इराकमाथि अमेरिकी आक्रमण, २१औँ शताब्दीको सबैभन्दा ठूलो अपराध


आजभन्दा १५ वर्षअघि जर्ज डब्ल्यु बुस प्रशासनले आधुनिक इतिहासको सबैभन्दा ठूलो विध्वंसात्मक हमला इराकमाथि ग-यो । यसरी अमेरिकाले इराकलाई नरकमा परिणत ग-यो । इराकमाथि आक्रमण सुरु गर्ने क्रममा बुसले इराकी जनताको स्वतन्त्रताको दिन टाढा नभएको घोषणा गरेका थिए ।

स्वतन्त्रताका लागि इराकी जनताको लडाइँ सुरु भएको जिकिर उनको थियो । तर, अमेरिकी हमलाले इराकमा प्रजातन्त्र तथा मानवअधिकारको प्रत्याभूति गराउनुको सट्टा सैनिक हस्तक्षेपका कारण इराक ध्वस्त भएको छ । लाखौँ इराकी जनता त्रासमा बाँचेका छन्, जुन त्रासलाई विश्वमा सायदै अरूले भोगेका वा कल्पना गरेका होलान् ।

         
युद्धका कारण इराक अस्तव्यस्त भएको छ । देश नै युद्धभूमिमा परिणत भएको छ । शक्तिका लागि विपक्षी लडाकु समूहबीचको युद्ध र विदेशी शक्ति तथा राजनीतिक पार्टीको संलग्नताले प्रश्रय पाएको छ । तर, यी सबै पक्षले इराकी जनतालाई बेवास्ता गरेका छन् । इराकमाथिको अमेरिकी हमलाले इराकी भूमिमा मात्र असर गरेको छैन, विश्वव्यापीस्तरमै यसको नकारात्मक प्रभाव परेको छ ।

अमेरिका इराकी जनताका लागि प्रजातन्त्र स्थापना गर्न असफल भएसँगै इराकमा उग्रवादी विचार र गतिविधि उदाएका छन् । इराकमा इस्लामिक स्टेट (आइएस) र लेभान्टेजस्ता अतिवादी हतियारधारी समूहको उदयलाई उदाहरणका रूपमा लिन सकिन्छ । अर्कातर्फ, इराक हमलाका कारण युरोपमा शरणार्थी संकट निम्तिएको छ ।

तर, यस्तो संकटबाट पश्चिमा शक्ति पन्छिने प्रवृत्ति देखिएको छ । इराकका बाथवादी सत्ता हिंस्रक र दमनकारी भएकोमा कुनै शंका छैन । तर, अमेरिकी हमलापछि उक्त सत्ता परास्त भएसँगै वातावरण झनै खराब बनेको छ । अलकायदा तथा आइएसलगायत अतिवादी लडाकु समूह झनै शक्तिशाली बनेका छन् ।

अमेरिकी हमलाअघिको इराकी सत्ताले अलकायदालाई निस्तेज बनाएको थियो । तर, हमलापछि अलकायदाले फस्टाउने वातावरण पायो । जर्ज बुसले ‘आतंकवादविरुद्धको लडाइँ’ भन्दै थालेको अभियानको प्रतिवाद गर्न र अमेरिकाविरुद्ध लड्न अलकायदाले विश्वभरका मुसलमान लडाकुलाई अलकायदामा सम्मिलत हुन आह्वान ग-यो । सन् २००३ अघिसम्म इराकमा अलकायदाको अस्तित्व लगभग शून्यप्रायः थियो ।

तर, इराक हमलापछि अलकायदा अत्यन्तै शक्तिशाली लडाकु शक्ति बन्न पुग्यो । अलकायदाले विश्वभरबाट ठूलो संख्यामा लडाकु भर्ती ग-यो । हमलापछिको इराकमा भएको शक्ति रिक्तताको वातावरणको फाइदा उठाउँदै अबु मुसाब अल जक्र्वाबीजजस्ता व्यक्ति रातारात शक्तिशाली बन्न पुगे ।

इराकमा सिया मुसलमान र सुन्नी मुसलमानबीच विभाजन ल्याएर यी दुई समुदायबीच हिंसा मच्चाएको आरोप उनलाई लाग्ने गरेको छ । सन् २००६ मा जक्र्वाबीज मारिए पनि यी समुदायबीच आजका दिनसम्म लडाइँ चलिरहेको छ । यसरी, अमेरिकाले अपेक्षा गरेभन्दा विपरीतको वातावरण इराकमा सिर्जना हुन पुग्यो । यसर्थ, इराकमा सम्प्रदायिक हिंसाले भयावह रूप लिइरहेको छ ।

बेलायतको प्रसिद्ध जर्नल ल्यान्सेडले प्रकाशित गरेको एक अध्ययनअनुसार अमेरिकी हमलाका कारण सन् २००६ सम्म करिब ६ लाख ५५ हजार इराकी मारिएका छन् । बेलायतको रक्षा मन्त्रालयका तत्कालीन प्रमुख वैज्ञानिक सल्लाहकार सर रोई एन्ड्रेसनले उक्त अध्ययनको खुलेर प्रशंसा गरे । हमलाको पहिलो ३ वर्षमा इराकले गुमाएको मानवीय क्षतिबारे विश्वसनीय तथ्य बाहिर ल्याएकोमा एन्ड्रेसनले प्रशंसा गरेका थिए ।

तर, सन् २००६ देखि अहिलेसम्म आइपुग्दा मारिने इराकीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । अमेरिकी हमलापश्चात् सुरु भएको साम्प्रदायिक युद्धले हिंसालाई थप बढावा दिएको छ भने मानवअधिकारको गम्भीर उल्लंघन भएको छ । लगत्तै अतिवादी आइएस संगठनले इराकमा ठूलो पकड बनाउन थाल्यो ।

नभन्दै सन् २०१४ मा आइएसले इराकको मोसुल क्षेत्र पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो । यति मात्र होइन, सुरक्षित ठाउँको खोजीमा हजारौँ इराकी आफ्नो देश छाडेर अन्य मुलुकमा शरण लिन बाध्य भए । कोही सिरिया, जोर्डन र टर्कीजस्ता इराकका छिमेकी देशमा शरण लिन गए भने केही युरोपी मुलुकमा । शरण लिएको देशमा पनि उनीहरूले नयाँ अप्ठ्याराको सामना गर्नुप-यो, शोषणसमेत सहनुप-यो ।

इराक हमालको विश्वव्यापी प्रभाव

इराक युद्धको प्रभाव इराकमा मात्र सीमित छैन । सिरियाली द्वन्द्वमा बग्दाद पनि मुछिएको छ । इरानलाई सिरियामा पुग्ने पुलको रूपमा इराकी भूमिको प्रयोग भएको छ । सिरियाली सरकारलाई सयोग गरेर नागरिकको ज्यान लिन सहयोग गरिरहेको छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको हमलालाई विश्व समुदायले देखिसकेको छ । सिरियाली द्वन्द्वका कारण लाखौँ सिरियालीले स्वदेश छाडिसकेका छन् ।

मध्यपूर्व तथा युरोपेली मुलुकमा शरण लिन उनीहरू बाध्य छन् । अर्कोतर्फ, धेरै देशका लागि शरणार्थीको तथा आप्रवासीको समस्या राजनीति गर्ने गतिलो मुद्दा बनेको छ । चुनाव लड्ने समयमा यस्ता देशले यी समस्यालाई चुनाव जित्ने हतियार बनाएको देखिन्छ । जर्मनी, इटाली, फ्रान्स तथा नेदरल्यान्ड्समा यस्तो दृश्य प्रस्टै देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त ‘मुस्लिम देशमाथिको प्रतिबन्ध’लाई मुद्दा बनाएको अर्को उदाहरणलाई पनि हेर्न सकिन्छ । यसकारण अमेरिकामा पृथकतावादी तथा जातिवादी प्रवृत्तिले ठाउँ पाएको छ ।

इराकी जनतालाई स्वतन्त्रता दिलाउने अमेरिकी प्रयास असफल भएसँगै विश्वका प्रमुख राजनीतिक नेतृत्वहरू हस्तक्षेपकारी विदेश नीतिबाट पछि हट्न थालेका छन् । विद्यमान गम्भीर मानवअधिकार तथा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको अवस्था, मानवताविरुद्धको अपराधका घटना समाधानका लागि यस्ता प्रमुख राष्ट्र कुनै भूमिका खेल्न तयार भएका छैनन् । सायद, इराक युद्धका क्रममा गरेको गल्तीलाई उनीहरू दोहो-याउन चाहँदैनन् ।

उनीहरूको यसरी भाग्ने प्रवृत्ति विद्यमान सिरियाली संकटमा प्रस्ट देख्न सकिन्छ । यसरी, नैतिक नेतृत्वको अभावका कारण लाखाैँ सिरियालीले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन् । अहिले अराजक सिरियाली राष्ट्रपति बसर अल असद सत्तालाई रुस र इरानले प्रत्यक्ष सहयोग गरिरहेका छन् । अर्कोतर्फ यस्तोमा विश्व मूकदर्शक भएर केवल हेरि मात्र रहेको छ ।

यी सबै विकसित विश्व राजनीतिको मुख्य जड इराक युद्ध हो । मध्यपूर्व क्षेत्रले इतिहासको कुनै कालखण्डमा नभोगेको तथा नदेखेको भयानक हिंसा र अस्थिरता अहिले भोग्नुपरेको छ । क्षेत्रीय शक्तिमाथि नियन्त्रण बनाउने होडबाजीमा इराक र साउदी अरब शीतयुद्धमा होमिएका छन्, जसको कुनै अन्त्य नै छैन । विश्व मञ्चमा चीन र रुस एक भएपछि अमेरिका पछि हटेको छ ।

अर्कातर्फ, शरणार्थीको ओइरो लागेपछि त्यसले निम्त्याउने समस्यासँग जुध्न युरोप संघर्षरत छ । युरोपमा शरणार्थी छिर्ने क्रम मध्यपूर्व क्षेत्रमा हिंसा बढेसँगै सुरु भएको हो । यसर्थ, समग्र विश्व नै इराक युद्धको असरबाट प्रभावित भएको छ । इराक युद्ध भएको १५ वर्षपछि पनि विश्वमा व्याप्त संकट र अस्थिरता यथावत् छ । वास्तवमा इराकमाथिको अमेरिकी आक्रमण अरू केही नभएर २१औँ शताब्दीको सबैभन्दा ठूलो अपराध हो ।

(तल्हा अब्दुल्राजाकी युनिभर्सिटी अफ एक्जेटरअन्तर्गतको स्ट्राटेजी एन्ड सेक्युरिटी इन्स्टिच्युटका शोधकर्ता हुन् । उनी सन् २०१५ को ‘अल जजिरा योङ रिसर्चर अवार्ड’ विजेता पनि हुन्)
स्रोतः अल जजिरा डट कम


Related posts

Leave a Comment