चितवनको भरतपुरमा मिनी म्याराथन प्रतियोगिता हुँदै


प्रनिश थापा, चितवन ।

लायन्स क्लब अफ वागेश्वरीले ‘मधूमेह सचेतनाका लागि दौड’ भन्ने नाराका साथ चितवनमा नैै पहिलोपटक मिनी म्याराथन प्रतियोगिता गर्न लागेको छ । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक क्लबले लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मोत्सव पारेर पौष २८ गते प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रमका संयोजक हरिशरण श्रेष्ठले जानकारी दिए । भरतपुरको गेष्ट हाउस चौरबाट सुरु हुने दौड हाकिमचोक, पारसनगर, चोकबजार, प्रेमबस्ती, नारायणपुर हुँदै गेष्ट हाउस चौरमा आइ समापन हुने समेत संयोजक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौं स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः ४० हजार, २५ हजार, १५ हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

निर्धारित दूरी २१ किलो मिटर सफलतापूर्वक पार गर्ने हरेक प्रतियोगी लाई एक हजार रुपैयाँ दिइने आयोजकको भनाइ छ । प्रतियोगितामा १८ वर्षमाथिका महिला र पुरुषले भाग लिन सक्ने छन् । कार्यक्रममा राष्ट्रियस्तरका धावकहरु को सहभागिता रहने लायन्स क्लब अफ वागेश्वरीका अध्यक्ष जिवराज अधिकारीले जानकारी दिए । प्रतियोगीतामा ३०० जनाभन्दा बढी धावकले सहभागिता जनाउने अध्यक्ष अधिकारीले बताए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा महिला धावकहरुको सहभागिता रहने छ । मिनी म्याराथनमा भाग लिने प्रतियोगीहरुलाई जनही एक लाख रुपैयाँको बिमाको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न पाँच लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।


Related posts

Leave a Comment