साना माछालाई सफाइ दिन्छन् भने म ठुला माछा तर्फ जाइलाग्छुः गंगामाया अधिकारी(भिडियोसहित)


गोरखा फुजेलकी गंगामाया अधिकारी आफ्नो छोरा कृष्ण प्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग राख्दै अनसन बस्न थालेका वर्षौँ भयो। अनसन बस्दा बस्दै श्रीमान नन्द प्रसाद अधिकारीको २०७१ साल असोज ६ मै मृत्यु भयो। अधिकारी दम्पतीका १७ वर्षे कान्छा छोरा कृष्णको २०६१ साल जेठ २४ गते तत्कालीन माओवादीले चितवनमा हत्या गरेको थियो ।
न्याय नपाए गोरखा जानु भन्ने उखान उखानमै सीमित भयो गंगामाया अधिकारीको जीवनमा । छोराको हत्यारालाई कारबाही गरी पाउ भनी प्रधानमन्त्री निवासदेखि वीर अस्पतालको चिसो भुईसम्म आई पुग्दा समेत गंगामायाको आवाजलाई सुनेर पनि नसुने झै गरिएको छ ।
प्रधानमन्त्री देखि, मन्त्री, वकिल, न्यायाधीश,सरकारी कर्मचारी र सांसदसँग हात जोड्दा जोड्दै गली सकेकी छिन अधिकारी । यो बिचमा उनले विभिन्न आश्वासन र सम्झौतामा अनसन नतोडेकी भने होइनन् । तर आश्वासन र सम्झौता देखाउनकै लागि भएपछि उनी फेरी वीर अस्पतालको बेडमा न्यायका लागि अनसनमै छिन् । अनसनरत गंगामाया अधिकारीसँग टिभी अन्नपूर्णकर्मी तुल्सी अर्यालले कुराकानी गर्नु भएको छ । प्रस्तुत छ वहाँसँगको कुराकानी:

– तपाइको स्वास्थ्य अवस्था कस्तो छ ?
लामो समयदेखि केही नखाएकाले शरीर पुरै सुकेर सुई लगाउने नसासमेत नभेटिने अवस्था थियो । अहिले झोल कुराहरू खाएर औषधि उपचार गरेपछि केही बोल्न सक्ने भएकी छु । खुट्टा हल्लाउन, चलाउन सक्दिन । जीवित चाहिँ जीवित नै छु , बोल्न सक्छु । बाहिर हिँड्डुल गर्न सक्दिन । कस्तो बनाएर राख्न खोजेको हो मलाई यो सरकारले ।

-तपाइले अनसन सुरु गरेको कति भयो  ?
छोरालाई जेल हालेपछि हामी बुढा बुढीले बालुवाटारमा अनसन सुरु गरेका हौँ । सानो अनसन थोरै दिनका त कति बसे कति । लामो अनसन चाहिँ यो मेरो ९ औ पटक हो । बालुवाटारमा अनशन बस्दा बस्दै वीर अस्पतालमा ल्याए । हामी यहाँ बस्न नमानेपछि पाटन अस्पतालमा पागल बनाएर राखे ।
सात/आठ वर्ष भयो म यसरी प्रहरी र डाक्टरको निगरानीमा बसेको । यो कुनामा राखे पनि म न्याय माग्न छोड्दिन । मलाई फकाएर, आश्वासन देखाएर , पैसाको लालच देखाएर हुँदैन । मेरो सिउँदोको सिँदुर पुछिदिने सरकारलाई म यसै छोड्दिन । नेपालमा न्याय माग्ने ठाउँ छैन अब । माग्ने जति ठाउँमा मैले मागी सके । अब नदिएपछि म अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न तयार छु ।

-छोराको हत्या भएको यतिका समयसम्म न्याय पाउनु भएको छैन । अहिलेसम्म खास के भयो  ?
मेरो छोरा कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या भएको १४ वर्ष भयो । अपराधीले १७ वर्षे छोरालाई गोरखाको फुजेलबाट अपहरण गरेपछि ०६१ साल जेठ २४ गते चितवनमा हत्या गरेका थिए । त्यसपछि अपराधी छविलाल पौडेल, भीमसेन पौडेल, प्रशुराम पौडेल , जानुका पौडेल र अन्य दुई जना मेरै आफ्नतलाई कारबाही गर भन्दै न्याय मागेको ११ वर्ष भयो । मैले तोकेको अपराधीलाई निर्दोष छन् भनेर निकालेको छ सरकारले । चितवनको जिल्ला अदालतबाट कुल प्रसाद शर्माले मुद्दा फैसला गरेर सफाइ दिएको छ । म पीडित यसरी न्याय मागी राखेकी छु । छोराको हत्यारालाई कारबाही गर भनेर न्याय माग्दा मेरो श्रीमान् (नन्दप्रसाद) लाई सरकारले मारेको ५ वर्ष भयो । न्याय पाउँछु कि भनेर यतिका वर्ष बिताएँ । आफ्नो ज्यानकै माया मारेर लडेँ । तर न्यायालयबाटै न्याय नपाइने रहेछ । मेरो छोराको मुद्दामा लड्नेहरू दस पटकसम्म न्यायालय पुग्दा सुनुवाइ भएन भन्दै फर्किए ।

-झन्डै एक वर्ष पानीसमेत नखाई अनसन बस्नु भयो । बीचमा तोड्नु भयो र फेरी सुरु गर्नु भयो ?
मैले थाहा पाइन मेरो अनसन तोडेको । सरकार र मानव अधिकारका मान्छेहरूले मलाई झुक्क्याई झुक्क्याई जबर्जस्ती झुटो आश्वासन देखाएर धेरै पटक मेरो अनशन टुटाए । म पनि लाटी रहेछु । यिनीहरूको झुटो कुरा पत्याएर ०७१ कात्तिक २ मा झोल कुरा मात्र खाने सर्तमा अनसन तोडेँ । झन्डै एक वर्ष पानीसमेत नखाई न्यायका लागि दुवै जना लड्यौँ । ३ सय ३३ दिनसम्म पानीसमेत नखाँदा सरकारले हेरेन । सरकारकै हेल्चेक्र्याइँले बुढाको सास गयो । बुढाको मृत्यु भएको ४ वर्ष बितिसक्यो तर सरकारले अहिलेसम्म कुनै पनि कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन ।
-२०७१ असोज ६ मा तपाइको श्रीमानको मृत्यु भएपछि हत्यारालाई कारबाही गर्ने र श्रीमानको दाहसंस्कार गर्ने लगायत ५ बुँदे सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन भयो त  ?
२०७१ असोज ६ मा बुढाको मृत्यु भएपछि हत्यारालाई कारबाही, सुरक्षित वासस्थान, स्वास्थ्य उपचारको व्यवस्था, श्रीमानको दाहसंस्कार गर्ने लगायत ५ बुँदे सम्झौता गरी शान्ति मन्त्री नरहरि आचार्य र मानव अधिकारका मान्छे आएर न्याय दिलाएरै छाड्छौँ भन्दै जबर्जस्ती अनसन   तोडाएका थिए । न्याय पाइन्छ कि, जेठो छोराको पनि प्रगति देख्न पाउँछु कि भनेर मैले पानी निलेकी थिएँ । सरकारले सम्झौता गरेका कुनै पनि बुँदामा केही काम भएको छैन ।

श्रीमानको दाहसंस्कार गर्न किन मान्नु भएको छैन ?
न्याय नपाएसम्म मैले मेरो बुढाको दाहसंस्कार गर्दिन र गर्न पनि दिन्न । अहिले मलाई जति पीडा कसैलाई नहोला । छोरा मारियो, बुढा मारियो, एउटा बाँचेको छोरो (नूरप्रसाद) कहाँ छ, केही पत्तो छैन । छोरो ४ वर्ष पछि अस्ति भर्खर भेट भयो । अब धेरै तड्पेर बाँच्नु नपरोस् । बरु मेरो जीवनदान पनि सरकारले नै लियोस् । अब म कसैको आश्वासनमा आफ्नो अनसन  टोड्नेवाला छैन । बरु म यही अस्पतालमा मर्न परे पनि तयार छु ।
-अनसन बसेको यतिका वर्षसम्म न्याय नपाउने देखियो अब के गर्नु हुन्छ ?
न्यायालयमा बस्नेहरुले न्याय भुट्नलाई कसको आदेशले कसरी भुटेका हुन् । मन्त्रीकै आदेशले होलान् । अब मन्त्रीले नै न्याय भुट्छन् भने म अन्तराष्ट्रिय अदालत जान्छु । साना माछालाई उनीहरूले सफाइ दिन्छन् भने अब ठुला माछा तर्फ जाइलाग्छु । मलाई मार्छन् भने बरु मलाइ मारुन् तर जीवित रहुन्जेल म न्याय माग्न छोड्दिन । नेपालको नागरिक भएर न्याय माग्दा मैले यति कष्ट भोग्नु पर्ने ।
-नेपाल सरकारले नै न्याय दिन्छ भन्ने आसा अब सकियो कि बाकी छ  ?
मलाई अब आस छैन । अन्तर्राष्ट्रिय अदालत नगई सुख छैन । अब न्याय देऊ भनेर अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नु बाहेक केही विकल्प छैन । न्याय दिलाउन नसक्नेले बरु गोली ठोकेर मारिदिए हुन्छ । यसरी तड्पिनुपर्ने त थिएन । आफैले नजानेर तड्पनु पर्यो् । मेरो श्रीमान् र छोरा मार्ने अपराधीलाई मैले जुत्ताको माला उनेर राखेको छु । मलाइ मार्छ भने पनि मारोस् म मर्न तयार छु । मेरो छोरा श्रीमान् मार्ने अपराधी र सरकारलाई म यसै छोड्ने वाला छैन ।


Related posts

Leave a Comment