ओलीले यी गल्ती फेरी पनि गरे भने मुलुक ठूलो दुर्घटनामा जाने


नेकपा एमालेका अध्यक्ष केपी ओली बलियो मतको समर्थन सहित प्रधानमन्त्री नियुक्त भएका छन् । नेपालको राजनीतिक यात्रा नयाँ भाष्यमा प्रवेश गरेको हुँदा केपी ओलीका सामु चुनौतिको गह्रौ भारी अगाडि देखिएको छ । नेकपा माओवादी केन्द्रसँग सहकार्य गरी विशाल जनमत बटुलेको एमाले पार्टी यतिबेला संसदमा पनि सबैभन्दा शक्तिशाली रुपमा देखिएको छ । यसलाई हेर्दा ओलीले साँच्चिकै ध्यान लगाएर इमान्दार र जिम्मेबारी बोधका साथ काम गरे भने उनलाई सबैभन्दा उपयुक्त अवसर पनि प्राप्त भएको छ । यसअघि प्रधानमन्त्री हुँदा पनि भारतीय नाकाबन्दी र मधेश आन्दोलनको कारण जनताले अनुभव हुने गरी काम गर्न नपाएका ओलीले राष्ट्रियताको नाममा कठोर अडान बोके जुनबेला उनको निकै चर्चा चुलियो उनको स्तर ह्वात्तै माथि उठ्यो ।

माओवादी केन्द्रको बेइमानीका कारण सत्ताबाट फुत्किदा समेत उनको लोकप्रिय जनमत राम्रै देखिएको थियो । आजसम्म बनेका सरकारले आर्थिक समृद्धि , विकास,स्थायित्व र शान्तिको लागि विशेष काम गर्न नसकेको सरकारले विभिन्न बाहानबाजी र राजनीतिक संक्रमणको अवस्था देखाएर त्यसबाट उम्कन खोज्ने प्रयास भएको थियो । इतिहासको पट्यार लाग्दो समय नेपालले राजनीतिक भाँडभैलो र राजनीतिक रुपान्तरणकै लागि खर्चेको छ । अहिले प्रचलित दलहरुमा जनताले सर्वाधिक रुचाइएको दल पनि नेकपा एमाले भएको छ । माओवादीको अहिलेसम्मको प्रतिकृया अनुसार केपी ओलीले निर्वाध रुपमा माओवादी केन्द्रको समर्थन प्राप्त गर्ने देखिएको छ । ऐतिहासिक संविधान जारी पछि भएको निर्वाचनमा ठूलो सिट अन्तरमा पहिलो पार्टी बनेको एमालेबाट ओलीलाई सत्ताको केन्द्र सुम्पिएको छ ।

संघीयताको अनुभव नेपालले यसभन्दा अघि नबटुलेका कारण ओलीको सबैभन्दा ठूलो चुुनौति भनेको संघीयताको सफल प्रयोग हो । साथै संघीयतामा जाँदा नेपाललार्ई आर्थिक रुपमा ठूलो व्ययभार पर्ने सुनिश्चित छ । उत्पादनशील क्षेत्रको अप्रयाप्तताका कारण ओलीलाई त्यसको व्यवस्थापन गर्न कम्ता सकस पर्ने छैन । यसमा ओलीले आफ्नो व्यवस्थापकीय चातुर्यता देखाउनै पर्छ नत्र नेपाल ठूलो दलदलमा फस्नेछ । २०७२ सालमा केपी ओलीका कार्यशैलीले केही लोकप्रियता हासिल गरेपनि नेपालको दीर्घकालिन आर्थिक विकासको लागि त्यस्ता कुराले संकट निम्त्याउने छन् । हुन त ओलीले एकवर्ष पनि नपुग्दै सरकारबाट बाहिरिनु परेको थियो उनको लागि परीक्षण गर्ने समय अझै अपुग थियो । तर पनि उनले सस्तो लोकप्रियता बटुल्ने प्रलोभनमा नेपालको आर्थिक भविष्यमा धक्का लाग्ने खालका वितरणमुखी आर्थिक नीति लिएका थिए ।

यदि त्यस्तै लोकप्रियताको धन्दा मात्रै चलाउन तल्लिन भई उत्पादमूलक क्षेत्रमा लगानी गर्न ओली चुके भने नेपालको अवस्था पनि टाट पल्टिनेछ । नेपालको अवस्था चौपट बन्नेछ साथै ओली असफल प्रधानमन्त्रीका रुपमा चिनिनेछन् साथै उनले कमाएको लोकप्रियता क्षणभरमै पतन हुँनेछ । नेपाल र नेपाली जनताको अवस्था त त्यो भन्दा पनि विकराल बन्नेछ । यस्तो परिस्थितिलाई बुझेर ओली अगाडि बढे भने ओली इतिहासमै सम्झन लायक पात्रको रुपमा अभिलेखित हुनेछन् । उनको विगतका काम गर्ने शैलीमा केही सुधार्नु आवश्यक छ । ओलीका अगाडि चुनौति मात्रै पनि छैनन् उनका अगाडि अथाह सम्भावना र अवसर पनि उत्तिकै छ । संभवत एमाले र माओवादीको पार्टी एकता टुंगोमा पुग्यो भने उनले सत्ता टिकाउनका लागि कसैसँग केही सम्झौता पनि गर्नुपर्ने छैन ।

उनले निर्धक्कका साथ आफूले चाहेको परिवर्तन गराउन पाउने छन् यस्तो अवसर इतिहासका दुर्लभ पात्रलाई मात्र प्राप्त हुनेछ जसको ओली भरपुर प्रयोग गरुन् । देशको नेतृत्व गर्ने जिम्मा उनलाई मिलेको छ । यसपटक उनले काम गरेर देखाए भने उनको जीवनमा लागेका केही धब्बाहरु सहजै मेटिनेछन् नत्र उनको पनि कुनै खास मूल्य रहने छैन । साथै अबका दिनमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने लगभग निश्चित जस्तै भएको छ । प्रतिपक्षीको हैसियतलाई पनि सम्मान गर्दै आवश्यक सल्लाह सुझाब पनि ग्रहण गर्दै अगाडि बढे भने उनको पार्टीलाई आगामी दिनमा पनि जनताले जिम्मेबारी सुम्पनेछन् । उनले गलत दिशामा मुलुकलाई हिडाँउने छैनन् । उनले यो अवसरलाई भरपुर उपयोग गर्नेछन् । नबनिर्वाचित प्रधानमन्त्रीलाइ अनन्त बधाई तथा शुभकामना ।

 


Related posts

Leave a Comment