बलात्कारीका डरलाग्दा अवतार, यसरी फुत्किन खोज्दैछन् पापी


बलात्कार महिला हिंसाको एउटा विकृत रुप हो । महिलामाथि हुने गरेका अन्याय शोषण र अत्याचार मध्ये बलात्कार पछिल्लो समयमा प्रमुख समस्याका रुपमा देखा परेको छ । विशेषगरी महिलाप्रतिको सोचाईले यसलाई प्रमुख प्रभाव पारेको देखिन्छ । हाम्रो समाज पुरुष प्रधान र पुरुष सत्तावादी चरित्रले गाँजिएको छ । जसको कारण  निर्दोष महिलाहरु त्यसको शिकार बन्न बाध्य भएका छन् । हिजोआज महिलामाथि हुने गरेका बलात्कारहरुको शृंखलाबद्ध रुपमा समाचार आइरहेका छन् । ललितपुर घटनामा संलग्न भएका दोषीलाई जिल्ला अदालतले रिहा गरिदिएको छ भने दरबारमार्ग काठमाडौं मा भएको घटनामा प्रहरीले नै मिलापत्र गरिदिएको समाचार बाहिर आएको छ । दुधे बालिका देखि उमेर पुगेका महिलासम्म यसको शिकार बनिरहेका छन् । बलात्कार नेपालको मात्र समस्या नभएर यो विश्वका जुनसुकै देशको समस्याका रुपमा प्रकट भइरहेको छ । महिलाहरु शारीरिक संरचनाका हिसावमा केही कमजोर देखिनु र हाम्रो समाजको चरित्र र संस्कारका कारण पनि महिला लामो समयदेखि पुरुषका दानवीय प्रवृतिको शिकार बनिरहेका छन् ।

त्यसो. त बलात्कार महिलामाथि मात्र नभएर पुरुषमाथि पनि भइरहेको छ तर त्यो एकदमै नगन्य मात्रामा छ । तिनको पनि उचित समाधान गरिनुपर्छ । तर वास्तवमै जटिल समस्याका रुपमा रहेको छ महिलामाथिको बलात्कार । बलात्कारको परिभाषा आआफ्नै तौरतरिकाबाट गर्न सकिन्छ  । तर कैयौँ बलात्कारका घटना पनि बलात्कारको परिभाषाबाट बाहिरिएका छन् । वास्तवमा बलात्कारको अर्थ इच्छा नहुँदा नहुँदै कसैलाई यौन सम्बन्धमा आउन बाध्य बनाइन्छ भने त्यो नै वास्तविक बलात्कार हो । यौन सम्पर्कमा आफूखुसी राजी नभएको सम्पूर्ण अबस्था बलात्कार हो । यो प्रेमि प्रेमिका बीच पनि हुन सक्छ । केही दिनअघि भारतमा एकजना प्रेमीले आफ्नी प्रेमिकालाइै सिनेमा हलभित्रै बलात्कार गर्न खोजेको घटनाबाट स्पष्ट हुन्छ कि बलात्कार भनेको नचिनेको र परपुरुषले जबर्जस्ती यौन शोषण गर्नुमात्रै  होइन यो  त इच्छाविपरित यौनसम्बन्ध हुनु हो यो आफ्नै श्रीमान श्रीमतीबीच अझ बढी ज्यादा हुन्छ ।

नेपाली समाज यौनको बारेमा अलि बढी लज्जालु छ । यौनका कुरा खुलम्खुला गर्न हाम्रो समाज अझै पनि संकोच मान्छ । आफूमाथि हुने गरेका हिंसाको बारेमा बोल्न डराउछन् । अझ श्रीमान श्रीमतीबीचका बलात्कारका कहानीहरु त नगन्य मात्रामा बाहिर आउँछन् । बाहिर नआउनु र सार्वजनिक रुपमा नदेखिनु भनेको घटना नहुनु पटक्कै होइन । बलात्कारको शिकार महिलाहरु सदियौदेखि भइरहेका छन् तर त्यसको प्रतिवाद र सार्वजनिक गर्न महिलाहरु डराइरहेका छन् । यौनलाई निकै ठूलो विषयका रुपमा बुझ्नुले नेपाली समाज अझै पनि पछाडि परेको छ जसमा पिडित महिला पनि आफूमाथिको यौन शोषणको बारेमा खुल्ला रुपमा बोल्न सकेका छैनन् यो पनि एउटा कमजोरी हो तर अर्को कमजोरी हाम्रो समाजको चेतनाको स्तर पनि माथि उठ्नु जरुरी छ । कोही बलात्कृत व्यक्तिलाई सामाजिक इज्जत नै सिद्धिएको रुपमा यो समाजले हेर्ने गर्दछ जसले गर्दा कैयौँ प्रताडित महिला आफ्नो पीडा लुकाउन बाध्य भएका छन् । बलात्कार भनेको सामान्य घटना नभएपनि महिलालाई सम्पूर्ण रुपमा अशुद्धिकरण गर्नु पक्कै पनि समाजको कमजोरी हो ।

बलात्कृत महिलालाई समाजमा फरक नजरले हेर्ने समाजको प्रवृति नसच्चिएसम्म बलात्कारका घटनाहरु भित्रभित्रै घटिरहनेछन् । जसले त्यसबाट आफ्ना आकांक्षा पूर्ती गरेका छन् तिनिहरुलाई फाइदै हुनेछ ।  किनकी बलात्कारी पनि ढुक्क हुन्छ कि आफूले बलात्कार गरेकी महिलाले त्यसको पर्दाफास गरेमा उसको सामाजिक इज्जत र प्रतिष्ठा पनि क्षयीकृत हुन्छ  ।  त्यसको सुइँको पाएमा समाजले पनि उसलाई नराम्रो नजरमा हेर्छ । यस्ता घटना सार्वजनिक गर्नु उसकै लागि घातक हुन्छ । केही सार्वजनिक भएका बलात्कृत महिलाहरु साहसी भएकै कारणले त्यसको विरुद्धमा आवाज उठाएका हुन् नत्र भने समाजको ठूलो तप्का यस्ता साहसिक कदम चाल्नबाट डराइरहेको छ । अविवाहित नारीमाथि हुने गरेका यौनशोषण सार्वजनिक गर्दा  विवाह नै नहुने र उनलाई अशुद्ध महिलाको रुपमा बुझ्ने हाम्रो समाजले गर्दा महिला आफैभित्र गुम्सिरहेका छन् । बलात्कारका घिनलाग्दा धन्दा चलाएर मस्ती गरिरहेका कुपात्रहरु समाजमा प्रसस्तै छन् । कसैले आफ्नै छोरीमाथि यौनशोषण गरिरहेका छन् कसैलाई आफन्त नातागोता आदिमा भएका घटना पनि बेलाबखत बाहिरिने गर्दछन् । समाज जति विकसित बन्दै गएको छ त्यत्ति नै बेथितिका शृंखलाहरु बढ्दैछन् । वास्तवमा बलात्कारीलाई कुनै पनि सीमाले छेक्न सकेको छैन । दिदी,बहिनी, छोरी, अन्य नातागोता, अबोध बालिका, बृद्धा महिला आदि ।

जबसम्म बलात्कृत महिलालाई सामान्य नारीकै रुपमा सोच्न र बुझ्न सिंगो समाज तयार रहदैन तबसम्म यस्ता कुकृत्यहरु सम्पूर्ण रुपमा सार्वजनिक हुन्छन् र पिडीतले न्याय पाउँछन् भनेर सोच्नु व्यर्थ छ । हिजोको सोचाईमा केही परिवर्तन आएपनि समाजमा अझै पनि सुधार्नुपर्ने पक्ष धेरै छन् । बलात्कारका घटना शृंखलाबद्ध रुपमा बाहिरिनु पटक्कै राम्रो होइन यसले मानवीय संस्कार सभ्यता बुद्धि र विवेकको समेत खिल्ली उडाइरहेको छ । मानिसका यी दानवीय प्रवृतिलाई निरुत्साहित गर्नैपर्छ । बलात्कारीको बिगबिगी विश्वभर जहाँतही छ । विभिन्न किसिमका यस्ता घटनाहरु बेलाबखत चर्चामा आइरहन्छन् । समाजको चेतनाको स्तरसँगै कानुनको पालनामा पनि थप कडाई गर्नुपर्छ  । बलात्कारीलाई नियन्त्रण गर्न हरेक देशमा फरक फरक कानुन छन् कुनै देशमा फाँसी दिने सम्मका कानुन छन् कुनै देशमा जन्मकैद सम्मा कानुन छन् । नेपालमा पनि बलात्कारको स्वरुप हेरिकन कानुनको व्यवस्था छ । बेलाबखत उठ्ने गरेका सवाल सुन्दा नेपालमा कानुनको पनि पर्याप्तता नभएको र दोषीहरु पनि विभिन्न बहाना र मिलेमोतेमा रिहा हुनुले पिडीत पक्षलाई अझ बढी सन्त्रास बनाइरहेको छ ।

केही समयअघि हाम्रो देशमा रहेको बलात्कार सम्बन्धि कानुनी व्यवस्थालाई परिवर्तन पनि गरिएको छ । जसमा ३५ दिनभित्र पिडितले उजुरी दिनुपर्ने व्यवस्थालाई थप गरी ६ महिनासम्मको व्यवस्था राखिएको छ । यो पनि केही सकरात्मक कदम नै हो । महिलाको शरीरलाई हेर्ने पुरुषवादी सोचबाहिर रहेर निरन्तर काम गर्ने सानो समूह यद्यपि छँदैछ । बलात्कार विरुद्ध लगातार काम गरिरहेका मानिस बलात्कारपछि पनि महिलाको जीवन हुनसक्छ, एक पटक वा पटक–पटक बलात्कारमा परेका महिलाका लागि संसार त्यत्ति नै सुन्दर हुन्छ, जति ऊ बलात्कार हुनुभन्दा अगाडि थियो भन्नेमा विश्वास गर्छन् । बलात्कार वा यौन दुव्र्यवहार हुनुमा महिलाको दोष हुँदैन । त्यसैले बलात्कारमा परेका महिलाले लाज, अप्ठ्यारो र अपमानित हुनु जरुरी छैन भन्ने धारणा यतिबेला बलियो हुँदै गएको छ । यो धारणा राख्ने संख्या सानो छैन भन्ने कुरा सामाजिक सञ्जालमा चलेको ‘मिटु’ ह्यास ट्यागले पनि स्पष्ट पार्छ । यसले यौनजन्य दुव्र्यवहार अब लुकाउने कुरा होइन भन्ने तहमा महिला पुगेको स्पष्ट पार्छ ।अबका दिनमा महिला अधिकारको नाममा खोलिएका संघसंस्था पनि कोठे बैठक र केही थान नाराजुलुसमा सिमित भइरहँदा यस्ता घटनाहरुको समाधान हुन सकेको छैन । तसर्थ अबका दिनमा यस्ता संघसंस्थाको भूमिका पनि अझ बढी सशक्त बन्नु जरुरी छ ।


Related posts

Leave a Comment