चौथो पटक शिलान्यास गरिएको बसपार्क निर्माणको काम पुनः अवरुद्ध


अनिल पोखरेल, राजविराज ।
तीन पटकसम्म असफल भई चौथो पटक शिलान्यास गरिएको ‘राजविराज बसपार्क’ निर्माणको काम पुनः अवरुद्ध भएको छ । निजी जग्गा हडपेको भन्दै स्थानीय केही व्यक्तिले राजविराज नगरपालिका विरुद्ध अदालतमा मुद्दा दर्ता गराएपछि निर्माण कार्य प्रभावित बनेको हो । उच्च अदालत जनकपुर, राजविराज इजलासले गत कात्तिक २६ गते नगरपालिकाका नाममा निषेधाज्ञा जारी गरेको थियो ।

सुरुतीकुमारी, शुभनारायण दास, विष्णुप्रसाद सिंह, रिता दास, घनश्याम दास, रामकुमार दास र ललितादेवी दासले बसपार्क निर्माणका क्रममा आफूहरूको जग्गा हडपेको भन्दै नगरपालिका विरुद्ध मुद्दा दर्ता गराएका छन् । क्रमिकरुपमा एक पछि अर्को मुद्दा पर्न थालेपछि काम गर्ने वातावरण नभएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख रमेश थिङले बताए । ‘एकै पटक ५ वटा मुद्दा खेप्दैछौं,’ उनले थपे, ‘निवेदकले माग दाबी नगरेको भागमा काम हुँदै थियो ।
२०४४ साल माघमा पहिलो पटक राष्ट्रिय उद्यानसहितको बसपार्क निर्माणका क्रममा नगरपालिकाले व्यक्तिसँग पनि जग्गा सट्टापट्टा गरेको र तिनै व्यक्तिले अहिले पुरानो जग्गामा दाबी गर्न थालेपछि समस्या बढेको थिङको भनाइ छ ।

नगरपालिकाले दिएको जग्गा पनि उनीहरू नै भोग चलन गरिरहेका छन् नगरपालिकालाई दिएको जग्गामा पनि दाबी छोडेका छैनन् उनले भने, ‘कागजी रूपमा नगरपालिका कमजोर हुँदा समस्या आयो ।’  बसपार्क निर्माणका लागि वडा नं.२ मा ४ बिघा १४ कट्ठा जग्गा २०३६ सालपछि मात्रै राजविराज नगरपालिकाको स्वामित्वमा आएको हो । ४/५ वर्षअघिसम्म पनि जग्गाको स्वामित्वको विषयमा सर्वोच्च अदालतमा मुद्दा चलेको थियो ।  पुराना जमिन्दारहरूले आफन्त र कामदारका नाममा जग्गा राख्ने चलनअनुसार काम गर्ने मानिसको नाममा राखिएको जग्गा जबरजस्ती कब्जा गरिएको भन्दै २०५१/५२ मा सर्वोच्चमा मुद्दा परेको थियो । तर, २०६९/७० सालमा सर्वोच्चले मुद्दा खारेज गरेपछि जग्गाको स्वामित्व नगरपालिकामा आएको हो । एक पूर्व जनप्रतिनिधिका अनुसार २०२४/२५ सालसम्म तत्कालीन राजविराज–१ निवासी अमरसिंह चौधरीको नाममा रहेको साढे ३ बिघा जग्गा जिम्दार (पोत) नबुझाएका कारण लिलाम भएको थियो ।

मलेठ निवासी मोहन मण्डलले लिलाम सकारे पनि सो अनुसारको रकम नबुझाउँदा लिलाम खारेज भयो । स्वतः सरकारी स्वामित्वमा गएको सोही जग्गा यति बेला बसपार्कका लागि तयार गरिएको हो । सहरी विकास मन्त्रालयको १७ करोड लागतमा निर्माण हुन लागेको बसपार्कको मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले २०७४ माघ २६ गते संयुक्त रूपमा शिलान्यास गरेका थिए ।  २०७७ पुस १८ भित्र सम्पन्न गर्ने गरी काठमाडौँको कुलेश्वरस्थित सिनर्जी विल्डर्स प्रालिले निर्माणको ठेक्का लिएको छ ।

बसपार्कमा सेड, घण्टाघर, भित्री सडक, सर्भिस सेन्टर, शौचालय, टर्मिनल भवन तथा वाउन्ड्रिवालसमेत गरी भ्याट बाहेक १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुपैयाँ लागतको योजना छ । पटक–पटक शिलान्यास हुने तर काम पूरा नहुने समस्या खेप्दै आएको बसपार्क निर्माणको काम फेरि रोकिएपछि स्थानीयवासी चिन्तित छन् ।  २०४४ साल माघमा तत्कालीन प्रधानमन्त्री मरीचमान सिंह, २०४६ सालमा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन बलि र २०५२ साल असारमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बसपार्कको शिलान्यास गरेका थिए ।


Related posts

Leave a Comment