पोखरामा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक


पोखराको पर्यटन र औद्योगिक क्षेत्रको विकास तथा विस्तारका लागि लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक देखिएका छन् । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङसँग चीनको हाइनान प्रान्तअन्तर्गत आइकाओ नगरपालिकाको चाइना चेम्बर अफ इन्टरनेशनल कमर्शका उपाध्यक्ष चेनहोङ लिङ्ग नेतृत्वको टोलीले आज भेट गरी उक्त इच्छा जाहेर गरेको हो ।

पोखराको भ्रमणमा आउनुभएका चीन आइकाओ शहरका व्यवसायीको ११ सदस्यीय उक्त टोलीले राजनीतिक स्थिरतासँगै नेपालमा लगानीको वातावरण सृजना भएपछि पोखराको पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्ने र यहाँको प्राविधि, शिक्षा, स्वास्थ्यमा सहकार्य गर्न इच्छा देखाएको उपप्रमुख गुरुङले जानकारी दिनुभयो ।

“पोखरा पर्यटनको केन्द्र हो, लगानीका लागि वातावरण निर्माण गर्न महानगर तयार छ”, उहाँले भन्नुभयो, “पोखरा महानगर र हाइकाओसँग भगिनी सम्बन्ध स्थापना भएको छ ।”

पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्न हामी इच्छुक छौँ, त्यसका लागि लगानीको वातावरण चाहन्छौँ भेटका अवसरमा चाइना चेम्बर अफ इन्टरनेशनल कमर्शका उपाध्यक्ष चेनहोङ लिङले भन्नुभयो ।

दुवै शहरका स्थानीय उत्पादन आदान प्रदान गरेर बजारीकरण गर्न सकिनेमा उहाँको जोड थियो । पोखरा र लेखनाथ उद्योग वाणिज्य सङ्घसँग पनि टोलीले लगानीका बारेमा छलफल गर्ने छ ।

पोखरामा पछिल्लो समय चीनका विभिन्न शहरका प्रमुख र व्यवसायीको भ्रमण बढेसँगै उनीहरुले पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्न आकर्षण बढेको छ ।

योजना व्यवस्थित गर्न सफ्टवेयर 

पोखरा महानगरपालिकाले योजना सञ्चालन तथा व्यवस्थापन गर्नका लागि सफ्टवेयर निर्माण गरेको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले आफ्नै एकाउन्ट निर्माण गरी सफ्टवेयरको शुभारम्भ गर्नुभयो ।

सरोकारवालालाई कामप्रति जिम्मेवार बनाउन सफ्टवेयर निर्माण गरिएको बताउँदै उहाँले योजनाका कामलाई पारदर्शी र व्यवस्थित बनाउन उक्त सफ्टवेयर सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

“सफ्टवेयरको निर्माणले योजनाको सामाजिक अडिट गर्न पनि सजिलो हुन्छ,” उहाँले भन्नुभयो, “सुशासनअन्तर्गत नै महानगरपालिकाले योजना सञ्चालन तथा व्यवस्थापन गर्नका लागि सफ्टवेयर निर्माण गरेको हो ।”

प्रमुख जिसीले उपभोक्ता समितिलाई समयमा विकास निर्माणका कार्य सम्पन्न गर्न जिम्मेवार बनाउने उल्लेख गर्दै सफ्टवेयरले योजना महाशाखा र आर्थिक प्रशासन शाखाबीच समन्वय गर्न पनि सहयोग पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

महानगरले निकाल्ने वार्षिक योजना पुस्तिकामा समावेश भएका योजनालाई सफ्टवेयरमा राखिने तयारी भइरहेको योजना महाशाखा प्रमुख शारदा मोहन काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार योजनाको सम्पूर्ण विवरण सफ्टवेयरमा हेर्न सकिनेछ ।

सफ्टवेयरमा योजना सम्पन्न हुनुभन्दा करीब एक तिहाइ समय बाँकी रहँदा उक्त योजनाको सम्पन्न हुुनुपर्ने मितिको जानकारी योजना महाशाखामा सफ्टवेयरले दिएपछि महाखाशाले सम्बन्धित उपभोक्ता समितिलाई जानकारी गराउनेछ ।

पहिलो चरणमा पूर्वाधार विकास कार्यक्रममा समावेश गरिएको योजनालाई सफ्टवेयरमा राखिने र क्रमशः अन्य विषयका कार्यक्रमलाई यसमा समेटिदैं जाने सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिनुभयो ।

महाशाखाले सफ्टवेयरमा राख्दछ र यसको नियमन तथा अनुगमन प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा आर्थिक प्रशासन शाखाले गर्ने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो ।


Related posts

Leave a Comment