हाटबजारको जग्गा व्यक्तिका नाममा


अलोक यादव , सिरहा।

लहान –ठाडी सडक खण्डको सखुवानान्कर कट्टी ४ खयरबोनास्थित मुख्य बजार रहेको जग्गा पूर्व गाविस अध्यक्ष खुसीलाल यादवले सुकुम्वासीको रूपमा पत्नीको नाममा नामसारी गराएको खुलेको छ । सखुवानानकरकट्टी गाउँ पालिकाले हाटबजार बिस्तार गर्ने क्रममा खयरबोना बजारको १९ का १४ धुर मध्ये २ कठा १० धुर जग्गा सुकुम्वासी समस्या समाधान आयोगका तत्कालीन जिल्ला अध्यक्षसँगको मिलेमतो मा आफू अध्यक्ष भएका बेला पूर्व गाविस अध्यक्ष यादवले २०५८ असार १९ गते आफ्नी कान्छी श्रीमती सुशिलादेवीको नाममा नामसारी गराएको तथ्य खुलेको हो । गत वर्ष हटियालाई व्यवस्थित गर्न गाउँपालिकाले दिएको २ कठा १० धुर जग्गाको जग्गाधनी पुर्जामा सुशिलादेवीको नाम उल्लेख भएको पाइएको हो ।

लहान–ठाडी सडक खण्डको मुख्य सडक समेत परेको उक्त जग्गामा हाटबजारको निम्ति भौतिक पूर्वाधार बनाउने क्रममा गाउँपालिका कार्यालयले जग्गाको कागजात खोज्न थालेपछि पूर्वगाविस अध्यक्षले आफ्नी पत्नीलाई सुकुम्वासी बनाएर उक्त जग्गा नामसारी गराएको तथ्य फेला परेको सखुवानान्कारकट्टी गाउँपालिका ४ का वडाध्यक्ष रमेशकुमार महतोले पत्रकार सम्मेलनमा जानकारी दिए ।

वर्षौँदेखि हटिया लाग्दै आएको हालको गाउँपालिकाको केन्द्र समेत रहेको जग्गामा आठ कोठे भवनको आधारभूत विद्यालय, स्वास्थ्य चौकी, दुई कोठे सार्वजनिक शौचालय र हटिया स्थल छन् । सुशिलादेवीको नाममा नामसारी हुनुभन्दा पहिले उक्त जग्गामा निर्माण भएको स्वास्थ्य चौकी तथा प्राथमिक विद्यालय अहिले पनि सञ्चालनमा छ। त्यसबाहेक लहान–ठाडी सडक खण्डको मुख्य सडक पनि उक्त जग्गामै परेको छ ।

आयोगबाट जग्गा प्राप्त गर्नुअगाडि नै पूर्वगाविस अध्यक्ष खुसीलाल र उनकी भाउजू तथा भाइहरूको संयुक्त नाममा दुई बिघाभन्दा बढी जग्गा मालपोत कार्यालयको स्रेस्तामा कायम रहेको देखिएको छ । पुर्ख्यौली सम्पत्ति रहेका यादवले आफू गाविस अध्यक्ष रहेको बेला पत्नी को नाममा हाटबजार लाग्ने जग्गा हात पारेपछि अहिले गाउँपालिका भरी नै चर्चा बढेको छ ।

‘गाविसको हकहितमा लागि पर्नु हुन्छ भनेर सबै मिलेर उनलाई गाविस अध्यक्षमा जिताएका थियौ, तर उनले त हाटबजारको मुख्य जग्गा नै हडप्नुभयो, वडाध्यक्ष महतोले भने, ‘उक्त जग्गा फर्काउन कानुनी कारबाही गर्न जहाँ जानु परे पनि जान्छौँ ।

‘२०५४ सालको स्थानीय निर्वाचनको बेला गाविस अध्यक्षमा निर्वाचित भएका खुशीलालजीले त्यसपछि जुन जुन दल शक्तिशाली भयो त्यही त्यही दलमा प्रवेश गर्दै गयो, सङ्घीय समाजवादी फोरम सिरहाका जिल्ला सदस्य प्रयोगलाल यादवले भने, ‘२०६३ सालपछि दल बदल्दै गत स्थानीय चुनावमा एमालेबाट वडा अध्यक्षमा चुनाव उठेका थिए तर असफल भए, कारण जग्गाको बचाउ गर्नु रहेको पछि खुल्यो ।

पूर्वगाविस अध्यक्ष यादवले बलान खोला छेउमा परेको केही जग्गामा घर बनाउन डर लागेकोले कान्छी पत्नीको नाममा सरकारी नियमानुसार जग्गा प्राप्त गरेको दाबी गरे । उनले कान्छी पत्नी सुशीला देवीको नाममा आफूले त्यो बेला कुनै सिफारिस नगरेको र चार खण्डको एक खण्ड रकम तिरेर जग्गा प्राप्त गरेको सञ्चार कर्मीसँग बताए ।


Related posts

Leave a Comment