अर्कैको बच्चा जन्माएको भन्दै दाङमा एक सुत्केरी महिला घरबाट निकालिईन्


दाङ नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । एक महीनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई उनका श्रीमान् र परिवारले घर निकाला गरेको हो । गत असोज ३० गते सुत्केरी भएकी दुर्गालाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकाला गरेको पीडितले बताइन् ।

तीन वर्षपहिले मागी विवाह गरेका हेमराजले दुर्गालाई विवाह गरेको आठ महीनाबाटै यातना दिन शुरु गरेको बताइएको छ । “तीन वर्षपहिले मागेर बिहे भएको हो, बिहे गरेको आठ महीनाबाटै पिट्न शुरु गर्नुभयो,” पीडित दुर्गाले भनिन्, “गर्भवती भएको समयमा पनि पिट्ने, यातना दिने गरिरहनु हुन्थ्यो ।” सुत्केरीलाई घर निकाला गरेर हेमराजले सम्बन्ध विच्छेदका लागि देउखुरीस्थित जिल्ला अदालतमा मुद्दा दायर गरेको पीडित दुर्गाले बताइन् । सुत्केरी अवस्थामा स्याहारसुसार पाउने बेलामा दुर्गाले न्याय खोज्दै न्यायिक निकायमा पुग्नुपर्ने बाध्यता छ । रोल्पा त्रिवेणी गाउँपालिका जुगार माइत भएकी दुर्गालाई अहिले माइती पक्षले सहयोग गर्दै आएका छन् ।


Related posts

Leave a Comment