बजेटबारे ज्येष्ठ नागरिकको आक्रोसः ‘आफ्नै भुँडी भर्छन्, दुनियाँलाई नाटक मात्रै’(भिडियोसहित)


 विनोद देवकोटा/टिभी अन्नपूर्ण, काठमाडौं ।

             ज्येष्ठ नागरिकको टिप्पणी, ‘ओलीभन्दा देउवा नै ठिक’

सरकारले मङ्गलवार आगामी आर्थिक वर्ष २०७५/२०७६ को लागि बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्मा अर्थमन्त्री डा.युवराज खतिवडाले १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत गरेका हुन् । बजेट प्रस्तुत भएसँगै बजेटबारे विभिन्न धारणा सार्वजनिक भइरहेका छन् । विभिन्न अर्थ्विदहरुले पनि आ आफ्ना फरक फरक धारण सार्वजनिक गरेका छन् । पहिलेको भन्दा केही ठुलो आकारमा आएको बजेटलाई कतिपयले सकारात्मक रूपमा लिएका छन् भने कतिपयले कार्यान्वयनमा चुनौती रहेको बताएका छन् ।
बजेटमा कर्मचारीको तलब भत्ता र सामाजिक सुरक्षा भत्ता वृद्धिबारे चाँसोका साथ हेरेका भए पनि उनीहरूको चाँसो निराशामा परिणत भएको छ । कर्मचारीका लागि भने सामान्य पोसाक भत्ता भने १ हजारबाट बढाएर दोब्बर गरिएको छ ।
तर बृदद बृद्दाले पाएँदै आएका सामाजिक सुरक्षा भत्तामा भने कुनै हेरफेर भएन । विशेष गरी तत्कालीन नेकपा एमालेले वर्षौँदेखि गाउँदै आएको वृद्ध भत्ताको गीत भने चुनावको गीतमात्रै भएको छ । गत स्थानीय तहको चुनाव देखि प्रदेश र सङ्घीय निर्वाचनमा अहिलेका नेकपाले घोषणापत्रमै वृद्ध भत्ता वृद्धि गर्ने आश्वासन बाँडेका थिए । कतिपय उम्मेद्वारले त आफूले जिते सामाजिक सुरक्षा भत्ता बढाएर ५ हजारसम्म र्पुयाउने प्रतिबद्धता समेत जनाएका थिए । तर सरकारको बजेट प्रस्तुत भएपछि भने ती सबै कुरा चुनावी नारामैसिमित भएका छन् ।
विशेष गरी तत्कालीन नेकपा एमालेलाई कतिपय साठी कटेका आमा बुवाले आफ्नो बुढेसकालको सहारा पार्टी भन्दै चुनावमा भोट दिएका थिए । तर अहिले उनीहरू भने निराश भएका छन् । सामाजिक सुरक्षा भत्ता वृद्धि नगरेपछि जेष्ठ नागरिकले सरकारसँग आक्रोसित भएका छन् । उनीहरूले विभिन्न माध्यमबाट सरकार प्रति आक्रोस पाखेका छन् । कतिपय ज्येष्ठ नागरिकले ओली भन्दा देउवा ठिक भएको समेत बताएका छन् ।
यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छोड्नै लाग्दा जेष्ठ नागरिकको वृद्धभत्ता बढाएका थिए । तर, ओली नेतृत्वको सरकारले त्यसलाई खारेज गरेको थियो ।

८३ वर्षीया कृष्ण बहादुर कार्कीलाई सरकारले बजेट सार्वजनिक गरेको बारे नै थाहा रहेनछ । उनले सरकारले दिएको भत्ताले चिया खान पनि नपुग्ने बताए । उनले, ‘भने बस्या छन् खाएका छन् । विश्वभरिबाट सहयोग भन्या छन् । देश बेचेर खाइसके यिनीहरूले, त्यति गर्दा नि उनीहरूलाई पुग्दैन हामीलाई के दिन्थे ? भित्र सबै मिल्छन् खान्छन्, आफ्नै पेट भर्छन् । बाहिर दुनियाँलाई नाटक मात्र देखाउने हुन् । सीङ्गापुर बनाउने रे, स्वीजरल्याण्ड बनाउने रे बनाउँछन् खुब’ ।


७३ वर्षीय सीताराम अर्यालले अहिलेको सरकारले हामी जस्ता नागरिकलाई नहेरेको गुनासो गरे । उनले भने, ‘यो सरकारको काम छैन, देउवाले(शेर बहादुर देउवा) ६५ वर्षमा भत्ता पाउने बनाएको थियो यो सरकारले काट्यो’ ।


८१ वर्षीय भिममाया पनि चुनावका बेला ५ हजार बनाउँछु भनेर अहिले चुनाव जितेर वास्ता नगरेको बताउँछिन् । उनले भनिन्’ ‘बढाए त हुन्थ्यो बढाउँदैनन् । दुख लाग्यो नि, केही हुन्छ कि भन्ने थियो तर भएन’ ।
७७ वर्षीय चेतन नाथको गुनासो पनि उस्तै छ । उनले भने, ‘चुनावको बेला हामीलाई बेस्सरी नै फकायो, अहिले केही छैन । गाविसको चुनावमा २ हजारको डबल गर्छु भने पछि जिल्लाको चुनावमा त पाँचै हजार बनाउँछु भने अहिले एकै हजार बढाएनन्’ ।


काठमाडौँको बालाजु सडकमा पानी बेचेर गुजारा चलाउने जालाकी रिना परियार पनि जति सरकार आएपनि आफ्ना लागि कसैले केही नगरेको बताइन् । जो सरकारमा गए पनि आफू मात्रै बन्ने र आफ्ना छोरा छोरीलाई मात्रै बनाउने गरेको उनले बताइन् ।
ज्येष्ठ नागरिक शिबराम प्याकुरेलले आफूहरूले पाउँदै आएको भत्ता कम्तीमा १ दिनमा सय रुपैयाँ हुनु पर्ने बताए । उनले भने, ‘दिनमा सय रुपैयाँ पनि भएन भने के खाने । उनले देउवाले जाँदा जाँदै बढाएको भत्ताबारे टिप्पणी गर्दै सस्तो लोकप्रियता कमाउन मात्र गरेको बताए । उनले भने, हाम्रा लागि कसैले गर्दैनन्, उनीहरूलाई भाग पुगेको छैन होला, किन गर्थे र’ ?
जे होस् चुनावको बेला र भाषणमा लोकप्रिय हुन जे पनि भन्न भ्याउने राजनीतिक दलका नेता तथा कार्यक्रताहरुले कार्यान्वयनमा ध्यान दिनु पर्छ । दुई तिहाइ बहुमतको र ५ वर्षसम्म रहने अहिलेको स्थायी  सरकारले जनताको चाहना अनुसार पनि काम गर्न सकेन भने राजनीतिप्रति जनताको वितृष्णा बढ्ने निश्चित छ । त्यसैले जनताको मत र चाहना अनुसार काम गर्नु पर्ने देखिन्छ ।


Related posts

One thought on “बजेटबारे ज्येष्ठ नागरिकको आक्रोसः ‘आफ्नै भुँडी भर्छन्, दुनियाँलाई नाटक मात्रै’(भिडियोसहित)

Leave a Comment