देवघाटधाममा हुने मेलाको तयारी अन्तिम चरणमा


प्रनिश थापा, चितवन ।

माघे संक्रान्तिको अवसरमा देवघाटधाममा हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । देवघाट क्षेत्र विकास समितिको समन्वयमा आज जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर तालिम केन्द्रबाट प्रहरी जवानसहित विभिन्न सङ्घ संस्थाको सहभागीतामा देवघाटको वेणी सङ्गममा सरसफाइ गरिएको छ ।

साथै, चितवनतर्फको देवघाट क्षेत्रको किनारमा भने नेपाली सेना र सशस्त्र प्रहरीहरू समेतले सरसफाइ गरेको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि माघे संक्रान्तिमा हुने देवघाट मेलाको पूर्व सन्ध्यामा देवघाटधामको वेणी सङ्गममा सरसफाइ गरिएको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर तालिम केन्द्रका प्रहरी नायव उपरीक्षक भरत बहादुर विश्कर्माले जानकारी दिए । हरेक वर्षको माघे संक्रान्ति मेलामा जस्तै यस वर्ष पनि भक्तजनहरूलाई मध्यनजर गरेर समुचित प्रबन्ध सहित मेलालाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न तयारी गरिरहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

अध्यक्ष पौडेलको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल व्यवस्थापन समिति र मेला व्यवस्थापनका लागि सुरक्षा, स्वास्थ्य, खाने पानी, सरसफाइ, विद्युत्, ट्राफिक जस्ता विभिन्न २३ सदस्यीय उपसमिति गठन गरेर तयारी तीव्र रूपले भइरहेको उनले बताए । पौडेलका अनुसार यस वर्ष मेला भर्न नेपाल र भारतका विभिन्न स्थानबाट गरी कम्तीमा पनि ५ लाख भक्तजनहरू देवघाट आउने अनुमान गरिएको छ । हरेक वर्ष मेला भर्नेको सङ्ख्या बढ्दै गएको हुँदा मेला व्यवस्थापनमा चुनौती समेत थपिँदै गएको उनको भनाइ छ ।


Related posts

Leave a Comment