माथिल्लो मर्स्याङ्दी-२ को सेयर खरिद बिक्री सम्बन्धि अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय


प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी–दुई जलविद्युत आयोजनाको सेयर खरिद बिक्री सम्बन्धि बिषयमा अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले भारतीय कम्पनी जिएमआरले शेयर स्वामित्व बुटवल पावर कम्पनीको संयोजनमा एक चिनियाँ कम्पनीलाई बिक्री गरेको सन्दर्भमा उपसमिति गठन गरेरै छानबिन गर्ने टुङ्गोमा पुग्ने निर्णय गरेको हो ।

जलविद्युत् आयोजनाको प्रवद्र्धनका लागि अनुमति लिने, आयोजना अगाडि नबढाई शेयर किनबेच गरी प्राकृतिक स्रोतको दुरुपयोग गर्ने प्रवृत्ति मौलाएको भन्दै समितिले यस्ता राष्ट्रिय हित विपरीतका गतिविधिलाई रोक्न कानूनी र नीतिगत सुधारको पाटोलाई अघि बढाउने निष्कर्ष पनि निकालेको छ ।

बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले मस्र्याङदी २ सम्बन्धी यथार्थ विवरण र कम्पनीकाबारेमा बैङ्कलाई प्राप्त तथ्य तथ्याङ्कको विवरण प्रस्तुत गरे ।

लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले मस्र्याङदी २ को शेयर बिक्रीका सन्दर्भमा अघि बढिरहेको प्रक्रियाबारे विस्तृत रुपमा जानकारी गराउदै कानुनी रुपमा नै सेयर खरिद बिक्री भएको बताए ।

बैठकमा समिति सदस्य डाक्टर बाबुराम भट्टराईलले मुलुकको सम्पदाको मुख्य आधार जलस्रोत भए पनि ठूला आयोजना अहिलेसम्म बन्न नसक्नु दुःखद भएको भएको उल्लेख गर्दै रु ६० लाखमा लाइसेन्स अनुमति लिएर १० वर्ष रोकेर तीन अर्बमा बेच्नु दुखद भएको बताए ।

त्यस्तै सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नीति र कानूनमा देखिएका कमजोरीलाई नसुधार्ने हो भने जलविद्युत् विकासको सम्भावना कमजोर रहेको धारणा व्यक्त गरे । सांसद विष्णुप्रसाद पौडेलले आयोजना निर्माण गर्दा कानूनी मात्र नभई राष्ट्रियताका रक्षाको पाटोमा पनि ध्यान दिन आवश्यक रहेको बताए ।

प्रस्तावित शेयर खरीदकर्ताबाट परियोजनाको विकास गर्ने प्रयोजनका लागि विद्युत् उत्पादनतर्फको खरीद गर्न तीन करोड ५३ लाख अमेरिकी डलर बराबरको लगानी र ट्रान्समिसन लाइनतर्फ शेयर खरीद गर्न रु ४५ लाखबराबरको लगानी स्वीकृत गर्ने निर्णय भएको बताईएको छ ।

सो आयोजनामा जिएमआरको ८२ प्रतिशत र नेपाली व्यवसायीको १८ प्रतिशत शेयर स्वामित्व रहेको थियो ।


Related posts

Leave a Comment