प्रचण्डको प्रभाव नेपाली राजनीतिबाट ओझेलिने संकेत


यतिबेला मुलुकको राजनीति वृतमा सर्वाधिक चासो र चर्चाको विषय बनेको छ एमाले र माओवादी पार्टी बीचमा पार्टी एकता । निर्वाचन सम्पन्न भएको २ महिना बितिसक्दा पनि सरकार गठन लगायतका कामहरु अगाडी बढ्न सकेका छैनन् । र पनि मानिसको ध्यान सरकार गठनमा भन्दा पनि पार्टी एकताको विषयमा केन्द्रित रहेको छ । वाम गठबन्धन बनाएर चुनाव लडेका र भविष्यमा पार्टी एकता गर्ने बचन दिएको गठबन्धन यतिबेला पार्टी एकता गर्नैपर्ने नैतिक दबाबमा परेको छ । किनभने पार्टी एकताको उद्घोष गर्दा जनताले गठबन्धनलाई मतको भारी बोकाइदिएका थिए । अझ भनौँ बहुसंख्यक जनताको पार्टी एकता भएको देख्ने चाहना जसको सम्बन्ध स्थिर सरकारसँग रहेको छ । जसको माध्यमबाट नेपालको आर्थिक समृद्धि र राजनीतिक विचलनको अन्त्य गर्ने । त्यस्तो अपेक्षामा वामगठबन्धनलाई जनताले पत्याईदिए ।
नेपाली कांग्रेस अबको केही वर्षसम्म सत्ताको पहुँचबाट अलग बन्ने निश्चित भइसकेको छ । यदि यो गठबन्धनको निरन्तरता भयो भनेर जनताको मन जितेर अबको सरकारले जनप्रिय काम गर्यो भने नेपाली कांग्रेसको पोल्टामा शासन र सत्ता पर्ने छाँटकाँट देखिदैन । त्यसकारण पनि यो गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी टाउको दुखाईको विषय र घाँडोको रुपमा रहेको छ । यस गठबन्धनमा कसरी विचलन ल्याउन सकिन्छ भन्ने खेल खेल्न कांग्रेसले कुनै पनि विकल्प बाँकी राखेको छैन र त्यसको लागि अझै ठूलो त्याग गर्न तयार छ जसले गठबन्धनको घर भत्काउन सकोस् । यो नै कांग्रेसको प्रमुख चुनौतिको रुपमा कांग्रेसी जनले बुझेका छन् । त्यसो त वामगठबन्धन बीच भनिएको पार्टी एकता सहजै हुने छाँटकाट भने देखिदैन । यद्यपि सैद्धान्तिक रुपमा पार्टी एकता गर्नुपर्छ भन्नेमा भने एमाले माओवादीका नेता सहमत छन् । तर त्यसको लागि कसले कति त्याग गर्ने र पदीय अभिष्टलाइ कति प्राथमिकता दिने भन्ने विषयमा जटिल समस्या देखिएको छ । दुईओटा पार्टीलाई जोडेर एउटा पार्टी बनाउने काम भने कुनै पनि पार्टीका लागि सहज काम होइन जुनसुकै पार्टीमा केही न केही विवाद र असहमति हुन्छ नै तर त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयलाई टुंगो लगाउन सकेका छैनन् ।

चुनावी अंकगणितको कुरा गर्दा माओवादीको तुलनामा एमाले निकै अगाडी देखिन्छ । चुनावी मैदानमा जाँदा ६० प्रतिशत र ४० प्रतिशतको भागबन्डा गरेका दलहरु अहिले भने माओवादी खस्किएको छ । विभिन्न पदीय भागबन्डामा माओवादी केन्द्र ३० प्रतिशतमा चित्त बुझाउन बाध्य भएको छ ।  यसको वास्तविक अर्थ माओवादी निरन्तर खस्कदै गएको नै हो । यदि पार्टी एकता भयो भने पनि माओवादी एमालेमा विलय हुने अवस्था देखिएको छ । जसले गर्दा प्रचण्डको प्रभाव अब राजनीतिमा स्वतः ओरालो लाग्ने संकेत देखिएको छ । एमाले माओवादी पार्टीको साइजका बारेमा कुरा गर्दा एमाले निकै अगाडि भएकोेले एमालेका अधिकांश नेताहरु माओवादीलाई अध्यक्ष पद हस्तान्तरण गर्न कोही पनि सहमत छैनन् । प्रधानमन्त्री पदमा भने एमालेका केपी ओली बहुप्रचारित भइसकेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत प्रचारित भइसकेका ओलीको प्रधानमन्त्री पद निश्चितजस्तै छ । एमालेका केपी ओली प्रचण्डलाई पार्टीको अध्यक्ष बनाउने कुरामा कत्ति पनि सहमत छैनन् बरु अहिले पार्टी अध्यक्ष र प्रधानमन्त्री आफैले संचालन गर्ने दाउमा रहेका छन् । त्यसपछिको सशक्त विकल्पका रुपमा ओलीले पार्टी समाल्ने जिम्मेबारी एमाले महासचिव ईश्वर पोख्रेललाई सुम्पने अनुुमान गरिएको छ । एमाले स्रोतका अनुसार त्यसको लागि तयार रहेर बस्न ओलीले निर्देशन समेत दिइसकेका छन् । त्यसकारण पनि एमालेले पार्टी अध्यक्ष प्रचण्डलाई सुम्पनुभन्दा पार्टी एकता नै नगर्ने मनसाय बुझिएको छ ।
विगत दशवर्षदेखिको राजनीति प्रचण्डकै वरिपरीमा घुमेको र उनकै एजेन्डामा मुलुक हिडिरहेको प्रभावशाली व्याक्तित्व भएका प्रचण्डलाई पार्टी एकताबाट पछाडि सर्न पनि सकेका छैननु र अध्यक्ष पद बिना पनि बस्न सहमत छैनन् त्यसकारण सबैभन्दा बढी समस्या र अलमलमा प्रचण्ड देखिएका छन् । एकताबाट पछि सरेमा जनमानसमा दूषित सन्देश जाने र आफ्नो उचाई अझै घट्ने कुरा प्रचण्डले राम्रोसँग बुझेका छन् । पार्टीभित्रको आवाज सुन्दा पनि एमालेसँग बिना हैसियत पार्टी एकता गरेर आत्मसमर्पण गर्न नहुने आवाज उठिरहेको छ । प्रकारान्तरले धेरैले पार्टी एकतालाई माओवादीको एमालेमा विलयका रुपमा पनि बुझेका छन् । पार्टी एकताको नाममा एमालेसँग सहकार्य गरी केही भएपनि जनमानसमा विश्वास छोडेको माओवादी यतिबेला दोधार र अन्योलमा परेको छ । एमाले एक्लै पनि आफैमा प्रभावशाली रुपमा देखिएको हुनाले समर्पणको वा त्यागको भाव एमालेमा देखिदैन । जसले गर्दा अब प्रचण्डको प्रभाव नेपाली राजनीतिमा ओझेलिने संकेत देखिएको छ । पार्टी एकताबाट अध्यक्ष बन्ने छाँटकाट नभएपछि प्रचण्ड विष्मयको घडीमा पुगेका छन् ।

 


Related posts

Leave a Comment