नाम मात्रैका सरकारी अस्पताल भित्रका फार्मेसी, सिटामोलका लागि समेत नीजिको भर (भिडियोसहित)


विमल खड्का, टिभी अन्नपूर्ण ।

सहज र सुलभ दरमा बिरामीले औषधि पाउन् भनेर खोलिएका सरकारी अस्पतालका फर्मेसीमा औषधि नै पाइँदैन । सामान्य केही औषधि बाहेक धेरै औषधि निजी मेडिकलबाटै किन्नु पर्ने बाध्यता छ ।

नेपालकै जेठो अस्पतालका रूपमा रहेको वीर अस्पतालको फार्मेसीमा समेत तोकिएको औषधि पाइँदैन । १ सय २९ वर्ष पुरानो वीर अस्पतालमा दैनिक हजारौँ बिरामीले नीजि मेडिकलबाटै औषधि किन्नुपर्ने बाध्यता छ ।

अस्पतालले सञ्चालन गरेको फर्मेसी अव्यवस्थित छ । भनेजती कर्मचारी छैनन् । सरकारले निःशुल्क पाउने भनेर तोकिएका ७० प्रकारका औषधि मध्ये केही मात्रै पाइन्छ । कतिपय अवस्थामा सामान्य सिटामोलसम्म नपाउने गरेको बिरामीको गुनासो छ ।

अस्पतालको फार्मेसीमा सस्तो मूल्यमा पाउनु पर्ने औषधि पनि नपाइएपछि नीजि मेडिकलमा दोब्बर वा अझै बढी मूल्यमा किन्नुपर्ने बाध्यता छ । सरकारी अस्पतालका निजी फार्मेसीबाट बिरामी ठगिने र गुणस्तरीय औषधि नपाएपछि सरकारले गत मङ्सिरबाटै सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी खोल्ने निर्देशन दिएको थियो ।

तर सरकारी अस्पतालमा खोलिएका फार्मेसीमा पनि तोकिएका औषधि नपाइएपछि बिरामी ठगिने क्रम भने रोकिएको छैन ।
सरकारी अस्पतालका डाक्टरले नै अस्पतालको फार्मेसीमा नपाइने औषधि सिफारिस गर्ने गरेको समेत गुनासो आउने गरेको छ ।

नीजि मेडिकलबाट कमिसन खाएर डाक्टरहरूले महँगो ब्रान्ड र मेडिकलमा मात्रै पाइने औषधि सिफारिस गर्ने गरेको अस्पतालका एक कर्मचारीले बताए । अस्पतालमा बिरामी लिएर आएका बिरामीका आफन्तहरू औषधिको लागि दौडधुप गर्दै हैरान हुन्छन् ।

फर्मेसीमा औषधि नपाइने नीजि मेडिकलमा जाँदा उनीहरूले मनपरी दरमा ठग्ने गरेको एक बिरामीका आफन्तले बताए । अस्पतालको दौडधुपले दिमाग नै खराब हुन्छ । उनले भने कतिपय अवस्थामा त मेडिकलवालाहरुसँग झगडा नै गर्नु पर्छ ।

वीर अस्पताल औषधी खरिद इकाई प्रमुख भगवती थपलियाका अनुसार डेढ वर्ष देखि फार्मेसी सञ्चालन गरेको भए पनि अझै सबै कुरा व्यवस्थापन हुन सकेको छैन । उनका अनुसार नेपालमा धेरै कम्पनीका औषधि पाइन्छन् । उनले भनिन्, कुन ब्राण्डको औषधि ल्याउने त्यो डाक्टरले नै छान्छन् । त्यसपछि मात्रै टेन्डर प्रक्रियामा जान्छ ।

लामो प्रक्रिया छ । त्यस कारण पनि अस्पतालमा औषधि अभाव हुन्छ । अब भने स्वास्थ्य बिमा कम्पनीहरूले पनि औषधिको लिस्ट पठाएकोले त्यसलाई समेटेर टेन्डर प्रक्रियामा जाने उनले बताइन् ।
वीर अस्पतालका फार्मेसी ईन्चार्ज मानबहादुर महराले टेन्डरमा ढिलाइ र कर्मचारी अभावका कारण अस्पतालमा भनेजती औषधि दिन नसकिएको बताए । उनले आर्थिक अभावले पनि तोकिएको सबै औषधि दिन नसकिएको स्वीकार गरे । उनले भने, ‘सरकारी टेन्डर प्रक्रिया धेरै झन्जटिलो छ । भनेको समयमा टेन्डर आह्वान पनि हुँदैन, यी यावत कारणले कहिलेकाहीँ औषधि अभाव हुन्छ ।

स्वाथ्य बिमा गरेका बिरामीहरूले १ हजार १ सय १८ किसिमका औषधिहरू निःशुल्क पाउनु पर्छ । तर सरकारी फार्मेसीमा औषधि अभाव भएपछि यसले बिमा कार्यक्रममा पनि प्रभाव पारेको छ । स्वास्थ्य बिमा गरेका बिरामीहरू पनि अस्पतालमा निःशुल्क पाउनु पर्ने औषधि नपाएपछि उनीहरू महँगोमा किन्न बाध्य छन् ।
राष्ट्रिय स्वास्थ्य नीति २०७१ मा सरकारी अस्पताल स्वयंले फार्मेसी सञ्चालन गर्नु पर्ने उल्लेख छ । सरकारी अस्पतालले सञ्चालन गरेको फार्मेसीमा ७० प्रकारका औषधि निःशुल्क पाउनु पर्ने नीतिमा उल्लेख छ । तर वीर अस्पतालमा सरकारले निःशुल्क भनेको ७० प्रकारका औषधि समेत किन्नुपर्ने बाध्यता छ । वीर अस्पतालमा मात्रै होइन राजधानीमा सञ्चालित अधिकांश सरकारी अस्पतालमा यो समस्या छ । फार्मेसी खोलिएका छन् । तर तोकिएको औषधि भने पाइँदैन ।

भिडियो हेर्नुहोस्


Related posts

Leave a Comment