कहाँ छ पशुपति क्षेत्र विकास कोष ? शौचालयको दुर्गन्धले मन्दिर पस्नै सकिएन(भिडियोसहित)


दिउँसो २ बजे पशुपतिको दर्शन गर्न पुगेकी एक महिला मन्दिर गेटैमा नाक थुन्दै मन्दिरतर्फ पसिन् । नाक खुम्चाउदैं गेट पस्दै गर्दा अर्की महिलालाई भन्दैथिईन छ्या कस्तो दुर्गन्ध । यो मन्दिर हो कि वधशाला । आमालाई पशुपतिको दर्शन गराउन आएकी रामेछापकी सिर्जना कार्कीलाई गेटै छेऊको शौचालयको गन्धले मन्दिरकै मोहभंग गरिदियो । उत्साहले पवित्र उद्देश्य बोकेर मन्दिर पसेकी सिर्जना आक्रोशित हुँदै भन्दै थिइन् यो त देशकै बेइज्यत भयो । सँगै उनको प्रश्न थियो देश विदेशबाट दैनिक आउने पर्यटक के भन्दा हुन ? यसले गर्दा उनीहरू फेरि फर्केर आउने सम्भावना निकै कम हुन्छ, र टिकाइराख्न पनि गाह्रो हुन्छ ।’

मलामी आएका काभ्रेका महेन्द्र सिहँको गुनासो पनि उस्तै थियो । समस्यै समस्याका चाङभित्रको पशुपति क्षेत्र, शौचालयको झनै दुर्दशा । पवित्र मन्दिर नाक थुनेर हिँड्नुपर्ने । फर्किदा बान्ता हुन्छ । यहाँको फोहर र दुर्गन्धले मानिस बिरामी हुने डर उनको दुखेसो थियो । वार्षिक करोडौँको कारोबार हुने पशुपति क्षेत्रभित्रको शौचालयको यो अवस्थाले कोष व्यवस्थापनलाई भने गिज्याई रहेको थियो ।
त्यसो त दैनिक हजारौँ भक्तजन पुग्ने मन्दिर गेटैको शौचालय । त्यसमाथि शौचालय प्रयोग गर्ने हरेकबाट ५ देखी १० रुपैयाँ असुल्छन् । तर शौचालय भित्र जमेको फोहोर वर्षोदेखी नउठ्दा जो कोही बान्ता गरेर निस्कन्छन् । ‘छि:, पैसा लिएर भए पनि कम्तीमा सफा त राख्नु नि,’ सलले नाक छोपेर बर्बराउँदै निस्किएकी एक महिलाले भनिन् ।  वृद्धाश्रमको ढोकासँगै रहेको महिला र पुरूषका दुइटा शौचालय निकै परबाटै गन्हाउँछन् । उक्त शौचालयमा न पानीको व्यवस्था छ न त ढोका नै बन्द हुन्छ ।

यो पनिः पशुपतिमा वार्षिक १३ करोड भेटी

नेपाली मात्रै होइन नेपाल आउने पर्यटकको सबैभन्दा पहिलो रोजाई हुने गरेको पशुपति क्षेत्र व्यवस्थापनमा समस्या हुँदा विदेशीमा समेत यसको नराम्रो प्रभाव परेको छ । सामान्य दिनमा १०/१५ हजार व्यक्तिले पशुपति दर्शन गर्छन् । विशेष अवसर र पर्वमा दर्शनार्थीको संख्या ३ लाखसम्म पुग्छ । नेपाली दर्शनार्थी सँगसँगै सबैभन्दा बढी भारतीय पर्यटक र अमेरिका, युरोप, जर्मनी र अन्य मुलुकका पर्यटक पनि विश्व सम्पदा सूचीमा पर्ने पशुपतिनाथ मन्दिर पुग्ने गर्छन् ।

दुर्गन्धित शौचालय त मन्दिर परिसरको प्रतिनिधि घटना मात्रै हो । अव्यवस्थित पार्किङ, टहरा पसल र बाटो छेकेर बस्ने पसलेका कारण दैनिक मन्दिर पुग्ने भक्तजन कुनै कुनै सास्ती भोगेरै फर्कन्छन् । पशुपति वाग्मती पारी पनि उत्तिकै फोहोर हुन्छ, सडकमै गोबर हुन्छ । कतै बस्न चाहे भने पर्यटकका लागि ओत लाग्ने ठाउँसमेत छैन ।

यो पनिः स्वच्छ वातावरण छैन पशुपति वृद्धाश्रममा

पशुपति क्षेत्र विकास कोषको यो उदासिनताबारे उपनिर्देशकको भने ओठे जवाफ छ । कोषका उपनिर्देशक प्रेम हरी उपाध्याय भन्छन् ः हामीलाई यो हेर्ने फुर्सदै छैन । उनको प्रतिप्रश्न थियो कोषले गर्नुपर्ने काम अरू धेरै छन् कहाँ शौचालय हेरेर साध्य हुन्छ र ? त्यसो त पशुपति क्षेत्र विकास कोषको यस्तै निरिहता र लाचारीका कारण लासमाथि समेत बार्गेनिङ हुने समाचार बाहिरिने गर्दछन् ।

यो पनिः पशुपति क्षेत्र विकास कोषको करोडौँ आम्दानीको स्रोत गुम्दै (भिडियोसहित)

सरकारले पशुपति क्षेत्र विकासमा देखिएका समस्या अन्त्य गर्न र यसको सुधारका लागी भन्दै विभिन्न तत्कालीन र दीर्घकालीन सुधारको योजना समेत अघि नबढाएको होइन । तर देख्दा सामान्य लाग्ने तर आमचासोका यस्ता विषयमा गम्भीर नहुँदा पशुपति क्षेत्र सुधारमा समेत थप चुनौती पैदा हुँदै गएका छन् ।


Related posts

Leave a Comment