३३ किलो सुन प्रकरणमा सई बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश


उच्च अदालत विराटनगरले ३३ किलो सुन तस्कर र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका निलम्बित प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल साधारण तारेखमा छाड्न आदेश दिएको छ । बिहीबार जिल्ला अदालत, मोरङको आदेश उल्टाउँदै उच्च अदालत विराटनगरले सञ्जेललाई साधारण तारेखका छाड्न आदेश दिएको हो ।

जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका सञ्जेललाई उच्च अदालतका न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको संयुक्त इजलाशले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिँदा तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको उच्च अदालतका रजिष्ट्रार नरायण रेग्मीले जानकारी दिए ।

जिल्ला अदालत मोरङले गत जेठ ८ गते पूर्पक्षकालागि थुनामा राख्ने आदेश दिएपछि थुनामा रहेका सञ्जेलले गत साउन ६ गते जिल्लाको आदेश बदर गरेर आफूलाई साधारण तारेखमा छाड्नु पर्ने माग गर्दै उच्च अदालत विराटनगरमा अदालती बन्दोबस्तीको १७ नम्बर निवेदन दिएका थिए ।

यही प्रकरणमा थुनामा रहेका प्रहरीका उच्च अधिकारीहरु पूर्व डीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकाशराज खनाल र डीएसपी प्रजित केसीलाई उच्च अदालतले यस अघि नै साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।


Related posts

Leave a Comment