फेरी पनि प्रचण्ड प्रधानमन्त्री नबन्लान् भन्न सकिन्न


यतिबेला मुलुकको राजनीतिक वृत्तमा एउटा सन्देह उत्पन्न भएको छ । निर्वाचनको परिणामले वामगठबन्धन बाटै सरकार बन्ने कुरामा त सन्देह रहेन तर केपी ओली र प्रचण्डमध्ये कुन प्रधानमन्त्री हुन्छन् भन्ने कुरामा भने ठोकुवाका साथ भनिहाल्ने अवस्था भने छैन यद्यपि त्यसमा केपी ओलीको संभावना नै बढ्ता छ । अदलबदल भइरहने नेपालको राजनीतिक समीकरणले कुन गति लिन्छ त्यो अनुमान लगाउन राजनीतिक दलका शीर्ष नेतृत्वलाई पनि सकस पर्छ । विशेष गरी निष्ठा र नैतिकताभन्दा माथि उठेर राजनीतिक धन्दा गरिरहेका राजनीति कर्मीको विश्वास र भरोसा पनि गर्न सकिदैन । आम जनताको तहबाट सोच्दाँ वाम गठबन्धनले जुन परिणाम प्राप्त गर्यो त्यसलाई विभिन्न तरिकाले विश्लेषण भइरहेका छन् । यसमा खास वास्तविक कारण भनेको अस्थिरता र मौसमजस्तै परिवर्तन हुने सरकारबाट वाक्कदिक्क भएका जनताको स्थिरता र विकास प्राप्त गर्ने चाहनाको रुपमा हेर्न सकिन्छ ।  साथै छरिएर रहेका कम्युनिष्ठहरु एकत्रित हुँदाको शक्ति मानिन्छ । वाम गठबन्धनप्रति मानिसको ठूलो भरोसा र विश्वास भएर अथवा राजनीतिक सिद्धान्त र संस्कार राम्रो भएर पाएको जनमत हो भन्ने दम्भ हटाउँदा राम्रो हुन्छ । इमान्दारीता र जिम्मेवारीका साथ काम गर्र्ने भन्दा पनि सत्ताको भागबण्डा र मोलमोलाइका आधारमा चलेको नेपालको राजनीतिक संस्कार सुध्रिन पक्कै केही समय लाग्छ ।

त्यसकारण वामगठबन्धनको सरकार बनेपछि पनि पात्र र चरित्र विगतकै भएकोले ठूलै परिवर्तनको छलाङ् पार्ने कल्पना पनि गरिहाल्नुपर्ने स्थिति देखिदैँन यद्यपि यो असम्भव भने होइन ।  प्रसंग छ सरकार गठनको वामहरुको गठजोड भएपछि नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो चुनौति र चिन्ताको विषय भनेको यी दुई पार्टीबीचको डोरी कसरी छिनाउन सकिन्छ भन्नेतिरै केन्द्रीत भइरहेको छ । त्यसको प्रयास चुनावअघिबाटै गरेपनि सफल भने अझैसम्म बन्न सकेको छैन । त्यसको सम्पूर्ण जिम्मा प्रचण्डकै हातमा छ । कांग्रेसले यो गठबन्धन रहिरह्यो भने आगामी ५ वर्ष त त्यसै पछि परियो अर्को चुनावमा पनि करीब करीब यस्तै नतिजा आउने डरले प्रचण्डसँग मिल्नको लागि जस्तोसुकै मूल्य चुकाउन तत्पर भएको भान हुन्छ ।

नत्र भने चुनावमा तेस्रो बनेको माओवादीलाई प्रधानमन्त्रीको औपचारिक रुपमै अफर गर्नु कत्तिको वाञ्छनीय हुन्छ । एउटा नैतिक मूल्य रहेको पार्टीको लागि यो अस्वस्थ कदम सुहाउने कुरो पटक्कै होइन । यदि पार्टी एकता गर्दा कुरा नमिलेमा प्रचण्डले विकल्पको रुपमा त्यस बाटोमा जाने अड्कल पनि लगाउन सकिन्छ भने एमालेले पनि संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रयास भित्रभित्रै थालेको समाचार पनि बाहिरिएका छन् । यस विषयमा फोरमले स्पष्ट प्रतिकृया नदिएकोले एमालेले त्यो कदम नचालेको हुन सक्छ । तर पनि एमालेमा भने माओवादीलाई लत्याएर सरकार बनाउन नहुने तर्क पनि प्रबल रुपमा उठेको छ । माओवादी र एमाले बाहेकको गठबन्धन त्यत्ति सुरक्षित भने देखिदैन । तत्काल केपी ओली प्रधानमन्त्री हुने संभावन प्रबल भएपनि प्रचण्ड पनि अर्को बाटोबाट प्रधानमन्त्री हुन सक्ने संभावनालाई नकार्न सकिन्न । त्यसो भएमा आम जनभावनामा केही वितृष्णा पैदा हुने निश्चित छ ।


Related posts

Leave a Comment