भरतपुर अस्पतालः डाक्टर अभावमा शव परीक्षणमा समस्या


प्रनिश थापा, चितवन।
चितवनको भरतपुर अस्पतालमा फरेन्सिक विशेषज्ञ डाक्टर नहुँदा शव परीक्षणमा समस्या हुने गरेको छ । चितवन जिल्लासहित तनहुँ, नवलपुर र मकवानपुरको मनहरी क्षेत्रसम्मको शवको पोस्टमार्टम गर्दै आएको अस्पतालले पछिल्लोसमय फरेन्सिक विशेषज्ञ डाक्टरको अभाव भोग्दै आएको हो । कहिँलेकाहींं त डाक्टर नभएकै कारणले पनि शव परीक्षणमा समस्या हुने गरेको भरतपुर अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले बताए । शव परीक्षणमा समस्या भएको बारे हामीले विभाग, मन्त्रालयमा डाक्टर पठाइदिनका लागि भनेका छौँ, तर अहिलेसम्म सुनुवाइ भएको छैन’, उनले भने । ‘कुनै समय अन्य जिल्लाको तुलनामा भरतपुर अस्पताल सुविधायुक्त भएकाले यहाँ शव पोस्टमार्टमका लागि ल्याउनु ठीक थियो’, अहिले ‘छिमेकी जिल्लाहरुमा पनि ५० बेडको अस्पताल र आवश्यक डाक्टरहरु रहेका छन्, अब भरतपुर अस्पताल ल्याइरहनु पर्दैनन् ।’

उनले भने, अन्य जिल्लामा भएका घटनाका सम्बन्धमा भरतपुर अस्पतालका डाक्टरहरुले शव परीक्षण गर्दा मुद्दामामिला भएको अवस्थामा सम्बन्धित जिल्लाको अदालतमा हाजिर हुनुपर्ने बाध्यताले पनि हाम्रो नियमित काममा असर गरेको छ’ । ६ सय शय्यामा रहेको उक्त अस्पतालमा दैनिक ३ जनाको शव पोस्टमार्टम हुने गरेको छ भने १२ वटा शव राख्ने क्षमता भएको शवगृह रहे पनि बेवारिसे शव धेरै हुँदा कहिलेकाहीँ शवहरु खप्टाएर राख्नुपर्ने बाध्यता रहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए । दुर्घटना र अन्य घटनाका शवहरु आफन्तले बुझेर लैजाने गरेको उनले बताए ।

शव परीक्षणको काम निजी अस्पतालले  गर्दै  
यसैबीच , भरतपुर अस्पतालले शव परीक्षणमा समस्या आएपछि तत्कालका लागी निजी अस्पतालले हेर्ने गरी काम अगाडि बढाएको जनाएको छ । अस्पतालले फरेन्सिक डाक्टर वीरेन्द्र मण्डलको ५ महिना अगाडि सर्लाही अस्पतालमा मेसुका रुपमा सरूवा भएर गएपछि अस्पतालमा अर्को फरेन्सिक डाक्टरको नियुक्ति नभएसम्मका लागी निजी मेडिकल कलेजमा कार्यरत डाक्टरले शव परीक्षणको काम गरिरहेको बताएको छ । सो अस्पतालमा दरबन्दी हुँदा पनि पोस्टमार्टम परीक्षणका लागि फरेन्सिक विशेषज्ञ डाक्टर नहुँदा निजी मेडिकल कलेजबाट विशेषज्ञ नियुक्त गरी पोस्टमार्टम गर्ने काम भइरहेको जनाएको हो । चितवन मेडिकल कलेजका प्रोडा तेजप्रसाद चटौतले अहिले भरतपुर अस्पतालमा गई दैनिकजसो शव पोस्टमार्टम गर्ने गरेका छन् । एउटा शव परीक्षण गरेबापत डा चटौतले अस्पताल विकास समितिबाट ५ सय र नेपाल सरकारबाट ५ सय रूपैयाँ अतिरिक्त रकम लिने गरेका छन् । मेडिकल कलेजहरुमा फरेन्सिक मेडिसिन अध्ययन हुने हुँदा यहाँ विशेषज्ञ फरेन्सिक डाक्टरहरु रहने गरेका छन् ।


Related posts

Leave a Comment