कम्युनिष्ट सरकारले नै देश समृद्ध बनाउँछ : नारायणकाजि श्रेष्ठ


आलोक यादव, सिरहा ।
नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले कम्युनिष्ट सरकारले नै देश समृद्ध बनाउने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका वडा न ५ बस्तीपुरमा आयोजित किसान नेता जय गोविन्द साहको २९ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘यही सरकारले नेपाललाई समृद्ध बनाउँछ, त्यसैले सरकारले गरेका राम्रो कामको प्रशंसा गर्दै खराब कामहरूको आलोचनात्मक ढङ्गले विरोध गर्नुपर्ने हुन्छ ।’ नेताहरू बिचको मतभेदको कारण सरकार फेरिन्छ भन्ने धेरैलाई लागेको हुनसक्ने बताउँदै नेता श्रेष्ठले सरकार परिवर्तको कुनै सम्भावना नभएको भन्दै प्रधानमन्त्री केपी ओली नेतृत्वले नै पाँचवर्ष सरकार चलाउने बताए ।  हाम्रो राष्ट्रिय अखण्डतालाई टुकर्याउन खोज्ने, देशलाई विखण्डन गर्न खोज्ने कुनै पनि तत्त्व र शक्ति सैह्य नहुने श्रेष्ठले बताएका छन् । विखण्डनकारी विरुद्ध एक ढिक्का हुनुपर्ने भन्दै नेता श्रेष्ठले त्यसको नेतृत्व आफ्नो पार्टी र सरकारले गर्ने बताए ।

स्मृति दिवसलाई सम्बोधन गर्दै नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले अहिलेको सरकारले कानुन अभावमा धेरै काम गर्न नसकेको बताए ।  उनले अहिलेको सरकार परिवर्तन मात्र नभएर संयन्त्र सहितको परिवर्तन भएको भन्दै हामीले नै नयाँ कानुन बनाउँदै कामलाई अगाडी बढाउनुपर्ने भएकाले काम नभएको जस्तो मात्र देखिएको बताए ।  सरकारले फागुन मसान्तभित्र सबै कानुन बनाएर विकास निर्माणका कामलाई तीव्रता दिने मन्त्री पोखरेलले बताएका छन् । उनले आफ्नो सरकारले आफ्नो कार्यकालमा चुनावी घोषणापत्रलाई पुरै कार्यान्वयन गर्ने जनाए । उनले भने, ‘हामीले सामाजिक सुक्षाभत्ता पाँच हजार बनाउने भनेका छौँ, त्यो यही सरकारले पुर्‍याउँछ ।’ सोही क्रममा मन्त्री ईश्वर पोखरेलले कमला सुनकोशी डाइर्भसन र सुनकोशी मडिन डाइभर्सनको कामलाई अगाडी बढाएर तराइको उर्वर जमिनमा सिँचाइ गरिने बताए ।

मन्तव्यका क्रममा मन्त्री पोखरेलले अङ्गीकृत नागरिकता बाँडेर नेपाली जनतालाई नै अल्पमतमा पार्ने पक्षमा सरकार नरहेको बताए । उनले भने, अङ्गीकृत नागरिकताको भेल बाढी बगाएर नेपाली जनतालाई अल्पमतमा पार्न चाहन्नौँ, ‘सरकारले विदेशी बुहारीलाई भने अङ्गीकृत नागरिकता दिने निर्णय गरिसकेका छौँ ।’  नेपाल बहुजाती, भाषा, धर्म भएको देश भएको भन्दै मन्त्री पोखरेलले हिन्दीभाषाको प्रवेश गराएर आफ्नै मैथिली भाषाको हत्या गर्न नदिने बताए । किसान नेता जय गोविन्द साहको २०४६ साल पुस २५ गते निधन भएको थियो । भारतको जयनगरमा निधन भएका उनको शव तत्कालीन राजतन्त्रात्मक सरकारले नेपाल ल्याउन समेत दिएको थिएन ।


Related posts

Leave a Comment