लुकीछिपी सम्बन्ध: बाबुलाई उन्मुक्ति, आमालाई सास्ती


‘वर्जित सम्बन्ध’ बाट गर्भवती भएर डर र आवेशमा नवजात शिशुको हत्या गर्ने थुप्रै आमा अहिले कारागारमा छन् । तर, त्यस्तो सम्बन्ध राखेका कारणले पुरुषहरू जेल बस्नु परेको छैन । शिशुहत्याको आरोपमा कारागारमा रहेका र भर्खरै रिहा भएका आमाहरूको कथा । 

गर्भधारणका बारेमा प्रकृति र समाजको नियम एकदमै फरक छ । प्रकृतिका लागि गर्भधारण एउटा प्राविधिक प्रक्रिया मात्र हो । उपयुक्त वातावरणमा स्वस्थ डिम्ब र शुक्रकीटको मिलन भएपछि गर्भधारण हुन्छ । तर, संसारमा विद्यमान सबैजसो समाजले यसमा वैधताको पक्ष पनि थपेका छन् । समाजका लागि भने गर्भधारण प्राविधिक सँगसँगै वैधानिक प्रक्रिया पनि हो ।

यहाँ चर्चा भएका व्यक्तिहरूले अदालतबाट सजाय वा सफाइ पाइसकेको भए तापनि उनीहरूले थप लाञ्छना बेहोर्नु नपरोस् भनेर सबैको नाम फेरिएको छ । उनीहरूलाई दिइएका यी नामहरू पञ्चतत्व (पृथ्वी, जल, तेज, वायु र आकाश) वा तीसित नजिकका नाम र शब्दहरूमा आधारित छन् ।

पाँचथर यासोककी भूमिसरा परियार (२२) अहिले मोरङ कारागारमा छिन् । उनी २०६५ सालमा १४ वर्षको उमेरमा आफूभन्दा ८ वर्ष जेठा आकाश परियारसँग नजिकिइन् । तीन वर्ष मलेशियामा रोजगारी गरेर फर्केका आकाश र भूमिसराले फोनमा कुरा गरेरै बिहे गर्ने टुंगो गरे ।  विवाहको १० महीना नै  उनीहरूको छोरो पनि जन्म्योे । अहिले उनी ७ वर्षका छन् ।

छोरो जन्मेको दुई महीनापछि आकाश पुनः मलेशिया गए । उनी भूमिसरालाई घर खर्च चलाउन महीनाको ८–१० हजार र कहिले बचत गर्न भनेर एक–डेढ लाख रुपैयाँसम्म पठाउन थाले । चार वर्षमा उनले झण्डै १० लाख रुपैयाँ पठाए ।

लामो समयसम्म उनी घर नफर्कंदा भूमिसरा आफ्नै देवरसँग नजिकिइन् । यौन सम्पर्क हुनथाल्यो । त्यही सम्बन्धबाट जन्मेको शिशु मारेर फ्याँकेको पोल खुलेपछि दुई वर्षअघि  उनी पक्राउ परेकी हुन् । भूमिसरा भन्छिन्, “चार वर्षसम्म नआउँदा श्रीमान्को यादले खूब सताउँथ्यो । उमेर मिल्ने देवरसँग मनका कुरा साटासाट गर्दागर्दै शारीरिक सम्पर्क शुरू भयो । समाजले थाहा नपाओस् भनेर गर्भ फाल्न खोज्दा आज यो हालत भयो ।” जिल्ला अदालत पाँचथरले उनलाई २० वर्ष कैद गर्ने फैसला गरे पनि सजाय ‘चर्को पर्ने’ भनेर उच्च अदालत विराटनगरले पाँच वर्ष कैद गर्ने फैसला गरी सो फैसला मिले नमिलेको जाँच गर्न सर्वोच्च अदालत पठाएको छ ।  पाँचथर यासोककै जलजला लावती (३०) पनि शिशु हत्याको अभियोगमा पाँचथर कारागारमा छिन् । जलजलाका श्रीमान् मेघकुमार २०६५ सालदेखि वैदेशिक रोजगारीमा मलेशियामा छन् ।

जेठाजु नाताका बज्र लावतीसँगको शारीरिक सम्पर्क पछि जन्मिएको छोरो मारेर सामुदायिक वनमा गाडेको अभियोगमा ३० चैत २०७२ मा जलजला र बज्रलाई प्रहरीले पक्राउ ग¥यो । जलजला भन्छिन्, “पैसा त पठाउनुहुन्थ्यो, तर लोग्नेबाट हुने आडभरोस, दुःखसुखको साथ पैसाले दिने कुरै भएन । उमेरकी श्रीमती सम्झेर बेलाबखत घर आउनुभएको भए म यो हालतमा पुग्ने थिइनँ ।”

जलजलाको मुद्दामा पनि उच्च अदालत मोरङले ‘सजाय चर्को पर्ने’ भनेर पाँच वर्ष कैद गर्ने फैसला गरी सो फैसला मिले नमिलेको जाँच गर्न सर्वोच्च अदालत पठाएको छ । ‘बच्चाको हत्या गरेको देखेर पनि प्रहरीलाई खबर नगरेको’ भनेर बज्रलाई जिल्ला अदालत पाँचथरले एक वर्ष कैद गरेको थियो । उनी भने कैद भुक्तान गरेर छुटिसकेका छन् ।

चुम्बन गरेर छोरीको हत्या

तनहुँको तत्कालीन माझकोट गाविसकी तेजकुमारी रानाले २०६७ मंसीर २१ गते राति पाँच महीनाकी छोरीलाई तीन पटक चुम्बन गरिन् र घाँटीमा रुमाल कसेर हातले नाकमुख थुनिदिइन् । घटनाबारे अरूले थाहा पाएपछि प्रहरीमा तेजकुमारी  विरुद्ध उजुरी प¥यो । “नाताले देवर पर्ने कहरबहादुर रानाका कारण मेरो गर्भ रहन गएको हो” १७ वर्षीया तेजकुमारीले अदालतमा बयानका क्रममा भनेकी छन्, “इच्छा विपरीत गर्भधारण भई जन्मेको बच्चाको न्वारान पनि नभएको, बाउ को हो भनी समाजलाई खुलाउन सक्ने अवस्था पनि नरहेको र आफू भर्खरै १७ वर्षमा लागेकाले भविष्य पनि अन्धकार हुने सोचेर बच्चीलाई पन्छाउन उपयुक्त हुने ठानी हत्या गरेकी हुँ ।”

तेजकुमारीका अनुसार, उनले आफू गर्भवती भएपछि कहरबहादुरलाई त्यसबारे जानकारी दिएकी थिइन् । कहरबहादुरले शुरूमा ‘मिलाउँछु’ भनेका पनि थिए । गाउँमा तेजकुमारी गर्भवती भएको हल्ला चलेपछि समाज बसेर घटना मिलाएका पनि थिए । तर पाँच महीनासम्म पनि छोरीको न्वारान समेत हुन नसकेपछि तेजकुमारी  निराश भइन् र छोरीको हत्या गरिन् । त्यो मुद्दा अदालत पुगेपछि जिल्ला अदालत तनहुँले २०६९ जेठमा तेजकुमारीलाई १० वर्ष कैद हुने फैसला ग¥यो । “सामाजिक तिरस्कारका कारण बाध्य भई आवेशमा छोरीको हत्या गरेकी हुँ, तर मलाई तोकिएको सजाय चर्को भयो” भनी तेजकुमारी पुनरावेदन अदालत पोखरा पुगिन् । पुनरावेदन अदालत पोखराले त्यसको आठ महीनापछि २०६९ माघमा ‘सजाय चर्को पर्न जाने’ भन्दै ७ वर्ष कैद हुने भनी फैसला ग¥यो । सर्वोच्च अदालतले पनि पुनरावेदन अदालतकै आदेश सदर गरिदियो । कैद भुक्तान गरेर तेजकुमारी रिहा भइसकेकी छन् ।

समीरालाई ज्यानमुद्दा

चितवनको पिठुवा गाविस माधवपुरको धानखेलमा नवजात शिशुको शव फेला प¥यो । भोलिपल्ट २०७० साल भदौ ८ गते उपचारका लागि भरतपुर अस्पतालमा पुगेकी समीरा लामिछानेसित सोधपुछका क्रममा उनले बच्चा जन्माएर फालेको र अस्पताल भर्ना भएको खुल्यो । पिठुवास्थित मामाघरमा बसेर पढ्न गएकी समीरा लामिछानेले बयानका क्रममा धादिङ मैदी घर बताउने पवन तिवारीसँगको शारीरिक सम्पर्कबाट आफू गर्भवती भएको स्वीकारिन् ।

उनको बयान अनुसार, पिठुवामा ठूलीआमाको घरमा बसेको बेला शौचालयमा बच्चा जन्मियो । उनले बच्चालाई कपडामा पोको पारेर कोठामा ल्याइन् । शौचालय सफा गरिन् । अनि बच्चालाई बाल्टीमा हालेर घर नजिकको कुलोमा फालिन् । उनले घरमा नुहाईधुवाई गरेर कुलाबाट फर्केको बताइन् । तर उनले पवनलाई फोन गरेर बच्चा मारेर कुलोमा फालेको  सुनाइन् । प्रहरीले पवन र समीरा विरुद्ध कर्तव्य ज्यानको मुद्दा चलायो ।

यो घटनामा जिल्ला अदालतले प्रतिवादीले जीवित बच्चा जन्माई मारेर फालेको भनी ठहर गर्न नमिल्ने राय सुनायो । फैसलामा भनिएको छ– ‘समीरा लामिछानेले जीवित बच्चा जन्माई कर्तव्य गरी मारी कुलोमा बगाएको भन्ने निश्चयात्मक प्रमाण नपु¥याई मिसिल पेश भएको अवस्था समेतका आधारमा कर्तव्यबाट नै नवजात शिशुको मृत्यु भएको भनी ठहर गर्न मिलेन ।’

तर उक्त बच्चा मरेकै थियो भनी समीरा लामिछानेले बयानमा लेखाउन सकेको पनि देखिएन । शव परीक्षण प्रतिवेदनमा समेत शिशुको जन्मपछि मृत्यु भएको भनी उल्लेख भएको थियो । त्यसैले कर्तव्य नभई भवितव्यबाट शिशुको मृत्यु भएको ठहर भयो । जिल्ला अदालतले समीरालाई ४५ दिन कैद र ५०० रुपैयाँ जरिवानाको फैसला सुनायो । पवन तिवारीले भने सफाइ पाए ।

जिल्लाको फैसला उल्ट्याई पुनरावेदन अदालत हेटौंडाले समीरालाई सर्वस्वसहित जन्मकैदमा पाँच वर्ष कैदको प्रस्ताव ग¥यो । सर्वोच्च अदालतले भने समीराको काम नै अपराधपूर्ण रहेको ठहर ग¥यो । २०७२ साल फागुन २० गते पाँच वर्ष कैद नै सदर भयो । समीरा अहिले कारागारमुक्त भइसकेकी छन् ।

गगनमायाको बयान

सल्यान सिद्धेश्वरीकी गगनमाया चलाउनेले आफैंले जन्माएको बच्चालाई तत्काल प्लाष्टिकले बेरेर खाल्डो खनी नजिकैको ओडारमुनि गाडिदिइन् । बाख्रा चराउन जाने गोठालाहरूले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरे । २०६९ असार ४ गते शव भेटिएपछि स्थानीय बासिन्दाको उजुरीका आधारमा प्रहरीले गगनमायालाई पक्राउ ग¥यो ।

‘नाताले देवर पर्ने स्थानीय स्कूलका शिक्षक गरुडध्वजले घरमा मोबाइल चार्ज गर्ने निहुँमा मलाई जबर्जस्ती गरेको हो । उससँग २०६८ साल साउन र भदौमा गरी मेरो दुईपटक उठबस भएको हो’ २५ वर्षीया गगनमायाले बयानका क्रममा स्वीकार गरिन्, ‘मलाई विवाह गरेर लैजा भन्दा उसले मानेन । शुरूमा मलाई भेट्न नआई कताकता गयो, पुसमा आएपछि नेपालगञ्ज गएर मेडिकल गर्दा डाक्टरले गर्भपतन गर्न मिल्दैन भन्यो ।’ स्थिति गम्भीर भएपछि गडुरध्वजले ‘जे सुकै गर’ भनेको गगनमायाले बयानका क्रममा खुलाएकी छन् ।

उनले पछि आफूले बच्चालाई जन्म दिएको र जन्मिए पछि बच्चा नचलेकाले मरेको ठानेर सालनाससहित फालेको बयानमा बताएकी छन् । गगनमायाले बयानमा आफूले गल्ती गरेको स्वीकार्दै गरुडध्वजलाई पनि कारबाही हुनुपर्ने माग राखिन् । मुलुकी ऐनको ज्यान सम्बन्धी महल अनुसार सर्वस्वसहित जन्मकैद हुनुपर्ने ठह¥याएको सल्यान जिल्ला अदालतले लोग्ने विदेशमा रहेको बेला परपुरुषसँग सम्पर्क गरी सामाजिक लोकलाजका कारण बच्चा फालेकाले उक्त कैद चर्को हुने ठहर गरी १० वर्ष कैद हुने फैसला ग¥यो ।

उनले आफूले नवजात शिशुको हत्या नगरेको र हत्या गरेको प्रमाण पनि प्रहरीले पेश गर्न नसकेको भन्दै ‘बच्चा जन्मेपछि हातगोडा नचलाई मरेजस्तो देखिएकाले फालेकी हुँ’ भन्ने दावी दोहो¥याइन् । पुनरावेदन अदालत तुल्सीपुरले २०७० साल साउनमा १० वर्ष कैद ‘चर्को पर्न जाने’ ठह¥याई ७ वर्ष कैद फैसला ग¥यो । फैसलामा चित्त नबुझाई कडा सजायको माग गरेको प्रहरी र आफू निर्दोष दाबी गरेकी गगनमाया दुवै सर्वोच्च अदालत पुगे ।

सर्वोच्च अदालतले पुनरावेदन अदालतकै फैसला सदर गरिदियो । ‘गगनमायाले गडुरध्वज र आफ्नो उठबस भएको बताएकी छन् । अवैध गर्भधारणबाट बच्चा जन्मेको देखियो’ फैसलामा भनिएको छ, ‘गगनमायाले बच्चा मरेको अवस्थामा जन्मेको थियो भनेर पुष्टि हुने कागजात र देख्ने साक्षी समेत उपस्थित गराउन सकेको पाइँदैन । अवैध गर्भ र शिशुलाई लुकाउने उद्देश्यका साथ गाडेकाले मरेको शिशु नै जन्मेको थियो भनी पुष्टि हुनसकेको छैन ।’ उनी दाङ (तुलसीपुर) कारागारबाट कैदमुक्त भइसकेकी छन् ।

वर्जित सम्बन्धको परिणाम

शिशु हत्याका यस्ता अधिकांश घटनाको पृष्ठभूमि केलाउँदा विवाहइतर वा विवाहपूर्वका सम्बन्ध कारणको रूपमा देखापर्छ । सुनसरीको इटहरी तरहराकी अचला परियारका श्रीमान् भारतमा मजदूरी गर्थे । गाउँमा काम गर्न आएका शिलाबहादुर राजवंशीसँगको चिनाजानीपछि सम्बन्ध नजिकिंदै जाँदा उनको गर्भ रह्यो । “सात महीनाकी गर्भवती थिएँ, गाग्रोमा पानी बोकेर घरतिर जाँदा चिप्लिएर लडें, गाग्रो पेट माथि खस्यो” अचलाले भनिन्, “तीन दिनपछि मरेकै बच्चा जन्मियो, तिनै  शिलाबहादुरले लगेर पुरेछन् ।” अदालतले दोषी ठहर गरेपछि उनी मोरङ कारागारमा कैद भुक्तान गर्दैछिन् ।

काठमाडौंको खुसिबुका तकाजी प्रजापतिको घरको इनारमा नवजात शिशुको शव फेला प¥यो । त्यो घरमा गंगा खनाल बस्दै आएको र उनले बच्चा जन्माएर फालेको हुनसक्ने भनी प्रहरीले अनुसन्धान शुरू ग¥यो । गंगाले समुद्रबहादुर थपलियासँग विवाह गरेकी थिइन् । उनीसँगको सम्बन्ध राम्रो हुन नसकेपछि गंगा काठमाडौं आइन् र विभिन्न रेस्टुरेन्टमा वेटरको काम गरिन् ।

त्यही क्रममा सागर लामासँग उनको भेट भयो र उनले बिहे गर्ने आश्वासनका साथ शारीरिक सम्पर्क गरे र गंगा  गर्भवती भइन् । तर गर्भवती भएपछि सागरले बेवास्ता ग¥यो । अनि आफू अप्ठेरोमा पर्ने थाहा पाएपछि गंगाले शिशु जन्मेपछि भुईंमा ठोक्काएको अनि इनारमा फालेको भनी बयान गरिन् । जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद चर्को पर्न जाने भन्दै पाँच वर्षको कैद प्रस्ताव ग¥यो । पुनरावेदन अदालत पाटन र सर्वोच्च अदालतले पनि त्यसैलाई सदर ग¥यो ।

अचानोमा आमाहरू

नेपालको कानूनले कुनै पनि हाडनाता र नाबालकसितको यौन सम्पर्क बाहेक कुनै पनि यौन सम्बन्धलाई अवैध मान्दैन । कानूनले तोकेको अवधिभित्र गरिने गर्भपतनमा पनि कसको गर्भ थियो भन्ने कुरा सोधिंदैन । तर जब भ्रूणले शिशुको आकार ग्रहण गर्छ, त्यसपछि हुने गर्भपतन वा शिशुको हत्यापछि भने धेरै यौन सम्पर्क अवैध रहेको ठहर हुनपुग्छ ।

महिला र पुरुषबीच सहमतिमै यौन सम्पर्क भए पनि विवाहेतर सम्बन्धका कारण गर्भ ठहरेका प्रायः घटनाहरुमा गर्भको शारीरिक मात्र नभएर मानसिक र सामाजिक बोझ पनि महिलालाई मात्र परेको देखिएको छ । यस्ता सम्बन्धबाट जन्मिने शिशुलाई सामाजिक र कानूनी मान्यता पाउन गाह्रो हुने भएकाले नै फलतः विवाहेतरका सम्बन्धबाट जन्मेका शिशुहरूले अनाहकमा ज्यान गुमाइरहेका छन् । यस्ता घटना हुनुपूर्व ‘शारीरिक सम्बन्ध’ मा संलग्न हुने पुरुषहरू त्यसपछिको परिणाममा जिम्मेवारी लिनु नपर्ने सामाजिक मान्यताका कारण आमाले नै सन्तान हुर्काउने, बढाउने र उसलाई समाजमा स्थापित गर्ने चुनौतीको समेत सामना गर्नुपर्छ । सामाजिक अवगाल र लोकलज्जाबाट जोगिन कतिपय आमाहरूले यस्तो कठोर निर्णय लिने गरेका छन् ।

वैदेशिक रोजगारीबाट फर्केका मकवानपुर राईगाउँका  भुवनबहादुर पहारीको परिवारको कथा पनि यस्तै छ । ‘मेरी श्रीमती  जगतमाया पहरीले गर्भ बोकेको कुरा गाउँघरमा सुनी श्रीमतीसँग बुझ्दा उनले हुँदै होइन भनी जिकिर गरिन् । २०६६ साल पुस ९ गते उनले रगताम्मे कपडा धोई पखाली गरेको गाउँका महिलाले देखी सोधपुछ गर्दा अन्दाजी ४ बजे जिउँदो शिशु छोरी पाएकोमा लाजसरमले गर्दा शिशु छोरीको घाँटी निमोठी मारिदिएँ भनी भनेको कुरा म समेतले थाहा पाई घटनास्थल जाँदा शिशुलाई मारी ढुंगा स्याउलाले थिची पुरी राखेको अवस्थामा फेला पारें । सो बारेमा सोधपुछ गर्दा उनले हिमलाल भोलनसँगको सहवासबाट पेट बोकी छोरी जन्माई मारी फालेको हुँदा प्रहरीको सहयोगमा पक्राउ गरी यसै दर्खास्त साथ पेश गरेको छु ।’ पहरीले यही व्यहोरामा २०६६ साल पुस १० गते प्रहरीमा दिएको जाहेरीका आधारमा लास जाँच बरामद भयो ।

जगतमायाले अदालतमा आफूले दूधलालको गर्भ बोकेको स्वीकारिन् । “बच्चा जन्मँदा सास थियो, मैले छाडेर हिंडेपछि मरेछ” उनले भनिन्, “समाजबाट लाज बचाउन सो बच्चालाई छाडी गएकी हुँ ।” उसमा हिमलाललाई पनि प्रतिवादी बनाइयो । बयानमा जगतमायाले आफ्नो श्रीमान्ले कान्छी श्रीमती ल्याई आफूलाई हेला गरेको समेत बताइन् । जिल्ला अदालत मकवानपुरले जगतमायालाई सर्वस्वसहित जन्मकैदको सजाय चर्को पर्न जाने भनी ७ वर्ष कैद गर्ने फैसला ग¥यो । हिमलालले सफाइ पाए ।

सामाजिक स्वीकृति बेगरको सम्बन्धबाट गर्भधारण गरेका कतिपय किशोरीहरूले सन्तान जन्माउने हिम्मत समेत गरेका छन् । तर आफ्ना सन्तानका लागि उनीहरूले झेल्नुपर्ने चुनौती निकै कठोर छ । शिशुलाई विद्यालयमा भर्ना गर्नेदेखि नागरिकता लिन समेत कठिनाइ झेल्नुपर्छ । कठिन परिस्थितिको सामना गर्न नसकेर कतिपय महिलाहरू अपराधको स्थितिसम्म पुग्ने गरेको समाजशास्त्री निर्मला ढकालको बुझाइ छ ।

“विवाहइतरको सम्बन्धमा केवल महिलालाई मात्रै समाजले जिम्मेवार ठह¥याएको हुन्छ । घटना सार्वजनिक भएमा महिलालाई समाजले मान्यता दिंदैन र अपहेलना झेल्नुपर्छ” समाजशास्त्रकी अध्यापक ढकालले भनिन्, “यदि दिन्थ्यो भने यस्ता प्रकारको घटना हुने सम्भावना कम हुन्थ्यो । हत्याका घटना त झनै विरलै हुन्थे ।” सन्तानलाई नै काखी च्यापेर आत्महत्या हुने घटनाहरू पनि देखिएको भन्दै उनले पारिवारिक कानूनको परिमार्जनका क्रममा यस्ता समस्या सम्बोधन हुनुपर्ने बताइन् ।

 

 

२०० जेलम

मुलुकभर २० हजार ३२८ कैदी÷बन्दी रहेकोमा १९ हजार २१ पुरुष छन् भने १ हजार ३०७ महिला थुनामा रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । विभागका निर्देशक एवं प्रवक्ता कृष्णबहादुर कटुवालका अनुसार, “महिलामध्ये ३६३ जना कर्तव्य ज्यानको अभियोगमा कैदमा परेका हुन् ।” कर्तव्य ज्यानकै मुद्दामा पनि आफैंले जन्माएका नवजात शिशुहरूको हत्याका कारण जेल बसेका आमाहरूको यकिन तथ्यांक भेटिंदैन । देशभरका कारागारमा कति आमाहरू शिशु हत्याको अभियोगमा जेलमा छन् भन्नेबारे कारागार व्यवस्थापन विभागसँग यकिन तथ्यांक छैन ।

“हरेक व्यक्तिको मुद्दाको मिसिल नपल्टाई कुनै कैदी÷बन्दी शिशुको हत्याको अभियोगमा कैद भुक्तान गरिरहेका छन् भन्ने छुट्याउनै सकिंदैन” प्रवक्ता कटुवालले भने, “सरसर्ती हेर्दा कर्तव्य ज्यानको अभियोगका महिला कैदीमध्ये आधाभन्दा बढी शिशु हत्यासँग सम्बन्धित रहेको अनुमान गर्न सकिन्छ ।” यसरी हेर्दा देशभर २०० भन्दा बढी महिला बन्दीहरू आफ्नै सन्तानको ज्यान लिएको अभियोगमा कारागारमा जेल जीवन विताइरहेका छन् ।

कर्तव्य ज्यानको मुद्दामध्ये नवजात शिशु हत्याको अभियोगमा दोषी ठहर भएका अधिकांश मुद्दामा जन्मकैदको प्रस्ताव भए पनि अदालतबाट आरोपितलाई ‘चर्को पर्न जाने’ ठहरका साथ कैद सजायलाई ७ देखि १० वर्षसम्म सीमित गरेको पाइन्छ । कारागार व्यवस्थापन विभागका प्रवक्ता कटुवालका अनुसार, २०७५ भदौ १ गते नयाँ फौजदारी संहिता जारी हुनुअघि, ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएका कैदीबन्दीहरूलाई बाँकी सजाय मिनाहा दिने व्यवस्था थियो । सो व्यवस्था अनुसार शिशु हत्याका आरोपितहरू कैद सजाय पाएको साढे २ वर्षदेखि ४ वर्षसम्ममा बाहिर निस्किसकेका हुन्छन् । विभागका अधिकारीहरूको अनौपचारिक भनाइलाई आधार मान्ने हो भने हरेक वर्ष ४०÷५० आमाहरू अवैध सम्बन्ध पछि जन्मिएको शिशु हत्याको अपराधमा जेल पुगिरहेका छन् ।

उन्मुक्त बाबुहरू

फौजदारी न्यायप्रणाली अनुसार, कसुरमा जो संलग्न छ उसैले सजाय भोग्नुपर्छ । प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न नहुनेहरूलाई सजायको भागीदार बनाउन मिल्दैन । यही मान्यताबाट हेर्दा सामाजिक स्वीकृतिविनाको सम्बन्धबाट जन्मेका शिशुको हत्याका अधिकांश घटनामा प्रत्यक्षतः आमा संलग्न हुन्छन् । त्यसक्रममा संलग्न ‘बाबुहरू’ सामाजिक प्रश्नबाट टाढा रहने भएकाले शिशुमाथिको दायित्वबाट उनीहरू उम्किन्छन् । फलतः चौतर्फी घेराबन्दीमा परेका आमाहरू आफ्नो इज्जत जोगाउने प्रयासमा अबोध शिशुको जीवनमा पूर्णविराम लगाई  अझ डरलाग्दो परिणाममा पु¥याउने अपराध गर्न पुग्छन् ।

वरिष्ठ अधिवक्ता मीरा ढुंगानाको मतमा यस्ता अपराध हुनुमा महिला मात्रै दोषी हुन्नन्, तर समाज र कानूनी व्यवस्थाले प्रमाणको भार आमामाथि पु¥याउँछ । ‘घटनाको फेहरिस्तबारे महिला जानकार भएपछि अपराधमा संलग्न भएकाहरूको बारेमा जानकारी दिन असमर्थ हुन्छन्, जानकारी दिएपछि कसैले पत्याउँदैन र त्यो विश्वसनीय बन्दैछ’ यस्ता घटनाको कानूनी प्रतिरक्षा गरिरहेकी ढुंगाना भन्छिन्, “यस्ता किसिमको घटना अनुसन्धान गर्दा, सम्बन्धित निकायले नै महिलालाई दोषी किटान गरेको हुन्छ । प्रहरीबाट हुने अनुसन्धानको दायरा पनि फराकिलो भएको देखिंदैन ।”

ढुंगानाको टोलीले दुई वर्षअघि यस विषयमा अध्ययन गर्दा १४ वटा जिल्लामा दुई जना पुरुष शिशु हत्यामा संलग्न भई जेलमा सजाय काटिरहेको भेटिएको थियो । कतिपय अवस्थामा त गर्भावस्थामा शिशुको मृत्यु भएको घटनामा समेत परिवारले सुत्केरीविरुद्ध किटानी जाहेरी दिएकाले शिशु हत्यामा दोषी ठहर गरी कैद सजाय भोगिरहेका छन् ।

तनहुँको हाडनाता जोडिएको घटनामा ‘दुवै पक्ष एकै परिवारको भएको हुँदा अपराध लुकाई राखी घरमा नै क्षतिपूर्ति दिलाई तेजकुमारीले बच्चाको स्याहारसुसार गर्दै आएकी थिइन् । ‘मेरै माइला बाबुका छोराले घरमा कोही नभएको बेला मलाई जबर्जस्ती गरी गर्भ बोकाएको हो’ उनले भनेकी छन्, ‘पछि बताउँदा तिमीले यो कुरा कसैलाई नभन म व्यवस्था गर्छु भनी उसले भनेको हो ।’ उनले गर्भपतन गर्न खोज्दा रकमको अभावले गर्भपतन गर्न नसकी छोरीको जन्म भएको खुलेको थियो । त्यसक्रममा कहरबहादुरको नाममा म्याद जारी भए पनि गुज्रिएर बसेको रहेछ । शिशु हत्या बाहेक हाडनाता करणीको मुद्दा पनि अदालतमा विचाराधीन थियो । प्रहरीले कहरबहादुरलाई पनि विपक्षी बनाएको थियो तर उनको हकमा भने अदालतको फैसलामा कुनै उल्लेख छैन ।

यस्ता मुद्दाहरूको सरकारी पक्षबाट कानूनी प्रतिरक्षा गरेकी रमा पराजुलीका अनुसार, अदालतले यस्ता घटनामा मुख्यतः तीन किसिमबाट हेरेको पाइन्छ । शिशु हत्याका क्रममा केटा वा केटी, कसको संलग्नता थियो भन्ने परीक्षण हुन्छ । ‘अवैध सम्बन्धबाट बच्चाको जन्म भएर बयानका क्रममा केटाले हत्या गर्न उक्साएको हो भने पनि अनुसन्धानका क्रममा संलग्न नदेखिए कारबाहीको मागदाबी गर्न मिल्दैन’ सह–न्यायाधिवक्ता पराजुली भन्छिन्, ‘सबै प्रमाण जुटेपछि मात्रै निक्र्योल हुन्छ । ज्यान मारेको भेटिए मात्रै जन्मकैदसम्मको सजाय हुने हो ।’

पूर्व डीआईजी हेमन्त मल्लका अनुसार, नेपालको सामाजिक परिवेश र कानून व्यवस्थाका कारण समेत सन्तान जन्माउने आमाकै हातबाट शिशुको हत्या भएका घटना भेटिन्छन् । ‘दुवै पक्षको सहमतिमा सम्बन्ध भएको र त्यसको आधारमा गर्भधारण भएको भेटिन्छ । शिशु मार्ने काममा संलग्न नभएको अवस्थामा केटा पक्षलाई ‘शारीरिक सम्बन्ध’ कै कारणले हत्याको आपराधिक दायित्वमा जोड्न मिल्ने व्यवस्था छैन’ मल्ल भन्छन्, ‘आपराधिक मनसाय नभए पनि कतिपय आमाहरूले परिवार र समाजको डरले सामाजिक स्वीकृतिविनाको सम्बन्धबाट जन्मेका सन्तानलाई पन्छाउनु नै तत्कालका लागि समाधान ठान्छन् । अनि यस्ता घटना बारम्बार हुने गरेका छन् ।’ यस्ता घटनामा पुरुषको संलग्नता भेटिने उदाहरण विरलै फेला पर्ने उनको अनुभव छ । विवाहपूर्वको सम्बन्ध र त्यसको परिणामको सम्पूर्ण दोष महिलामा थोपर्ने सामाजिक संरचना छ । त्यस्ता सन्तानलाई समेत सहजताका साथ अस्वीकार गर्ने समाजले अप्रत्यक्ष रूपमा यस्ता घटनालाई प्रेरित गरेको मल्ल बताउछन् ।

इन्दिरा अर्याल: खोज पत्रकारिता केन्द्रका लागि

Related posts

Leave a Comment