टबिन पनि वितरण गरिएको ट्राफिक प्रहरी निरीक्षक गौतमको भनाइ छ। ‘नमुनाका रूपमा केही सवारीसाधनलाई डस्टबिन दिएका छौं,’ उनले भने, ‘अब लामो तथा छोटो दूरीमा चल्ने सबैखाले सवारीसाधनमा सवारीधनीले डस्टबिन अनिवार्य रूपमा राख्नुपर्नेछ।’


Related posts

Leave a Comment