पार्टी विभाजनपछि रवीन्द्र मिश्रले भने– ‘अलग्गिएका साथीहरुसँग कुनै बिन्दूमा फेरि मिलन हुन्छ’


विवेकशील साझा पार्टीले छुट्टिएका पार्टी सदस्यलाई औपचारिक संवादको लागि आग्रह गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक रवीन्द्र मिश्रले असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला रहेको बताउँदै चित्त नबुझेको विषयमा औपचारिक वार्ता गर्न आग्रह गरेका छन्। उनले पार्टीमा आएको विभाजनले कार्यकतामा चिसोपना ल्याएको बताएका छन् । उनले अझै पनि विवेकशील साझा पार्टी नै नेपालको वैकल्पिक पार्टी रहेको बताउँदै यसपटक केही जटिलता आएपनि कुनै बेला फेरि एउटा बिन्दूमा मिल्न सकिने बताए। उनले भने, ‘२०४६ सालको आन्दोलनपछि समाजमा रहेका केही राम्रा मान्छेले वैकल्पिक पार्टीको प्रयास गरेका थिए। तर उनीहरु सफल हुन सकेनन्। तर हामी त्यो भन्दा माथि उठ्छौं भन्ने थियो। तर यसपटक केही जटिलता आयो। एउटा बिन्दू आउँछ। फेरि हामी मिल्छौं। त्यो मिलन बिन्दूबाट झन् सशक्त हुनेछौं।’

मिश्रले आफूहरु नजानेको यात्रामा (राजनीति) हिँडेको भन्दै त्यक्रममा दुवै पक्षबाट कमजोरी भएको बताए । उनले भने, ‘नजानेको यात्रामा हामी सँगै हिँड्दा हाम्रो तर्फबाट कमजोरी भए होलान् । उहाँका तर्फबाट पनि भए होलान्। सँगै हुँदा केही राम्रा कुराहरु पनि भएका छन् होला । ’

उनले अलग्गिएर जाने पार्टी सदस्यहरुसँग प्रेम अझै बाँकी रहेको बताउँदै उनीहरुसँग कुनै इर्ष्या, द्वेष, रिस, आग्रह र पूर्वाग्रह नरहेको बताए। आर्थिक पारदर्शिताका बारेमा आफूहरूमाथि अनेक आक्षेप लगाएको भन्दै त्यसबाट आफू निकै दुःखी भएको मिश्रको भनाइ छ । उनले अघि भने, ‘त्यसैगरी मैले पनि आरोप लगाएँ भने धेरै आरोपहरु लगाइनसक्छ । तर म त्यस्तो हिलो छ्यापाछ्याप गर्ने पक्षमा छैन । तपाईँहरुले बेस्कन उक्साउनुभयो भने पनि म त्यो काम गर्दिनँ ।’


Related posts

Leave a Comment