असुरक्षित वैदेशिक रोजगारी : कफिनमा भित्रन्छन हप्तामै दजनौं नेपाली युवाका लास (भिडियोसहित)


सरिता खड्का, टिभी अन्नपूर्ण ।

नेपालको अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ । रेमिट्यान्समा निर्भर अर्थ व्यवस्थाका कारण वैदेशिक रोजगारीमा जाने युवाको टाउको गनेर नेपालको अर्थ व्यवस्थाको आँकलन हुन्छ ।

स्वदेशको रोजगारी सरकारको प्राथामिकतामा नपरेपछि १६ टेकेका हजारौँ युवाहरूको लाइन अहिले पार्सपोर्ट श्रम र दलालका दैलाबाट सुरु हुन्छ । तर यही लाइन छिचोलेर विमान चढ्ने युवाहरू मध्ये दैनिक औसतमा तीनजना रातो बाकसमा फर्किने गरेका छन् । विशेषता खाडी मुलुकहरूमा नेपाली कामदारको सङ्ख्या बढ्दो छ । जुँगाको रेखा बसेदेखि पिठ्युँको हाड दोब्रिञ्जेल खाडीबाहेक युरोप, अमेरिका र अस्ट्रेलियाको बजारमा पसिना बेच्ने युवाको सङख्या पनि कम छैन । लगानी गर्ने सक्ने र थोरै पढेलेखेका युरोप अमेरिका त निम्नवर्गिय खाडी मुलुकको ५५ डिग्रीको तापमा आफूलाई सेकाएर देशको अर्थतन्त्र धानिदिने ठेक्का लिएका छन् । रेमिट्यान्स र सुरक्षित वैदेशिक रोजगारको नाममा दैनिक तारे होटलहरुमा बहस हुन्छ । तर यसैका स्रोत दैनिक राता बाकसमा भित्रिने युवाहरूको लासले भने बहसमा ठाउँ पाउदैंन ।

देशमा रोजगारीको अवसर नहुनु, वैदेशिक रोजगारमा जाने युवाहरूका लागि आवश्यक तालिम, सीप र सुरक्षाको चेतना नहुँदा वैदेशिक रोजगारीकै क्रममा नेपालीले ज्यान गुमाउने गरेको जानाकारहरु बताउँछन् । सम्बन्धित देशमा सुरक्षाको ग्यारेन्टी गर्ने समन्वयमा सरकार उदासिन हुँदा यसरी ज्यान गुमाउने घटनाले निरन्तरता पाएको पीडित परिवारको आरोप छ । वैदेशिक रोजगार प्रबर्द्धन बोर्डमा उपलब्ध तथ्याङकअनुसार अहिलेसम्म ६ हजार ५ सय ६० नेपालीले यसरी ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७१ ७२ मा मात्रै वैदेशिक रोजगारीकै क्रममा एक हजार बढी नेपालीले ज्यान गुमाएपनि त्यसपछिका ३ वर्ष केही घटेको तथ्याङक छ । २०७२ ०७३ मा आठ सय पन्ध्र, ०७३०७४ मा सात सय छपन्न, र ०७४०७५ मा सात सय तिरहत्तर जनाको मृत्य भएको तथ्याङक वैदेशिक रोजगार पर्वद्धन बोर्डसँग छ ।

विदेशमा हुने नेपाली श्रमिकको मृत्यु कार्यस्थलमा हुने दुर्घटनासँगै सडक दुर्घटना, कामको चापका कारण हुने हृदयघात , हत्या र आत्महत्याका कारण हुने गरेको तथ्याङ्कमा उल्लेख छ । यसबाहेक अत्यन्तै न्यून सङ्ख्यामा कालगतिले मृत्यु हुनेहरु पनि भेटिएको वैदेशिक रोजगार पर्वद्धन बोर्डका निर्देशक धीर कुमार श्रेष्ठ बताउछन । हुन त अमेरिका, अस्ट्रेलिया तथा युरोपका विभिन्न मुलुकहरूमा समेत नेपालीले अकालमा ज्यान गुमाइरहेका छन् । तर खाडी मुलुकहरूमा यो दर निकै बढी छ । खाडीदेशहरु मध्ये मलेसियामा तुलनात्मक रूपमा बढी नेपालीले ज्यान गुमाउन बाध्य छन् । कामको चाप, सामाजिक असुरक्षा र सडक चेतनाको कमीका कारण यी देशहरू अन्य देशको तुलनामा बढी असुरक्षित मानिन्छन । वैदेशिक रोजगार प्रबर्द्धन बोर्डका अनुसार पछिल्लो एक वर्षको अवधिमा मुत्यु भएका ६ सय ७३ जना मध्ये मलेसियामा मात्रै दुई सय पच्चिस जनाले ज्यान गुमाएका छन् ।

यसै गरी , साउदी अरेबियामा एक सय एकहत्तर जनाको मृत्यु भएको छ । कतारमा एक सय तीन जनाको ज्यान गएको छ । संयुक्त अरब ईमिरेट्स दुबईमा ७२ जनाले ज्यान गुमाएको तथ्याङ्क बोर्डसँग छ भने कुवेतमा १४ जनाको मृत्यु भएको छ । यसबाहेक , बहराईन, ओमान, अफगानिस्तान,देखी दक्षिण कोरिया, जापान, युरोपका केही देश, र अस्ट्रेलियामा समेत नेपालीले ज्यान गुमाएको देखिन्छ । जसमध्ये मलेसियामा हत्या, सडक दुर्घटना, हृदयघातका कारण मृत्यु भएको देखिएको छ भने साउदी अरेबियामा सडक दुर्घटनाका कारण धेरै नेपालीले ज्यान गुमाएका छन् । यसबाहेक वैदेशिक रोजगारमा जाने नेपालीको बढी आर्कषण भएको कतार नेपाली कामदारका लागि अर्को असुरक्षित मुलुकमा देखिएको छ ।

कतारकै हाराहारीमा यूएईमा नेपालीहरूको ज्यान गएको तथ्याङमा देखिएको छ । उता दक्षिण कोरियामा पछिल्लो वर्ष ज्यान गुमाउने नेपाली कामदारको सङख्या पनि २ दर्जन पुगेको छ । कुवेत र बहराईनमा पनि नेपालीहरूको मृत्यु भएको खबर आइरहेको हुन्छ । गएका तीन वर्षको तथ्याङ्कलाई मात्रै हेर्दा ओमन अन्य मुलुकको तुलनामा केही सुरक्षित देखिएको छ । यद्यपि गएको वर्ष मात्रै ओमनमा पनि ३ जना नेपालीले ज्यान गुमाएको तथ्याङ्क छ । वैदेशिक रोजगारीमा जाने जिल्ला तथा क्षेत्रहरूको फरक तथ्याङ्क भएजस्तै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने जिल्लागत तथ्याङ्क पनि फरक फरक छ । सन् २०१७ मा जिल्लागत तथ्याङ्कलाई हेर्दा विदेशमा मृत्यु हुनेहरु मध्ये सबैभन्दा बढी मोरङ जिल्लाका छन् । त्यसपछि झापा, धनुषा, बाग्लुङ, सर्लाही र तनहुँ जिल्लाका बढी छन् ।

 

सिराहा, रुपन्देही, रोल्पा, रौतहट, पाँचथर, नवलपरासी, महोत्तरी र खोटाङ पनि वैदेशिक रोजगारीमा पुगेका युवाहरू गुमाउने जिल्लाको रूपमा देखिएको छ । त्यस्तै दाङ, सुनसरी, ताप्लेजुङ, सुर्खेत, सिन्धुपाल्चोक र सिन्धुलीका नेपाली युवाहरूले पनि विदेशमा अनाहकमै ज्यान गुमाउनु परेको छ । निम्न आर्थिक हैसियतका कारण आफ्नो गर्जो टार्ने र दुई पैसो जोहो गरेर भविष्य चलाउने अभिलाषा बोकेर विदेश पसेका नेपाली युवामध्ये हरेक दिन कोही न कोही बाकसमा लास बनेर फर्कन्छन् । जसमध्ये धेरैको विवरण त बोर्डमा पनि आइपुग्दैन । अवैधानिक रूपमा विदेश जाने र भिसा सकिएपछि पनि अवैधानिक भएकाहरुको विवरण बोर्डसम्म नआउने निर्देशक श्रेष्ठको भनाई छ । यसबाहेक केहीले क्षतिपूर्तिका लागि बोर्डमा उजुरी समेत गदैनन । उजुरीका लागी नआउनेहरुको तथ्याङ बोर्डसम्म नआउने भएकाले वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाउने नेपालीको सङ्ख्या बोर्डले उपलब्ध गराएको तथ्याङ भन्दा बढी हुने सम्भावना छ ।

यसरी यो तथ्याङ्कले रेमिट्यान्सले धानेको नेपालको वैदेशिक रोजगारी कति सुरक्षित छ भन्ने स्पष्ट पार्दछ । यो भयावह तथ्यबारे नेपाल सरकार, वैदेशिक रोजगार सम्बन्धी सरोकारवाला निकाय मात्रै होइन विदेशमा युवाले आर्जन गरेको पारिश्रमिकबाट मोटो कमिसन असुल्ने रेमिट्यान्स व्यवसायीहरूसमेत उत्तदायी बन्नु जरुरी छ ।

 

 


Related posts

Leave a Comment