नयाँ जोगीले बढी खरानी धस्छ, श्री ७ गणतन्त्रेश्वरी महारानी देवी ज्यू


महामहिम राष्ट्रपति,

कुनै बेलाको स्वर्गीय जननेता मदन भण्डारी काठमाण्डौको सडकमा साइकलमा चढेर हिँडेको फोटो सामाजिक सञ्जालमा आज भोलि पनि चर्चामा आउँछ । आफ्ना सुवेच्छुक एवं सहकर्मी भेट्दै गर्दाको धुमिल तस्बिर बेला बेलामा चर्चामा आउँछ । जुन वेला उनै नेताकी धर्मपत्नी यानकी यो कङ्गाल मुलुककी दोस्री मात्र नभएर तेस्री महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीको कार चढ्ने शौंखको खातिर सरकारले वलिदानस्वरुप समर्पण गरेको ४ करोडले नपुगेर अर्को १४ करोडको बलिदानी, मुस्लिम भाषामा भन्नुपर्दा दोस्रीरतेस्री राष्ट्रपतिको कार चढ्ने सौंखकै लागि सरकारले अर्को १४ करोडको  `हलाल´ गर्दैछ रे !

महामहिम राष्ट्रपति,

तल तस्बिरमा देखाइएको तस्बिर कुनै रुवाण्डाको होइन, हाम्रै विकट जिल्ला जुम्लाको हो। सायद पहिलो र दोस्रो तस्बिरले तेस्रो तस्बिरलाई गिज्याई रहेको होला या त्यो कुपोषण, अभाव र अभागी तस्बिरले दोस्रो र तेस्रो तस्बिरलाई पो गिज्याई रहेको छ कि ? म त के भनौँ र ! राष्ट्रको उच्च पदमा आसीन महिला राष्ट्रपतिले सोच्ने कुरा न हो ! यौटा सन्तति आँखै अंघाढि घ्राण घ्राण हुन्छ त, सबैभन्दा पहिला आमालाई पोल्दछ र बल्ल बाऊ लाई पोल्ने गर्दछ। महामहिम, तिमीले पनि त दुई/दुई सन्ततिलाई आफ्नै प्रसव पिडाले जन्म दिएकी हौ, धन्न मान्नुपर्दछ, तिम्रा सन्ततिले दुर्गममा अभाव, पीडा र वेदान्तमाझ जन्म लिन पुगेन र तलको तेस्रो तस्बिरको झैँ हविगत भोग्नुपरेन। यदि तिमि जुम्ली र तिम्रा दुई सन्तति तेस्रो तस्विर्झैं तिम्रै आँखाले देख्नु, तिम्रै कर्मले भोग्नुपरेको भए आज यो राज्यकोषमा सामन्ती नोकर शाही दलालहरूबाट भइरहेको ब्रह्मलूट के तिमी टुलुटुलु हेरिरहन सक्थ्यौ र ? तर माफ गरे महामहिम, हामी राज्य सर्वस्व भएको हेर्न अभिशप्त छौँ।

मन छुस्स भयो कि भएन महामाहिमर ! तिम्रा सन्तति सकुशल पनि छन्। तेस्रो तस्बिरमा देखाइएकोझैँ कुपोषण वाट ग्रस्त पनि छैनन्। सायद तिम्रो फुलेका गालासँगै चरित्रमा पनि अहंमता छ र त तिमीलाई छुन्न र त म यसरी वौंतारिने पनि मूर्ख जो हुँ।

महामहिम, आजकल तिमीलाई गणतन्त्रेश्वरी महारानी पनि भन्ने गरेको सुनेको छु। सायद यस्तै हर्कतले गर्दा त होला तिमीलाई गणतन्त्रेश्वरी महारानी भनेको ! तिम्रो सवार हुँदा काठमाण्डौका सडक मसानघाटमा परिणत हुने मात्र होइन, एकदिनको तिम्रो सवारीकै कारण कयौँका जागिर चट भएका पनि छन्। तिम्रै सवारीका कारण सयौँका मुखका बुझोहरु लुटिएका पनि छन्, तिम्रै सवारीका कारण हजारौँ मात्र होइन, लाखौँ मानिस डिप्रेसनको सिकार भइराखेका छन्, तिम्रै सवारीका कारण लाखौँ नागरिकले आफ्नै भूमि थुक्क गरेर थुक्न मात्र होइन, तिम्रै सवारीका कारण लाखौँ युवाहरूले देश छोड्न बाध्य पनि छन्।

यति मात्र होइन गणतन्त्रेश्वरी महारानी, तिम्रै सवारी होईवक्सिदा कयौँ एम्बुलेन्स जाममा परेर नजाने कति जना बिमारीले ज्यान गुमाए र कति जना प्रसव पिडाले छटपटिएका महिलाले अकालमा ज्यान गुमाए। अनि कति आर्तनादहरू चीत्कार छोडे। यसको बारेमा तिमीलाई बाल मतलब गणतन्त्रेश्वरी महारानी ! किनकि तिमीलाई अब सुत्केरी व्यथाले चेप्ने पनि छैन, तिमीलाई अव कसैको आर्तनाद पीडा सहनुपर्ने पनि छैन र सहनु पनि छैन। किनकि जननेता मदन भण्डारी कि धर्मपत्नी अब यस कङ्गाल देश कि महामहिम गणतन्त्रेश्वरी महारानी देवीमा जो रुपान्तरित भइसकेकी छौ।

महामहिम गणतन्त्रश्वेरी देवी,

तत्कालीन राजा चन्द्र शमशेरका छोरा कृष्ण शमशेर जबराले विदेशी अति विशिष्ट पाहुनाहरूको स्वागत सत्कारको लागी भनेर शीतल निवासलाई सरकारको स्वामित्व हुनेगरि दानस्वरुप हस्तान्तरण गरेका रहेछन्। नजिकै रहेको प्रहरी प्रतिष्ठानमा हुने क्रियाकलापले महामहिम गणतन्त्रेश्वरीलाई साह्रै ठुलो वाधा उत्पन्न पनि भएको रहेछ र महामहिमकै ठाडो आदेशमा महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान जसले ७० वर्षभन्दा लामो इतिहास बोकेर आएको छ, त्यसलाई काभ्रेको पनौतीमा सारिदिन हुकुम बक्सिएको पनि रहेछ। कूल २३४ रोपनीमा फैलिएको यस प्रतिष्ठानको जग्गामध्ये ४१ रोपनी जग्गा त हडपिईसकेको रहेछ र प्रतिष्ठानको बाँकी १९३ रोपनी जग्गा पनि हड्पेर महामहिमलाई जिल्लाबाहिर आउजाउ गर्नको लागि हेलिप्याड बनाउने गुरुयोजना यहाँकै अग्रसरतामा लिइएको रहेछ। विदेशबाट अति विशिष्ट पाहुनाहरूलाई आजसम्म व्याधा नपुर्‍याएको प्रहरी प्रशिक्षण संस्थानले आज कङ्गाल मुलुक कि दोस्री/तेस्री ठूली गणतन्त्रेश्वरी महारानीलाई वाधा पुर्‍याउनु ठुलै खेदको विषय मात्र नभएर हरिकंगाल जनताको रगत र पसिना तुन तुन पिउने व्यभिचारी कुण्ठा पनि हो।

जवानी मै विधवा भएकी गणतन्त्रेश्वरि महारानी देवीका कोमल पाऊ भूँईमा नछोईयुन भनेर चिल्ला र चाप्लुसा गाडीबाट ओर्लन नपाउँदै बिचरा प्याधाहरूले पिर्कामाथि रातो मखममलको कपडासहित महारानीका सारीमुनि हाजिर भइजान्थे। अब त प्रतिष्ठान नै सारेर भए पनि श्री ७/७ गणतन्त्रेश्वरी महारानीका चरणकमलले काष्ठमण्डपका कुनै पनि जमिन नटेकी सर्लक्क गगन चुमेर समर हेर्ने धोको पनि सायद पूरा हुन्छ होला त हामीजस्ता व्यभिचारीहरु पनि कुपोषणले ग्रस्त छोराछोरीलाई दाम्लोले निर्मम बाँधेर मरुभूमिजस्ता खेत र खलियानहरुवाट श्री ७/७ गणतन्त्रेश्वरी महारानीको जिउँदो स्वप्नयात्रालाई चिरा चिरा परेका तिनै खलियानहरुवाट आँखालाई हातले सूर्जे छेक्ने दुस्साहस गर्दै चियाउने छौँ होला सायद।

श्री ७/७ गणतन्त्रेश्वरी महारानी देवी जी,

यो कङ्गाल देशको पित्त पनि पोलियो, तर तिमीहरूको चित्त कहिल्ल्यै दुखेन। यदि चित्त दुख्दो हो त यो देश कहिल्ल्यै पनि यसरी लुटको स्वर्ग बन्ने पनि थिएन। लुट, भ्रष्टाचार, बलात्कार, डकैत, अराजकता, व्यभिचार, कुशासन कहाँबाट सुरु भा छ त भन्दा खेरी शीतल निवासबाटै सुरु भएको छ। शितलनिवास हुँदै सिंहदरबार, मन्त्रालय, सङ्घीय संसद्, प्रदेश सरकार हुँदै स्थानीय तहसम्म अब त लुट र वर्वादीको लागी नै महासङ्ग्राम पो सुरु भएछ ! यति विघ्न स्खलन गणतन्त्रको मन्त्र थिएन। धन्यवाद !!

श्री श्री ७/७ गणतन्त्रेश्वरी महारानी ज्यू,

विश्वका सबैभन्दा कङ्गाल देशहरू हाईटी, ईक्वेटोरियल, गिनी, जिम्मेवार, कङ्गो, दक्षिण अफ्रिकी महाद्वीप स्वाजिल्याण्ड, (जुन देशमा विश्वमा सबैभन्दा बढी संक्रमित पनि भेटिन्छन, इरित्रिया, मेडागास्कर जुन देशको प्रतिदिन आय १ डलर भन्दा पनि कम छ, बुरुण्डी, पश्चिम अफ्रिकी मुलुक सिएरा लियोन, र साओटोम पृन्सिन्पेका राष्ट्रप्रमुखको हैसियतभन्दा के ठुलो हुन्थ्यो र यदि १८ वर्षमाथिका पचासौं लाख युवायुवतीले खाडीको ५०/५५ डिग्रीको रापमा बालुवा नचालिदिएको भए। रेमिट्यान्सले धानेको अर्थतन्त्रमा आयातको आकार विकराल छ भने निर्यातको तस्बिर निर्दयी छ। मासिक सवा खर्बको व्यापार घाटा रहेको विभिन्न तथ्याङ्कहरूले देखाइरहँदा यता आन्तरिक एवं अन्तरिम आयको अवस्था भने नाजुक छ। चालू आर्थिक वर्षको कूल बजेट १३ खर्बमध्ये प्रशासनिक खर्चको लागि मात्रै भनेर ८.४५ खर्ब छुट्ट्याइएको छ। कूल बजेटमा यति धेरै रकम प्रशासनिक खर्चमा जानू भनेको मुलुककाको प्रशासनिक व्यवस्थापनको लथालिङ्ग र भद्रगोल अवस्थालाई जनाउँदछ। यतिले मात्र नभएर कहिलेकाहीँ विकाश बजेटको रकम पनि रकमान्तर गरेर प्रशासनिक खर्चमा खर्च गरेको देखिएको छ। यसहिसावले कङ्गाल देशमा यहाँलगायत यौटा वडासदस्यसम्मलाई राज्यले कति रकम खर्च गर्दो रहेछ र कति रकम विकाश, सामाजिक, स्वास्थ्य, आवासलगायतका क्षेत्रहरूमा खर्च गर्दो रहेछ भनेर कहिल्ल्यै हेक्का भयो तर !

श्री श्री श्री ७/७ गणतन्त्रेश्वरी महारानी देवी ज्यूको सवारीको लागी नै भए पनि प्रहरी प्रतिष्ठान सार्न परे पनि सारियोस, यसमा महारानी देवी ज्यूलाई केही फरक पर्ने वाला छैन। आखिर फुपूको श्राद्ध न हो। १८/१८ करोड पर्ने गाडी पनि किनियोस, किनकि राज्य कोष उल्फाको धन न हो।

मासिक रूपमा विकराल बन्दै गएको व्यापार घाटा, चरम प्रशासनिक खर्च, अनुत्पादित क्षेत्रमा बैङ्क तथा वित्तीय क्षेत्रको लगानीको ओइरो, लगभग शून्य उत्पादन, आयातको यो विकराल आँकडामाझ रेमिट्यान्सको यौटा दर्विलो पिलर पनि यदि डगमाऊनेछ भने मुलुक अवश्य टाट पल्टिने छ। रेमिट्यान्सको दर्विलो खम्बाले धानेको धराशायी अर्थतन्त्रको छानोमाथि यौटी महारानी मात्र बुरुक्क बुरुक्क उफ्रेकी छैनन्, हजारौँ बादशाहहरू धरातल बिर्सिएर धरमर अर्थतन्त्ररुपी छानोमाथि नाङ्गो नाच नाच्दैछन।

१८ करोड मात्रै किन, १८ अर्ब, खर्ब त यो देशमा बर्सेनि शाषकवृत्तहरुवाट चलखेल हुने गरेको छ।

नयाँ नयाँ जोगीले खरानी बढी धस्दछ,
कङ्गाल देशका गाँढाहरुको चरिफुरी गगन चुम्न खोज्छन्,

हैसियत बिनै,
परजीवी किर्नाहरू,
रगत, पसिना र लासको
कर्कशबाट
आज फेरि यौटा
गणतन्त्रेश्वरी महारानीको लागि किन्नेछ
१८ करोड बराबरका
बुलेटप्रूफ गाडीहरू।


Related posts

Leave a Comment