कृषि र पर्यटन चितवन समृद्दीका आधार: चन्द्र प्रसाद ढकाल


आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाई स्थानीय नागरिकको आर्थिक उपार्जन बढाउन भूमिका खेल्ने बताएका छन् । १२ औँ चितवन महोत्सवमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष समेत रहेका ढकालले चितवनलाई पहिला ७६ औँ जिल्लाको रूपमा लिइने गरिएको उल्लेख गर्दै यस्ता महोत्सवले आर्थिक उपार्जनमा मद्दत पुग्ने बताए ।
प्राचीन ऋषिहरूको तपस्या स्थल देवघाटलाई केन्द्र बनाएर धार्मिक पर्यटनको प्रवद्घन गर्न सकिने उनले बताए । जङ्गली जनावरको मुख्य वासस्थान सौराहामा आउने विदेशी पर्यटकहरूको बसाइँ लम्ब्याउन सकिन्छ । त्यसका लागि चितवन र चितवन आसपासका सम्भावित पर्यटकीय क्षेत्रहरू जस्तै नगर बन, मौला काली, देवघाट जस्ता क्षेत्रहरूमा सुविधा सम्पन्न पर्यटकीय पूर्वाधारहरू बनाउन जरुरी छ । ढकालले भने जल मार्ग, स्थल मार्ग, केबुलकार र होटलहरुको निर्माण गरी समग्र पर्यटन उद्योग र स्थानीय रोजगारीमा चितवनले महत्त्वपूर्ण योगदान दिन सक्छ ।
चितवनमा उत्पादन हुने कृषि उपजको उचित भण्डारण, केरा, तरकारी, दूध, मह र कुखुराको उत्पादनलाई वितरण गर्ने बजारको खोजी गरी यहाँका स्थानीय कृषकहरूको आर्यआर्जनलाई बढाउन सकिने उनको जिकिर छ । चितवन शिक्षाको हबको रूपमा समेत विकसित हँुदै गएकोमा ढकालले प्रसन्नता व्यक्त गरे ।
पूर्व प्रधानमन्त्री एवम सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले महोत्सवको उद्घाटन गरे । पुस २५ गतेदेखि माघ ४ गतेसम्म १० दिन सञ्चालन हुने १२ औँ चितवन महोत्सवलाई आईएमई ग्रुप र ग्लोबल आईएमई बैङ्कले सह–प्रायोजन गरेका छन् ।


Related posts

Leave a Comment