आफैं बिरामी कान्ति बाल अस्पताल: महत्वपूर्ण उपचारमा अरुकै भर (भिडियोसहित)


अस्पतालको भित्रको दुर्गन्धले बिरामी भएर फर्कन्छन कुरुवा

विनोद देवकोटा ।
कान्ति बाल अस्पताल । मुुलुककै एकमात्र केन्द्रीय बाल अस्पताल हो । देशको कुना कुनाबाट बालबालिकाहरुको उपचारका लागि मानिसहरुको घुइँचो लाग्ने गर्दछ । धेरैको आसा र भरोसा कान्तिमा गएपछि आफ्नो बालबालिकालाई सन्चो होला भन्ने हुन्छ । तर यथार्थ भने ठिक उल्टो छ । किनकी कान्ति बाल अस्पताल आफै बिरामी छ । अस्पताललाई विभिन्न समस्याले बिरामी पारेको छ । जनशक्ति अभाव, पुराना मेसिन तथा उपकरण, चरम आर्थिक संकट लगायत विभिन्न समस्याले सताएको छ । बिरामीको उपचारमा ध्यान दिनुपर्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाएर अघि बढ्नु पर्नेमा अस्पताल आफ्नै समस्याबाट ग्रसीत छ ।

महत्वपूर्ण उपचारमा अरुकै भर
देशभरका विभिन्न ठाउँबाट आउने बिरामीहरुलाई अस्पतालले सबै सेवा दिन सकेको छैन । केही महत्वपूर्ण सेवाका लागि विभिन्न समस्याका कारण अन्य अस्पतालको भर पर्नु पर्ने बाध्यता छ । जनशक्ति अभाव र आवश्यक उपकरण नहुँदा विभिन्न सेवाहरु दिन नसकेको अस्पतालका सुचना अधिकारी रमेशनरसिंह केसीले जानकारी दिए । उनका अनुसार अस्पतालमा एउटा बाल बालिकाको सामान्य हात भाचिँदा समेत अन्य अस्पतालको भर पर्नु पर्ने बाध्यता छ । अस्पतालमा अर्थोपेडिक सेवा सञ्चालनमा छैन । त्यस्तै कार्डियोलोजी सेवा पनि अस्पतालमा छैन । मुटु र रक्तसञ्चार सम्बन्धी उपचार गर्न पनि अन्य अस्पतालको भर पर्नु पर्ने बाध्यता छ । डायलासिस सेवा पनि अस्पतालमा छैन । बालबालिकाको किडनी सम्बन्धी समस्याको उपचार गर्न पनि अरु नै अस्पतालको भर पर्नु पर्छ ।

यो पनिः टिचिङ अस्पतालका डाक्टर र फार्मेसीको यतिसम्मको लापरवाही

यती मात्रै होइन, अस्पतालमा नाक,कान र घाटी सम्बन्धी उपचार पनि उपलब्ध छैन । अब देशकै एकमात्र केन्द्रीय बाल अस्पतालमा महत्वपूर्ण सेवा लिने आसा बोकेर लामो समय र हजारौं रुपैयाँ खर्चेर देशका विभिन्न अस्पतालबाट सिफारिस भएर आएका बिरामीहरु उपचार नै नपाएर कान्तिबाट अन्य अस्पतालमा सिफारिस गरिन्छ । अस्पताल अस्तव्यस्त हुँदा त्यस्कोे फाइदा नजिकका निजी अस्पतालले उठाएका छन् । कान्तिको व्यवस्थापन र उपचार सेवा कमजोर बन्दै गर्दा देशभरबाट रिफर भएर आएका गरिब विपन्न बिरामी महंगो पैसामा निजी अस्पतालमा जान बाध्य छन् । कतिपय डाक्टरका नै निजी अस्पताल छन् ।

अस्पतालका अधिकांस मेशिन तथा उपकरण पुराना
कान्ति बाल अस्पतालमा सञ्चालन भएका अधिकांस उपकरणहरू पुराना छन् । कतिपय उपकरण कामै नलाग्ने भइसकेका छन् भने कतिपय उपकरण तत्काल चल्न सक्ने मात्रै बनाएर अस्पताल चलेको छ । सूचना अधिकारी केसीका अनुसार नयाँ उपकरण नभएका कारण पुरानै उपकरणको प्रयोग गरेर सेवा दिनु परेको हो । पुराना उपकरणका माध्यमबाट नवजात शिशुलाई सेवा दिँदा विभिन्न खाले संक्रमण हुने सम्भावना बढी हुन्छ । कान्तिमा एमआरआईसमेत छैन । सिटि स्क्यान मेशिन त छ तर ७ वर्ष पुरानो । जबकी सिटि स्क्यान मेशिनको आयु नै ४ वर्ष मात्रै हुने जानाकार बताउछन ।

यो पनिः धुर्मुस सुन्तलीले लाखौंले भित्ता रंगाएको वीर अस्पताल भित्र उस्तै 

कर्मचारीलाई तलब खुवाउनै सकस
५२ र्शैयाको अस्पतालमा हाल ३७ र्शैया मात्र आईसियु सञ्चालनमा छन् । नर्सहरुको समेत अभाव छ । अस्पतालमा कार्यरत कर्मचारीले तलबसमेत नपाउने स्थिति छ । हिउँदमा कम बिरामी आउने हुँदा यी महिनामा अस्पतालको आम्दानी घट्छ । त्यस्तो अवस्थामा कर्मचारीलाई तलब दिनै मुस्किल पर्छ । सुचना अधिकारी केसी भन्छन् । हिऊद सुरु भइसक्यो । अब बिरामीको संख्या अत्यन्तै न्युन छ । यो अवस्थामा हामीलाई कर्मचारीको तलब कसरी भुक्तानी गर्ने भन्ने चिन्ता हुन्छ । कान्ति बाल अस्पताल विकास समितिबाट सञ्चालित छ । अस्पतालमा ३ सय ५० बढि कर्मचारी कार्यरत छन् । ६० प्रतिशत विकास समितिका कर्मचारी छन् । राजनीतिक पहुँचका आधारमा भर्ना भएका यस्ता धेरै कर्मचारी काममा गम्भीर नभएपनि तलब दिनैपर्छ । मासिक ९० देखि ९५ लाख खर्चहुने तलबको स्रोत अस्पतालकै आम्दानी हो ।

यो पनिः अस्पताल भित्रै हेर्नुहोस् यीनको चाला

घाटामा अस्पतालको फार्मेसी
सरकारी अस्पतालको आफ्नै फार्मेसी हुनपर्ने नियमानुसार अस्पतालले पनि फार्मेसी सञ्चालनमा ल्याएको छ । अस्पतालले फार्मेसी सञ्चालनमा ल्याएको दुई वर्ष भयो । तर फार्मेसी सञ्चालन गरेर अस्पताललाई फाइदा भन्दा पनि घाटा बढी छ । अस्पताल बाहिरका फार्मेसी महिनामै लाखौं नाफा कमाउछन । तर अस्पतालभित्रको फार्मेसीका कर्मचारी औषधी दिनेभन्दा बाहिरका फार्मेसीको दलाली गर्दछन । यहि कारण फार्मेसीको आम्दानीले त्यहाको औषधि र कर्मचारीलाई तलव खुवाउन पनि समस्या छ । अस्पताल प्रशासन भन्छ, भाडामा दिदा महिनामा ८ लाख आम्दानी हुन्थ्यो । आफैं चलाउदाँ घाटामा छ । आखिर सोही ठाँउमा निजी हुदाँ नाफा राखेर ८ लाख अस्पताललाई तिर्न सक्ने तर अस्पतालको फार्मेसी घाटामा जानुले कर्मचारीकै गलत नियत स्पष्ट हुन्छ । कर्मचारीलाई तलव समेत दिन पुग्नेमा अहिले समस्या छ । सुचना अधिकारी केसीका अनुसार कान्ति बाल अस्पताल आफैलाई घाटा भएपनि दुर दराजबाट आउने न्युन आय भएका बिरामीलाई भने फाइदा गरेको छ ।

यो पनिः वीर अस्पतालले नीजि फर्मेसीबाट लाखौं असुल्दै 

अस्पतालको भित्रको दुर्गन्धले बिरामी भएर फर्कन्छन कुरुवा

कान्ति बाल अस्पतालको स्थापना तत्कालिन रानी कान्तिराज्यलक्ष्मी शाहको नामबाट एक सय वर्ष अघि भएको हो । सोभियत सरकारको सहयोगमा स्थापना भएको कान्ति अस्पतालको भवन अहिलेपनि हेर्दा जति सुन्दर देखिन्छ यसको व्यवस्थापन उत्ति कुरुप छ । अस्पतालको ईमरजेन्सीदेखी अब्जरवेशन कक्षको सरसफाईको अवस्था निक्कै नाजुक छ । अस्पताल हाताभित्रै बनेको पानीको फोहोरा चल्न छाडेको झण्डै १२ वर्ष भयो । तर तालमा जमेको पानीले उपचारका लागी पुगेका बिरामी नै कुनबेला हैजाको शिकार बन्नुपर्ने त्रासमा हुन्छन । शौचालको दुर्गन्धले ओपिडी कक्ष बस्नै नहुने हुन्छ । यत्रतत्र फालिइका सिरिञ्जले संक्रमणको खतरा उत्तिकै छ । बिरामीका लागी भएका शैयामा कतिमा तन्ना छैन कतिमा सिरानी तर यसको व्यवस्थापनमा कसैको चासो छैन ।


Related posts

Leave a Comment