पूर्वराजाको देशविदेश दौडाहा, बज्दैछ खतराको घण्टी


नेपालमा राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भएको करीब १२ वर्ष बितिसकेको छ । यतिबेला नेपाल नयाँ शासन प्रणाली र नयाँ बाटोमा प्रबेश गरेको छ । लामो समय उथलपुथल र राजनीतिक किचलो भोग्दै आएको नेपालले अब भने राजनीति लडाईको युग करीब करीब अन्त्य भएको घोषणा गरिएको छ । लामो समयको राजनीतिक भाँडभैलोबाट नागरिकहरु वाक्कदिक्क भइसकेका छन् । अब पनि राजनीतिक परिवर्तनको नारा बोकेर अनेक खालका राजनीतिक धन्दा चलाउनेलाई जनताले स्वीकार गर्ने छैनन् । राजनीतिक बेइमान र ठगहरुले पटकपटक आखामा तगारो हालेको कुरा जनताले पटक्कै विर्सेका छैनन् । विश्वमा एकै किसिमको शासनप्रणाली छैन, देशको परिस्थिति अबस्था ऐतिहासिक अवस्था आदि धेरै कुराले देशहरु फरकफरक हुन्छन् । कुनै देशमा सफल भएको शासन प्रणाली अर्को देशको लागि अभिशाप बन्न सक्छ । विश्वमा फरकफरक शासनव्यवस्था र राजनीतिक वादहरु रहेका छन् । तसर्थ सर्वसम्मत  कुनै पनि व्यवस्थालाई भन्न सकिन्न  ।

निरंकुश स्वेच्छाचारी र मनपरीतन्त्र सबैभन्दा खराब शासन व्यवस्था हो । विश्वको सबैभन्दा पूरानो र दोषयुक्त प्रणाली हो । विश्व संग्रामका महत्वपूर्ण घुम्तीहरु वास्तवमा तिनको विरुद्धमा भएका हुन् । प्रजातान्त्रिक शासन प्रणाली बेदाग नभएपनि सबैभन्दा बढी भरपर्दो शासन व्यवस्था हो । नेपालमा अप्रत्यासित रुपमा सत्ताको शक्तिबाट हुत्तिएका राजतन्त्रका अवशेष तथा पूर्वराजा ज्ञानेन्द्रका क्रियाकलाप फेरी पूरानै शासनव्यवस्थाको पुनरावृत्ति गर्ने दुस्साहसमा लागेका छन् । पछिल्ला समयका उनका क्रियाकलाप र अभिव्यक्तिले पनि यी कुरालाई सहज पुष्टी गर्दछन् । यतिबेला ज्ञानेन्द्र भारतको भ्रमणमा व्यस्थ छन् । पहिले एकहप्ताको भ्रमण भनेपनि उनको भ्रमण अझै एक हप्ता थपिएको छ । केही समयअघि पश्चिम नेपालको भ्रमण गरेर भारतको भ्रमण गरेका उनी केही समय यता यस्तै भ्रमणमै व्यस्थ हुन लागेका छन् । भ्रमण गर्नु सामान्य कुरा भएपनि राजनीतिक रुपमा उनको भ्रमणले केही अर्थ पक्कै पनि लाग्दछ । उनको भ्रमणमा भारतीय पक्षले पनि पूर्वराजाकै हैसियतमा सम्मान टक्र्याउदा नेपालमा राजतन्त्रको अवशेष अझै बाँकी नै छ । त्यसको भूतले बेलाबेलामा तर्साइरहेको हुन्छ । स्वागत गर्नेले पुरानै हैसियतमा स्वागत गर्छ भने त्यो त स्वागत गर्नेकै कमजोरी हो ।

तर पूर्वराजाले भारत उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुलाई दिएको प्रतिक्रिया भने सशक्त छ ।  उनले भनेका छन् । ‘रुखका पात झरे पनि जरा परिवर्तन हुँदैन ।’ अहिलेको राजनीतिक प्रणालीले गति छाडेकोप्रति कटाक्ष हो यो । के पूर्वराजा अझै पनि पुरानै अवस्थामा फर्कनका लागि प्रयासरत छन् ?  या उनले सही बाटोमा हिंड भनी नेताहरुलाई सन्देश दिन खोजेका हुन् ?  भ्रमण एक साताको मात्र हुने बताइए पनि अहिले एक हप्ता बढेको छ । यसको मतलव हो राजनीतिक भेटघाट बढी हुनेछ ।  यो भ्रमणमा हिन्दू धर्म र राजसंस्था बारे बढी नै बहस हुनेछ । भारतीय जनता पार्टी पनि निकै गम्भीर छ नेपालमा हिन्दू राष्ट्र पूनर्स्थापित गर्ने बारेमा ।  एक महिनाको अवधिमा दोस्रो पटक भारत पुगेका पूर्वराजाले यसपटक कस्तो किसिमको सल्लाह पाउने हुन् त्यो त तत्काल जानकारी हुनेछैन । तर यसले दीर्घकालीन असर भने पक्कै गर्नेछ ।  उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले विशेष पहल गरिरहेका छन् हिन्दू राष्ट्रका लागि । यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आशावादी देखिएका छन् ।

पूर्वराजा निकट स्रोतका अनुसार मोदीसंग पनि भारत भ्रमणका क्रममा टेलिफोन वार्ता हुन सक्नेछ ।  एकातिर पूर्वराजाको हिन्दूराज्य प्रयास संगसंगै २४० वर्षको इतिहास बोकेको शाहबंशीय राजालाई कुन स्थानमा लैजान सकिन्छ भन्ने चिन्तन बढ्दो छ भने अर्कातिर नेताहरु परिस्थिति बुझ्न नखोजी अगाडि हिंडिरहेका छन् ।  स्रोतहरुका अनुसार अबको प्रधानमन्त्रीका रुपमा अगाडि बढिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने हिन्दू राष्ट्र र पूर्वराजपरिवारलाई स्थान दिनेबारेमा सहमति जनाएको बताइन्छ ।  मानिसको महत्वाकांक्षाको असीमित हुन्छ सकेसम्म जसलाई पनि शक्तिमान् र शक्तिशाली बन्ने दाउ हुन्छ । तर कसैको व्यक्तिगत इच्छा र आकांक्षा राष्ट्र र जनताको इच्छा र आवश्यकता बमोजिम हुनुपर्छ । कसैको व्याक्तिगत इच्छा र आकांक्षामा देशलाई बन्धकी राख्न सकिदैन देश सबैको साझा हो । एकपटक भोगिएको र विकृत बनिसकेको परिपाटी कसैले फेरी थोपर्ने दुस्साहस गर्छ भने त्यो पूरा हुनेवाला छैन । एजेन्डाहरु बोक्न पाइन्छ, विचार प्रकट गर्न पाइन्छ । जनतालाई आफ्नो पक्षमा बनाउन पाइन्छ । यो नै अहिले प्राप्त भएको लोकतन्त्रको सुन्दर पक्ष हो । तर यो परिस्थिति पूर्वराजाको मान्यता भन्दा फरक र उल्टो थियो । जनताको चाहना बमोजिम अहिलेको परिवर्तन सम्भव भएको हो ।

नेपाल लामो राजनीतिक संक्रमणकाल, अस्थिरता र अशान्तिको भूमरीमा गुज्रिसकेको छ । जसको सम्पूर्ण परिणाम जनताले भोग्न बाध्य भए । जनताको चाहना भनेको जुनसुकै व्यवस्था आएपनि उन्नत जीवनस्तर, सुशासन, शान्ति र स्थिरता नै हो तर विगतका इतिहासले त्यसको स्वाद चाख्नबाट बञ्चित भए । जनतालाई शासन प्रणाली, वाद, तन्त्र आदिको कुनै परबाह छैन । कसैप्रति पूर्वाग्रह र उपेक्षा पनि छैन । तर यथार्थ यो हो कि विगतका प्रणालीले जनतालाई तर्साइसकेका छन् । त्यो दुस्चक्रबाट जनता घृणित बनेका छन् । देशलाई त्यस्ता विकृत प्रणालीबाट मुक्त पार्ने जनताको चाहना हो । अहिलेको प्रणालीले पनि उचित प्रतिफल दिन सकेन भने कालान्तरमा यो पनि विकृत र स्खलित बन्न सक्छ । हाम्रो अब पनि यो प्रणालीको विकल्प खोज्न बाध्य नबनोस् , इतिहास कहिलेकाहीँ उल्टिन सक्छ । नेपालका राजनीतिज्ञ यसमा चतुर बन्नुपर्छ ।


Related posts

Leave a Comment