खानेपानी मन्त्री बिना मगरले कर्मचारीहरुलाई विदेश भ्रमणमा जान रोक लगाइन्


काठमाडौं । खानेपानी मन्त्री बिना मगरले खानेपानी मन्त्रालय र मातहतका निकायका कर्मचारीहरुलाई विदेश भ्रमण जानमा रोक लगाएकि छिन् ।

खानेपानी मन्त्रालय सिंहदरबारमा मंगलबार आकस्मिक बैठक बोलाउँदै मन्त्री मगरले कर्मचारीहरुको अनावश्यक विदेश भ्रमणमा रोक लगाएकि हुन् । उनले मन्त्रालयका सचिव, सहसचिव र मन्त्रालय मातहतका विभिन्न निकायका विभागीय प्रमुखहरुलाई मन्त्रालयमा बोलाई अनावश्यक विदेश भ्रमण रोक्न निर्देशन दिइन् ।
बैठकमा बोल्दै मन्त्री मगरले अहिले काम गर्नुपर्ने बेला आएकोले अनावश्यक हुने गरेको भ्रमण रोक्नु अति आवश्यक रहेको बताइन् । उनले कर्मचारीहरुलाई निर्देशन दिंदै भनिन्, ‘अहिले काम गर्ने बेला हो । मिडियामा विदेश भ्रमणको सन्दर्भमा विभिन्न कुराहरु आएका छन् । यस्ता स साना कुराले हामीलाई अप्ठ्यारो पार्छ । अति आवश्यक भए मात्र भ्रमणमा जाने हो नत्र भ्रमणमा नजानुहोला ।’
उनले बैठकमा भनिन्, ‘म आफैं पनि भ्रमणको आवश्यकता हेरेर मात्र जान्छु नत्र जाँदिन । तपाईंहरु पनि नजानु होला । अति आवश्यक भए मात्र भ्रमण स्वीकृत हुन्छ नत्र हुँदैन ।’ सो अनुसार गर्न उनले मातहतका अधिकारीहरुलाई निर्देशन दिइन्।

देशै भरि ढलको अनुगमन हुने

यसैगरी खानेपानी मन्त्रालयले देशैभरि ढलको अनुगमन गर्ने भएको छ । मन्त्रालयको मंगलबारको बैठकमा मन्त्री बिना मगरले देश भरि नै ढलको समस्या बढ्दै गएको भन्दै व्यावसायिक अपार्टमेन्ट, अस्पताल लगायत विभिन्न क्षेत्रका ढलहरुको अनुगमन गर्ने बताइन् । प्रारम्भिक प्रशोधन गरेर मात्र ढल फाल्नु पर्ने नीति गत व्यवस्था गर्न लागिएको उनले जानकारी दिइन् ।

मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका अस्पताल, उद्योग, अपार्टमेन्ट र संयुक्त आवासको ढल अनुगमन गर्न विशेष कार्यदल समेत गठन गरेको छ । खानेपानी तथा ढल निकास विभागकी उपमहानिर्देशक मीना श्रेष्ठको संयोजकत्वमा ढल अनुगमन तथा निरीक्षण व्यवस्थापन कार्यदल गठन गरिएको हो ।


Related posts

Leave a Comment