ओलीजी घोडा चढ्नुभयो तर हाँक्न सक्नुभएन यसले जनतालाई निराश बनायो: पशुपति शमशेर(भिडियोसहित)


हामीले एउटा सुत्र बनाएका छौ राजतन्त्रवादी  र गणतन्त्रको बिचबाट जाने । यहि नै तीन राप्रपबिचको मिलनबिन्दु हो ।

लामो समयदेखि छलफलमा रहेका तीन वटा राप्रपाबीचको एकता तत्कालका लागि टरेको छ । एकता घोषणा गर्ने मिति समेत तय गरिसकेपछिको अवस्थामा उनीहरूको एकता भाँडिएको हो । कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)बीच एकताको तयारी र छलफल चलेको थियो । थापा र जबरा नेतृत्वका दुई राप्रपाबीचको एकता घोषणाको तयारी भइरहँदा अन्तिम समयमा आएर रोकियो । एकता प्रक्रिया अवरुद्ध भएपछि दुवै नेताहरू एक अर्कालाई आरोप प्रत्यारोपमा उत्रिएका छन् । पार्टी एकतालाई अन्तिम रूप दिन नसक्नुमा नेताहरूले एक अर्कालाई दोष लगाइरहेका छन् । यसै सन्ध्रभमा र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा राप्रपा(प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर जबरासँग टिभी अन्नपूर्णकर्मी विनोद देवकोटाले कुराकानी गरेका छन् ।

राप्रपा एकताको सम्भावना तत्कालका लागि टरेका हो ?

-राष्ट्रिय प्रजातन्त्र पार्टीको दृष्टिकोणमा तीन वटा पार्टी मिल्नुपर्ने अहिलेको आवश्यकता हो । मिल्ने कुरामा हामी अझै सकारात्मक छौँ र खुल्ला छौँ । हाम्रो तर्फबाट कुनै अवरोध छैन । अहिले नै एकताको सम्भावना टरेको भन्न मिल्दैन ।
पार्टी एकता घोषणा नै गर्ने तयारी थियो । त्यसो भए के कारणले रोकियो त ?
पार्टी एकताको लागि केही कुराहरू मिलेका थिएनन् । जस्तो हामीले हलो नै पार्टीको चुनाव चिन्ह हुनुपर्छ भन्ने कुरा राख्यौँ । निर्वाचन समिति पनि कत्रो बनाउने भन्ने कुरा बाँकी थियो । यी कुराहरू बाँकी हुँदाहुँदै केही समय लिएर सबै कुरा मिलाएर मात्र अगाडी बढौँ भन्ने हाम्रो कुरा थियो । यसमा केही मतभेद कायम भएकाले तत्काल घोषणा गरिहाल्ने भन्दा पनि छलफल गरेर टुंग्याउने कसरत भईरहेको अवस्था हो ।

त्यो भए पार्टी एकता घोषणा गर्ने भनेर कमल थापा जीले एक्लै घोषणा गर्नु भएको थियो ?
-पार्टी मिल्ने भन्ने कुरा चाहिँ बाहिर कसले केके भन्यो । त्यो भन्दा पनि केही समय लिएर अघि बढौं भन्ने कुरा कमल जी र मेरो बिचमा भएको हो । हल्लाका पछि नलागौं, किनकी सबैभन्दा पहिले घटस्थापना मै मिल्ने भयो भनियो । घटस्थापनामा त केही कुरै थिएन । अनि त्यसपछि फेरी तिहार अगाडी भन्ने कुरा आयो । अहिले फेरी २६ गतेको कुरा चल्यो । वास्तवमा पछिल्लो समयमा हाम्रो भेटघाट हुँदा भएको कुरामा कमलजीको तर्फ बाट पनि र मेरो तर्फ बाट केही समय मात्र लिएर अघि बढौँ भन्ने थियो ।

पार्टी एकता त्यही चुनाव चिन्हकै कारण रोकिएको हो त ? वा नेतृत्व व्यवस्थापनमा कुरा नमिलेर रोकियो ?
-होइन, नेतृत्व व्यवस्थापनमा समस्या थिएन । अहिलेको अवस्थामा त्यो गलत छ । नेतृत्व कसरी कसले गर्ने कुरा ठेगान लागिसकेको छ । सिद्धान्तको विषय पनि खासै समस्या थिएन । त्यसको पनि उपाय पनि निस्किसक्या थियो । हाम्रो साथीहरू र हामीले चित्त बुझाउने उचित कुरा थियो । त्यसमा किन त्यस्तो व्यवधान सम्झिन जानुभयो कमल थापा ज्युले मैले केही बुझ्न सकेको छैन । अहिले समस्या कमल थापाजी कै कारण यस्तो अवस्था किन ल्याउनुभयो उहाँले मलाई अचम्म लागीरहेको छ ।

सिद्धान्तको कुरामा समस्या थिएन भन्नु भयो । कमल थापा जी कट्टर राजावादी, तपाईँले गणतन्त्र र सङ्घीयता स्विकारेको । कुरा कसरी मिल्यो ?
-के कुरामा सिद्धान्त मिल्यो को राजावादी को गणतन्त्रपवादी यो कुरा चाहिँ अहिले नसोध्नुस् । तर हामीबिचमा एउटा सूत्र चाहिँ निस्क्या हो । सोही सुत्रका आधारमा हामी एक भएर अघि जान तयार थियौं बाँकी कुरा अहिले नबोलौं ।

कस्तो सूत्र हो ?
-अहिले केही बताउन चाहन्न ।

कमल थापा जी अहिलेको परिवर्तनलाई मान्न तयार हुनुभयो अथवा तपाईँले स्विकारेको गणतन्त्र र सङ्घीयताबाट पछि हट्नु भयो ?
-यी दुवै कुरा भएको होइन । एउटा सूत्र निस्केको छ । जुन अहिले बताउन मिल्दैन ।

गणतन्त्र र सङ्घीयता पक्षधरबाट बाट तपाईँ पछि हट्नु भएको छैन भन्ने बुझ्दा हुन्छ ?
-होइन, तपाइले जे बुझ्नुहुन्छ बुझ्नुस् । यो भन्दा अघि म बताउन सक्दिन ।

तपाईँ अहिलेको परिवर्तन स्विकारेर थापा जी सँग अलग हुनु भएको । थापा जी अहिलेको परिवर्तन स्वीकार गर्न नसक्ने । तपाईँ पछि हट्नु भएको कि थापा जी पछि हट्नु भयो । यस्तो अवस्थामा तपाइलाई जनताले पनि नपत्याउने र राजाले पनि नपत्याउने अवस्था आउँदैन ?
-हामीले पनि संविधानलाई आलोचनात्मक नै समर्थन गरेका हौ । हामी धर्मको मामलामा धर्म निरपेक्षता विरोधमा छौ । हामीले संविधानमा संशोधनको प्रस्ताव पनि हाल्यौँ । तर हाम्रा १० जना मात्र संसद् थिए । त्यसकारणले हाम्रो प्रस्ताव पारित हुने कुरा त भएन । तर संशोधन प्रस्ताव दर्ता गरेर हामीले हाम्रो असहमति दर्ता गराएको हो ।

धर्मको विषयमा त तपाईँ सुरु देखि नै त्यो अडानमा हुनुहुन्छ । गणतन्त्र र सङ्घीयताको विषयमा तपाइको धारणा के हो ?
-संविधान सभाको पहिलो चुनाव भयो । त्यसमा लगभग ९८ प्रतिशत जनताले गणतन्त्रकै पक्षमा भोट दिएपछि हामीले पनि स्वीकार र्गयौँ । सङ्घीयता पनि हामीले स्विकारेको हो । अहिले पनि स्विकारेको छौ ।

त्यसो हो भने कमल थापा जी संवैधानिक राजतन्त्रको कुरा गर्ने अनि तपाईँ स्विकारेको र अहिले पनि छ भन्नुहुन्छ । एकताको मिलन बिन्दु कहाँ निर हो ?
-एकता भयो भने थाहा हुन्छ । अहिले बताउँन चाहन्न ।

चुनावको बेला तपाइहरू जुट्नुको सट्टा फुट्नु भयो । अहिले फेरि एकताको कुरा बेमौसमी बाजा भनेझै भएन र भन्या ?

-हो, त्यही कुरा तपाईहरुले पनि बुझ्नुपर्ने छ । अहिलेको जरुरत के छ भने कुरा हो । विगतमा हामी धेरै पटक मिलेर फुटी सकेको छौ । अब मिल्दा केही कुराहरू अधुरो राखेर मिल्यो भने फेरी फुट्ने सम्भावना एकदम प्रवल हुन्छ । त्यही भएर सबै कुरा मिलाएर मिल्नु पर्छ भन्ने हाम्रो भनाई हो । यसका लागी अहिले हतार गर्नुभन्दा हामीबीचमा सबैखाले मतभेद अन्त्य गर्ने प्रयत्न हाम्रो हो ।

यस अघिका एकता तयारी बिनै हचुवाका भरमा भएका थिए त ?
-पहिले निर्देशन समिति बनाउने निर्णय भयो । तर पछि बन्दै बनेन । त्यो नबनेपछि पार्टीको जुन किसिमले काम चल्नु पर्ने थियो । सहमति जुट्नु पर्ने थियो त्यो भएन । सबै कुरा मिलाउने त्यो निर्देशन समिति थियो जुन बन्दै बनेन । यहि कारण हचुवाको भरमा त नभनौं तर अलि बढि तयारी हुनुपर्ने थियो भन्ने पक्का हो ।
यस अघिका तपाईहरूका जुट वा फुट सत्तारोहणकै कारण भएको देखिन्छ । यति बेला त त्यो अवस्था पनि छैन मिल्ने कुरा कसरी आएछ ?
-मुख्य कुरा चुनावको परिणाम हो । चुनावमा राप्रपा निक्कैे खुम्चियो । त्यो भएपछि एउटा राजनीतिक अस्तित्व दरो बनाउनु पर्ने खाँचो छ । दोस्रो कुरा कार्यकर्ताहरूको पनि माग हो । र कार्यकर्ताको भनाई पनि यो छ कि मिल्ने बेला सबै कुरा मिलाएर मात्र मिल्नुहोस । फेरी त्यो झमेलाहरू राखेर भोलिमा समस्या आउछन । त्यस कारण विगतबाट पाठ सिकेर मात्रै मिल्नु पर्छ भन्ने हो ।

मिल्ने बेला जहिले पनि कार्यकर्ताको माग भन्नुहुन्छ । फुट्ने बेला नेता र नेतृत्वका कारण फुट्नुहुन्छ ?
-मैले भने नि त निर्देशन समिति बनाउने त्यसबाट सबै कुरा ठेगान गर्ने भन्ने अनि त्यहाँ बाट निर्देशन समिति नै नबनाउने भएपछि के त्यो नेतृत्वको कारण हो ?
त्यो भन्ने हो भने त सबै कुरा नेतृत्वले गर्ने हो नि । तर त्यस्ता त्यो त संस्थागत व्यवस्था हो । त्यो संस्थागत व्यवस्थापन भएन ।

तीन वटा राप्रपा एक हुँदा कसलाई के फाइदा हुन्छ ?
-पार्टीलाई त बलियो बनाउँछ नै । एउटा महत्पूर्ण शक्ति बनेर आउन सक्ने अवस्था आउँछ । अहिले नेपाली राजनीतिमा तीन खालको सोच छ । जस्तो कम्युनिस्टको साम्यवादी सोच, काँग्रेसको समाजवाद र मधेसवादी पार्टीहरूको मधेसवाद । तर एउटा सिङ्गै मुलुकलाई हाँक्ने उदारवाद खाली छ । त्यो उदारवादी सोचलाई सशक्त रूपमा अघि बढाउन हामी चाहन्छौँ । तीन पार्टी मात्रै होइन उदारवादी सोच भएका जो जो हुनुहुन्छ सबैलाई समेटेर अघि बढ्नुपर्छ भन्ने हाम्रो धारणा हो ।
त्यो उदारवादी सोच त विगतका निर्वाचनमा प्रयोग गर्नु भयो र जनताले अस्वीकार गरेका होइनन् र ?
-त्यसलाई जनताले अस्वीकार गरेको भन्न मिल्दैन । यो त उउटा आइडियोलोजी हो ।
यो उदारवादी सोचसँग जोडिएका अन्य मुद्दा त जनताले अस्वीकार गरेकै हो नि ?
-कुन मुद्दा स्वीकार गरेनन् जनताले ?

राजतन्त्र, धर्म सापेक्षता, एकात्कम राज्य प्रणाली ?
होइन, यो उदारवाद त्यतिमा मात्रै सीमित छैन । उदारवादको मुख्य आधार भन्या व्यक्तिको स्वतन्त्रता हो । त्यसलाई कसरी महत्व दिने भन्ने हो । व्यक्तिले आफ्नो स्वतन्त्रता अधिकतम रूपमा प्रयोग गर्न पाउनु पर्छ भन्ने हो ।

त्यो स्वतन्त्रता अहिले छैन त ?
-त्यो छैन भन्नु भन्दा पनि त्यो कुरालाई बोकेर अघि बढ्ने मान्छे अहिले छैन भन्ने हो । साम्यवाद,समाजवाद र मधेसवादले पनि त्यसलाई बोक्दैन । व्यक्तिको स्वतन्त्रता मात्रै होइन । अर्थतन्त्रको कुरा गरौँ । बजार मुखी उदार अर्थतन्त्र । त्यो कुरालाई पनि यसले बोक्छ ।

जनताले राप्रपा भन्ने बित्तिकै के बुझ्छन् भने राजतन्त्र, एकात्मक राज्य प्रणाली र धर्म सापेक्षता ?
-धर्म सापेक्षता त हुँदै हो नि । त्यो पनि भन्या छौँ हामीले । त्यसको साथसाथै यो पार्टी सुरु भएको बेला देखि तीन वटा सोच लिएर अघि बढेको हो । राष्ट्रियता, प्रजातन्त्र र उदारवाद ।

त्यसो भए तपाइहरूले जनतालाई बुझाउन सक्नु भएन अथवा जनताले बुझेनन् जसको कारण तपाइहरू खुम्चिएर अहिलेको अवस्थामा आउनुपर्यो होईन ?
-त्यो पनि हो । हामी तीन समूह हुँदा पनि यस्तो अवस्था आएको हो ।

तीन पार्टी एक हुने बित्तिकै त्यो विरासत फिर्ता हुने र अहिलेको परिवर्तन उल्टिने सम्भावना देख्नुहुन्छ ?

-हो, त्यो देखेरै एक हुने प्रयास भएको हो । तीन पाटी मात्रै होइन यो विचार बोक्ने व्यक्ति र समूहलाई पनि समेट्दै छौँ ।

तीनै पार्टी एक भएपछि राजसंस्था र धर्म सापेक्षतालाई कसरी अगाडि लैजानुहुन्छ ?
-हिन्दु धर्मलाई राज्यको धर्म बनाउनु पर्छ भन्ने अभियान अघि सार्छौ । अरू विषयमा त मैले अघि नै भने त्यसमा एउटा फर्मुला निस्केको छ । त्यो पछि थाहाहुन्छ ।

धर्मको कुरा गर्दा त्यो व्यक्तिको स्वतन्त्रता कि राज्यको ?
-धर्म भन्या के हो ? जस्तै पाकिस्ततान भो, अरब राष्ट्र भो । यी इस्लामिक देशहरू छन् । जर्मनीमा हेर्नु भो भने क्रिस्चियन डेमोक्रयाटिक पार्टी छ । राज्यले धर्म लिनुहुन्न भन्ने त होइन नि । हाम्रो परिचय नेपाल हिन्दु राष्ट्र हो भनेर विश्वभर चिनिएको थियो । अझै तीन वटा चिज भनौँ न नेपालीलाई चिनाउने । सगरमाथा, गोरखाली र हिन्दु धर्म । यी कुरा हाम्रा परिचय हुन् । जब त्यो कुरा मेट्ने प्रयास भयो हामीले त्यसको विरोध गरेका हौँ ।

पछिल्लो जनमत अनुसार कम्युनिस्टहरूलाई देश बनाउने जिम्मा दिएको जस्तो देखियो । यसलाई कसरी हेर्नु भएको छ ?
-हो, अहिलेको लागि जनताले ठुलो बहुमत साम्यवादीलाई दिए । तर त्यो सधैँका लागि भन्ने त होइन नि ?

यो बहुमत उल्टिने सम्भावना देख्नुहुन्छ त्यसो भए ?
-हो नि, मानिसहरूले चेष्टा गर्नु पर्छ । कोशिस गर्नु पर्छ नहुने के छ र । आफ्नो विश्वासलाई अघि सार्नु पर्छ । राजनीति भनेकै आफूले बोकेको बिचारलाई विजय गर्ने न हो ।

तपाईहरूले बोकेको बिचारको त धेरै पटक प्रयोग नै गरी सक्नु भयो नि त ? त्यो बिचार अनुमोदन हुने अथवा विजय हुने त देखिएन ?
-मलाई लाग्छ त्यसको मुख्य कारण हामी फुट्नु हो । त्यस कारण हामी अहिले जुट्नु पर्छ भनेर लागि रहेका छौँ ।

जुटेपछि फेरि फुट्नु होला नि त ?
-होइन, मैले पटक पटक भनेको छु । अब जुटेपछि नफुट्ने गरी जुट्ने हो ।

अहिलेको दुई तिहाइको सरकाका कामलाई चाहिँ कसरी हेर्नु भएको छ ?
-२०४७ सालपछिकै शक्तिशाली दुई तिहाइको सरकार छ । सरकार बनेको नौ महिनामा पनि यो सरकारको अस्तित्व नै बोध नहुने हो भने किन भन्ने प्रश्न आएन र ?

किन भएको होला त यस्तो ?
-हाँक्ने क्षमता भएन । हरेक कुरा हेर्नु भो भने लथालिङ्ग छ । निर्मला हत्याकाण्ड । सय दिन बढी भौ खै हत्यारा पत्ता लगाएको । सुन काण्ड हुर्नुस कता हरायो । महँगी हेर्नुस् आकाश छोएको छ । क्षमता भएको मान्छेले किन सही दिशा दिन सकेन भन्ने रहस्यकै कुरो छ ।

समस्या कहाँनिर होला त ?
-मैले भने नि । घोडा चाहिँ चढ्नु भो केपी जीले तर घोडा हाँक्न सक्नु भएन । म एउटा दृष्टान्त भनौँ । झन्डै दुई दशक अघिको कुरा हो । म जलश्रोत मन्त्री भएको थिए । त्यो बेला मैले महाकाली सन्धि पनि गरे । विभिन्न योजनाहरू अघि सारे । मैले पाएको त्यो बेलाका कर्मचारी बहुत दक्ष थिए । कर्मचारी निक्कै क्षमतावान छन तर ओलीको हाँक्ने क्षमता नभएरै हो ।

अब तपाईँको राजनीतिक उमेर पनि ढल्किँदै गएको छ । यो बेला त युवा पुस्तालाई अवसर दिनुको साटो आफै नेतृत्व हत्याउन लागि पर्नुहुन्छ ?
-मलेसियामा ९३ वर्षको मान्छे प्रधानमन्त्री भएको इतिहास छ । भारतमा करिब दुई दशक अघि ८२ वर्षको मान्छे प्रधानमन्त्री भयो । कोले के सक्छ त्यो हेरेर गर्ने हो ।

त्यस्तो अवस्था देख्नुहुन्छ र ? अबको पाँच वर्ष त तपाइहरू सत्ताको नजिकै जाने स्थिति छैन ।
-सत्तामा मात्रै पुग्नु पर्छ भन्ने छ र ?

प्रधानमन्त्रीको उदारहण दिनु भयो नि त ?
-प्रधानमन्त्री हुने सम्भावना त अहिले तुरुन्तै नहोला । तर प्रधानमन्त्री हुनु मात्रै सबै काम होइन । राजनीतिमा बसेपछि एउटा आदर्श र विश्वासलाई अघि सार्ने हो । नेपाली जनताको सेवा गर्ने हो । प्रधानमन्त्री भएको जस्तो राम्रो काम त कहाँ गर्न सकिएला र तर यो उदारवादलाई अघि सार्नु पर्छ भन्ने मलाई लाग्छ ।

केही वर्ष अझै नेपाली राजनीतिमा सक्रिय हुने देखियो तपाईँ । यो अवधिमा के चाहिँ गर्छु भन्ने लागेको छ ?
-सबभन्दा पहिला त यो उदारवाद जुन अहिले छाँयामा परेको छ त्यसलाई उज्यालोमा ल्याउँछु । दोस्रो कुरा समय हेर्दै जाऊ बेला हेर्दै जाऊ के के गर्न सकिन्छ गरौँला । राजनीति भन्या सम्भावनाको खे न हो । यही नै गर्छु भनेर अहिले भन्न सकिँदैन ।

यत्रो वर्ष नेपाली राजनीतिमा बिताउनु भयो । फर्केर हेर्दा नेपाली समाजलाई के दिए जस्तो लाग्छ ?
-मैले विभिन्न काम गरे । पहिलो, मेरो भागमा परेका जति पनि मन्त्रालय थिए । तीनलाई सफलतापूर्वक सम्हाले । दोस्रो मुलुकमा एउटा जटिल अवस्था आएको थियो पहिलो जनआन्दोलन २०४६ सालमा । त्यस बेला आन्दोलनकारीसँग वार्ता गरे । मलाई लाग्छ त्यो महत्त्वपूर्ण योगदान थियो । अर्को महाकाली सन्धि । त्यो पनि महत्त्वपूर्ण कुरा हो । दुर्भाग्य भन्नुपर्छ मैले छोडेपछि त्यसमा कसैले ध्यान दिएन ।

तत्कालीन अवस्थामा राजाकै शासनको बेला राजनीति सुरु गर्नु भयो । विभिन्न मन्त्रालयमा रहेर जिम्मेवारी सम्हाल्नु भयो । तर अहिले त्यो अवस्था रहेन । पूर्व राजा ज्ञानेन्द्रसँग तपाईँको सम्बन्ध कस्तो छ ?
-त्यो परिवारसँग मैले धेरै वर्ष काम गरे । वहाहरुसँग मेरो आस्था पनि छ । सम्बन्ध पनि छ । कहिलेकाहीँ भेट्छु ।

पछिल्लो अवस्थामा कुनै न कुनै रूपमा राजसंस्था आउन सक्ने सम्भावना छ कि छैन ? के देख्नुहुन्छ ?
-हाँस्दै, यो कुरा तुरुन्तै केलाउन सक्ने अवस्था छैन ।

तपाइको धारणा त होला नि । राजपरिवारको योगदान ठुलो छ यो मूलकमा । वहाँलाई पनि कुनै रूपमा अभिभावकको भूमिका दिनु पर्छ भन्ने लाग्दैन ?

-मैले भनी हाले नि । म वहाँसँग सम्बन्ध भएको मान्छे हुँ । मेरो आस्था पनि छ ।

नेपाली राजनीतिमा अभिभावकको खाँचो छ भन्ने रूपमा पनि राजाको कुरा उठ्छ । त्यो सम्भावना पनि तपाईँ देख्नुहुन्न ?
-यो प्रश्नको जवाफको लागि हामीले केही समय कुर्नु पर्छ ।

कति कुर्नु पर्ला ?
-अहिले कुर्ने बेला छ ।

तपाईँको नजिकको सम्बन्ध छ । आस्था पनि छ भेटघाट पनि हुन्छ । केही न केही तयारी कुराकानी त होला नि ? आज बताइदिनुस् न ?
-कहाँ कहिले को सँग के कुरा र्गयो त्यो सबै बताइदिने हो भने अरू मान्छेले म सँग कुरै गर्दैन नि । त्यस्तो केही छैन । अहिले कुर्ने बेला नै हो । हेर्दै जाऊ ।

अन्तिममा, यत्रो वर्षको राजनीतिमा सक्रिय रहनु भयो । अझै केही समय रहनु पनि हुन्छ होला । यो अवधिमा यस्तो गर्ने मन थियो गर्न सकिएन भन्ने केही छ कि छैन ?
-त्यो चाहिँ छ । कुनै बेला मैले यो मुलुकको मुख्य जिम्मेवारी सम्हाल्न पाएको भए मैले मुलुक बनाउँथे भन्ने लाग्या थियो । तर अहिलेसम्म त्यो मौका मैले प्राप्त गर्न सकिन ।

अब त्यो मौका आउला भन्ने आसा बाकी छ कि छैन ?
-त्यो पनि भविष्यकै गर्भमा छ ।

मनोकामना त होला नि ?
-हाहाहा, मनोकामना त किन नहोला र ?

प्रधानमन्त्री हुने चाहना अझै छ ?
-प्रधानमन्त्री भन्दा पनि मुलुक बनाउने चाहना छ ।

मुलुक बनाउन त फेरि त्यही पद चाहिएला नि त ?
-अखडा त चाहियो नि । अखडा नभईकन कसरी गोली हान्ने त्यो कुरा चाहिँ हो ।


Related posts

Leave a Comment