एन्फा निर्वाचनमा अनियमितता भएको प्रमाण सार्वजनिक


गत बैशाखमा भएको एन्फा निर्वाचनमा धाँधली भएको प्रमाण विपक्षी समूहले सार्वजनिक गरेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले ९ महिनाअघि भएको चुनाबमा चुनावका क्रममा कसरी पैसाको चलखेल गरेको भन्ने अडियोहरु तत्कालिन अध्यक्षका प्रत्यासी मणि कुँवर समूहका विभिन्न जिल्लाका अध्यक्षहरुले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन्।

काठमाडौंमा गत बैशाख २२ गते भएको १६ औं साधारण सभाबाट एन्फाको अध्यक्षमा शेर्पा विजयी भएका थिए। कुँवरलाई ५१ मतको अन्तरले पराजित गर्दै शेर्पा विजयी भएका हुन्। अध्यक्षमा शेर्पाले ६३ मत, उनका प्रतिद्वन्द्वी कुँवरले जम्मा १२ मत प्राप्त गरेका थिए।

चुनावबाट कार्यसमितिमा शेर्पाको सम्पूर्ण प्यानल नै विजयी भएको थियो। अध्यक्षसहित ४ उपाध्यक्ष र ११ केन्द्रीय कार्यसमितिमा शेर्पाको प्यानलले क्लिन स्वीप गरेको थियो।

चुनावपछि कुवँरले निर्वाचित एन्फा अध्यक्षमाथि निम्न आरोपहरु पत्रकार सम्मेलन गर्दै लगाएका थिए।

निर्वाचन कमिटीलाई ज्यान मार्ने धम्की तथा आर्थिक प्रलोभनमा पारेको। मतदातालाई प्रत्यक्ष रुपमा पैसा बाड्ने काम भएको।
मतदातालाई प्रत्यक्ष प्रभावित पार्ने उदेश्यमा देशका विभिन्न स्थान तथा भारतमा समेत लगेर ठूलो धनराशी खर्च गरेको।
मतदातालाई चुनाव लगत्तै यूरोप भ्रमण गराएको।
न्यायालयलाई समेत आर्थिक लेनदेनबाट प्रभाव पार्ने काम गरेको।  निर्वाचन दौरान मतदाता तथा अन्य सहयोगीहरुलाइ सयौंको संख्यामा हवाई टिकट उपलब्ध गराएको।
यीनै आरोपहरुको प्रमाणका रुपमा बुधबार मणि कुँवर समूहका अध्यक्षहरुले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा कर्मा छिरिङ शेर्पाको समूहले निर्वाचन समितिलाई आर्थिक प्रभावमा पारेको, अदालतलाई आर्थिक प्रभावमा पार्न खोजेको, मत अधिकार प्राप्त प्रतिनिधिलई आर्थिक प्रभावमा पारेको, निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको जस्ता आरोपहरु लगाइएको छ।


Related posts

Leave a Comment