जनप्रतिनिधिको कार्यशैलीले संघीयता धरापमा


स्थानीय तहको निर्वाचन भएको पनि लामो समय बितिसकेको छ । देश संघीयताको नयाँ अध्यायमा प्रवेश गरेको हुनाले प्रत्येक स्थानमा हरेक जनताले सरकारको भूमिकालाई अनुभूत गरिनुपर्छ । सरकार र जनताको सबैभन्दा बढी संपर्क र सम्बन्ध प्रगाढ हुने भनेकै संघीयता सहितको शासन प्रणालीमा हो । हरेक राष्ट्रले इतिहासबाट शिक्षा लिनुपर्छ र इतिहासलाई बुझेपछि मात्र नयाँ बाटोमा लाग्नुपर्छ । हरेक मुलुक एउटै छैनन् जनसंख्या भुगोल, समाज, संस्कार, शिक्षा आदिका आधारमा फरकफरक किसिमका देशहरु छन् । हरेक देशको औकात र परिस्थिति भिन्न भिन्न हुन्छ । नेपालमा संघीयता सफल हुन्छ या हुँदैन भन्ने विषय अन्य मुलुकसँग दाँजेर भन्दा पनि यहाँको वास्तविकता र आवश्यकतालाई बुझ्नुपर्छ । संसारमा संघीयतको सार्थक प्रयोग भएका देशहरु पनि छन् । संघीयता नै मुलुकको विखण्डन र  पतनका कारक भएका पनि छन् ।

हाम्रो लागि संघीयता सफल सिद्ध हुन्छ कि संघीयता नै घातक हुन्छ भन्ने कुरा राजनीतिका बाहकहरुमा निर्भर रहन्छ । एउटा असल शासकले मुलुक परिवर्तन गर्न सक्छ । नेपालमा पनि संघीयताको विपक्षमा उभ्याउनेहरु अझै देखिन्छन् यद्यपि संघीयता कार्यन्वयनको तहसम्म पुगिसकेको छ । यो असफल भयो भने राष्ट्रले ठूलो क्षति भोग्नुपर्छ । परिस्थिति उल्टिन सक्छ । विगतदेखि नै राजनीतिलाई चोख्याउदै र यसभित्रको फोहोर सफा गर्नमै लामो कालखण्ड बिताएका हामी नेपालीको अन्तिम उद्देश्य भनेको शान्ति समृद्धि, न्याय, सुशासन, अधिकार प्राप्ति इत्यादी नै हो । हाम्रा उपलब्धि यी उद्देश्यसँग जोडिए भने मात्र हाम्रो अपेक्षा पूरा हुने हो । लोकतन्त्र गणतन्त्र संघीयता आउदैमा मात्र केही हुँदैन तर त्यसले मानवीय जीवनालाई व्यवहारिक रुपमा परिवर्तन गराएमा ठूलो अर्थ राख्दछ । आजसम्म हामी जुनजुन कुराको प्राप्तीमा लड्यौ त्यसका पछाडि हाम्रो ठूलो अपेक्षा र चाहना लुकेको थियो । हामीले हामीबिरुद्ध भइरहेका थिचोमिचो र अन्यायको बारेमा उन्मुक्ति खोज्दै आइरहेका थियौँ ।

त्यसका लागि हामीले बलिदानीपूर्ण संघर्ष र कठोर त्याग गरेर आयौँ हाम्रो उद्देश्य केही प्राप्तीकै लागि केन्द्रीत थिए । राजनीतिक शब्दावली र परिभाषामा हामीले अहिले धेरै नै पाइसकेका छौँ । संविधान पाइसकेका छौ । ३१ ओटा मौलिक हक पाइसकेका छौ । यसैगरी अन्य हकहरु पनि पाइसकेका छौँ । संविधानमा बाँच्न पाउने हक लेखिएको छ तर पनि अभाव गरिबी र भोकमरीले साथ छोडेको छैन । केहीको जीवनमा सामान्य सुधार आएपनि धेरैको खुसी अझै खोसिएकै छ । धेरैलाई अनन्त दुखले लखेटिरहेको छ । हो हामी राजनीतिक परिवर्तन र राजनीतिक विकासक्रममा धेरै नै छलाङ मारिसकेका छौ । तर अब जनताले अनुभव प्राप्त हुने गरी परिवर्तन र विकासका किरणहरु अब दिन सक्नुपर्छ । नत्र यी उपलब्धिको कुनै तुक देखिदैन । यी उपलब्धिसँग सबैको त्यत्ति सरोकार छैन होला तर जीवनस्तर उकास्ने गरी दुख र अप्ठ्यारोबाट पार लगाउने गरी उपलब्धि भएका छैनन् ।

स्थानीय निकायका प्रतिनिधि आइसकेको महिनौ भइरहँदा सकरात्मक संकेत देखिएका छैनन् । जेजस्ता आश्वासन र प्रतिबद्धता जनाएर मत मागेका थिए तिनलाई पूरा गर्न त्यत्ति सक्रियता र तत्परता देखाएको पाइएको छैन । हुन त ऐन, नियम, कानुन, संरचनाको पर्याप्तता छैन । काम गर्ने कार्यविधि स्पष्टताका साथ बनेको छैन । त्यसका पनि आफ्नै बाध्यता होलान् तर जति सम्भव हुन्छ त्यत्ति त गर्न सकिन्छ । स्थानीय प्रतिनिधिबाट सुधारको संकेत अझै नदेखिनुले जनताहरु जेसुकै आएपनि हाम्रो जीवन त सधै यस्तै रहेछ भन्न बाध्य भएका छन् । यो कुरा मुखले नबोले पनि अन्तर्र्मनले सधै बोलिरहेको हुन्छ । केही सीमित पात्रहरुको लागि मात्र उपलब्धि नबनोस् काममा अलि शीघ्रता र चुस्तता आओस् जनताको यही चाहना छ । संघीयताले नयाँ उपलब्धिको अनुभव गर्न सक्ने गरी काम गर्नु जनप्रतिनिधिको कर्तव्य हो । अब यसबाट पन्छिन पाइने छैन । र अन्त्यमा जनप्रतिनिधिको कार्यशैलीले संघीयता धरापमा नपरोस् । त्यो संभावना पनि अझै टरेको छैन ।


Related posts

Leave a Comment