‘ए’ डिभिजन लिग : च्यासल र एपीएफ बराबरीमा रोकिए


राजधानीमा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा १० खेलाडीमा झरेको च्यासल युथ क्लब र एपीएफ क्लबले १ – १ गोलको बराबरी खेलेका छन । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा च्यासलले एक गोलको अग्रता जोगाउन सकेन । खेलको ३० औं मिनेटमा सन्त बहादुर गुरुङले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए ।

विश्व अधिकारीले प्रहार गरेको बल एपीएफका सन्तोष कुमार कटवालले गोल लाईनबाट बचाएपनि रिबाउण्डमा सन्तले गोल गरेका थिए । खेलको ४१ औं मिनेटमा एपीएफले पेनाल्टी पाएपनि उसका सुदिप शिख्राकारको प्रहार च्यासलका गोलकिपर दिनेश थापाले बचाए । पहिलो हाफमा १ – ० ले पछि परेको एपीएफले ५४ औं मिनेटमा खेल बराबरीमा पुर्यायो । उसका श्याम कुमार नेपालीले गोल गर्दै एपीएफलाई हारबाट जोगाए ।

७७ औं मिनेटमा गौरव बुढाथोकी रातो कार्ड पाउँदा च्यासल १० खेलाडीमा समेटिएको थियो । तर, एपीएफले त्यसको फाइदा उठाउन सकेन र बराबरीमा चित्त बुझायो । बराबरीसंगै एपीएफले १७ अंक बनाएको छ । च्यासलको १५ अंक छ ।


Related posts

Leave a Comment