बार्सिलोनाको जितमा मेस्सी र स्वारेजको गोल


लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । आइतबार राति भएको खेलमा लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले गेटाफेलाई २–१ ले हराउँदै शीर्ष स्थानको अग्रता ५ अंकमा पुर्‍याएको छ। बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । गेटाफेका लागि जइमी माटाले गोल गरेका थिए ।

गेटाफेको मैदामा भएको खेलमा २०औं मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै खेलमा सुरूवाती अग्रता दिलाए। खेलको ३९औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै  बार्सिलोनाको अग्रता दोब्बर पारे।  तर ४३औं मिनेटमा माटाले गोल गर्दै गेटाफेलाई २–१ गोलको स्थितिमा पुर्‍याएका थिए । पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्न सकेपनि थप गोल गर्न भने सकेन ।

यो जितसँगै बार्सिलोनाले लिगको १८ खेलबाट ४० अंक जोड्दै शीर्ष स्थानमा आफ्नो अग्रता ५ अंक पुर्‍याएको छ। दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले सेभिल्लासँग १–१ गोलको बराबरीमा रोकिएपछि १८ खेलबाट उसको ३५ अंक भएको छ।

बराबरीपछि दोस्रो स्थानमा रहेको एट्लेटिको शीर्षस्थानको बार्सिलोनाभन्दा ५ अंकले पछि परेको छ । तेस्रो स्थानमा रहेको सेभिल्लाको ३३ अंक रहेको छ। चौथो स्थानको अलाभेसको ३१ तथा पाँचौ स्थानमा झरेको रियल म्याड्रिडको ३० अंक छ।


Related posts

Leave a Comment