हुलाक कार्यालयमा कर्मचारीलाई न काम छ न ठाउँ, कार्यालय समयमा जग्गा बेच्छन् हाकिम(भिडियोसहित)


विनोद देवकोटा ।

कुनै समय थियो । सूचना आदानप्रदानको एक मात्र विकल्प हुलाक । टाढा टाढा रहेका आफन्तको खबर त्यही हुलाकीले बोकेर ल्याउने चिठीमा हुन्थ्यो । महिनौँ समय लागेर पुग्ने त्यही हुलाकीको पर्खाइमा बस्थे मानिसहरू । तर समय बदलियो । प्रविधिको बढ्दो प्रयोगसँगै मानिहरुलाई सजिलो बनाई दियो । अब आफन्तको खबर थाहा पाउन कुनै हुलाकी कुर्नु पर्दैन । छिनमै संसारको खबर थाहा पाउन सकिन्छ । समुन्द्र पारिका आफन्तसँग हाँस्दै गफ लाउन पाइन्छ । अधिकांशको हातहातमा मोबाइल र इन्टरनेट पुगेको छ ।

तर त्यही हुलाक विज्ञान प्रविधि अनुसार रूपान्तरण हुन नसक्दा अहिले काम विहीन जस्तै बनेको छ । केही सरकारी र औपचारिक चिठीपत्र बाहेक हुलाकमा व्यक्तिगत चिठीपत्र त आउनै छोडे । केन्द्र देखि गाउँसम्मै सञ्जाल रहेको हुलाक सेवा समयानुकूल परिवर्तन हुन नसक्दा सङ्कटमा परेको छ । इमेल इन्टरनेट र मोबाइल घरघरमा पुगे तर गाउँ घरमै रहेका हुलाक कार्यालयमा प्रविधि पुगेन वा प्रविधियुक्त सेवा प्रदान गर्न सकेन । समयानुसार काम गर्न गर्न नसक्दा हुलाकका कर्मचारी पनि काम विहीन जस्तै बनेका छन् ।

यो पनिः बुढानिलकण्ठ नगरपालिकामा काम भन्दा सास्ती धेरै,मेयर भन्छन् कर्मचारीले टेरेनन् 

हुलाक सेवाको केन्द्रीय कार्यालय अन्तरगत पर्ने गौश्वारा हुलाक कार्यालय काठमाडौँका कर्मचारी पनि फर्सदिला देखिएका छन् । कार्यालयमा एकै दिन ठुलो सङ्ख्यामा कर्मचारी अनुपस्थित देखिए । आइतबार कार्यालयमा २१ जना कर्मचारी अनुपस्थित थिए । गौश्वारा हुलाक कार्यालयकी सूचना अधिकारी निर्मला थापाका अनुसार कार्यालयमा ३ सय ६० जना कर्मचारीको दरबन्दी भए पनि २ सय १९ जनाको मात्रै कर्मचारी छन् ।

बाँकी १ सय ४१ जनाको दरबन्दी खाली छ । २ सय १९ जना कर्मचारी भएको कार्यालयमा आइतबार २१ जना कर्मचारी उपस्थित थिएनन् । एक जना काजमा गएको र तीन जना बिदामा बसेको रेकर्ड भए पनि ती २१ जना कर्मचारी कहाँ गएका थिए कुनै विवरण कार्यालयमा थिएन । प्रशासनमा यो जिज्ञासा राख्दा कुनै आधिकारिक जानकारी थिएन । कार्यालय प्रमुख कार्यालयमा थिएनन् । हुलाकका कर्मचारी फुर्सदिला भएको भन्ने आरोप लागी रहँदा केही शाखामा भने काम भइरहेको थियो । काठमाडौँमा रहेको गौश्वारा कार्यालयमा कामै नहुने भन्ने चाहिँ गलत भएको सूचना अधिकारी थापाले बताइन् ।

यो पनिः टोखा नगरपालिका कार्यलय सहयोगीको भरमा, कहाँ जान्छन कर्मचारी ?

एक आनामा बनेको तीन तले भवनमा चालिस कर्मचारी

काठमाडौँ मात्रै होइन लतिलपुरको जिल्ला हुलाक कार्यालयको हालत उस्तै छ । सानो भवनमा कार्यालय र कर्मचारीको उपस्थिति न्यून छ । ललितपुरको पाटनमा रहेको कार्यालय जम्मा एक आना क्षेत्रफलमा बनेको छ । सानो घरमा धेरै कर्मचारी । तर जिल्लामा दरबन्दी ठुलै सङ्ख्यामा भए पनि धेरै जसो दरबन्दी खालि छन् । जिल्ला हुलाक कार्यालय ललितपुरमा ४० जना कर्मचारी भए पनि सोमवार कार्यालयमा १० देखि १५ जना कर्मचारी मात्रै थिए । कर्मचारीको फिल्डमा पनि काम हुने भएकोले फिल्डमा गएका कार्यालय प्रमुख शिरीष उपाध्यायको जिकिर थियो । तर कुनै यकिन विवरण भने उनीसँग थिएन ।

यो पनिःअफिस खुलै राख्नु भन्दै कहाँ बेपत्ता भए नागार्जुन नगरपालिकाका मेयर ? 

कार्यालयमा सफा गर्ने कर्मचारी समेत नभएको भन्दै फोहोर थुपारिएको थियो । कार्यालय प्रमुख उपाध्याय पनि कार्यकक्षमा नबसी अर्कै कोठामा बस्दै आएका छन् । कार्यकक्ष फोहोर भएका कारण आफू अर्कै कोठामा बस्दै आएको उनले बताए । सरकारले कर्मचारीको सङ्ख्या कटौती गर्दै आएको छ । करारमा कर्मचारी राखेर काम चलाउनु परेको छ । उनले भने । उनका अनुसार व्यक्तिगत चिठी पत्र १० प्रतिशत भन्दा कम आउँछन् । तर सरकारी चिठी पत्र आउने जाने क्रम भने बढेको छ । कामै नहुने भन्ने चाहिँ छैन तर कर्मचारीलाई पुग्ने काम अहिले छैन ।

यो पनिः आफै बिरामी कान्ति बाल अस्पतालः महत्वपूणृ उपचारमा अरुकै भर

काम विहीन कर्मचारी, जग्गा बेच्न हिड्छन हाकिम

इलाका हुलाक कार्यालयका कर्मचारी भने काम विहीन जस्तै बनेका छन् । इलाका हुलाक कार्यालय बालाजुको साधुँरो र चिसो कोठामा मङ्गलवार कर्मचारी कोठामा कुरा गर्दै बसेका थिए । सात जना कर्मचारी रहेको कार्यालयमा दुई जना कर्मचारी मात्रै थिए । दुई जना महिला कर्मचारी उपस्थित कार्यालयमा एक जना बच्चालाई स्तनपान गराउँदै थिइन् भने अर्का कर्मचारी खाली बसेकी थिइन् । दरबन्दी अनुसार कर्मचारी नभएको र आफुहर करारमा काम गर्दै आएको उनले सुनाइन् । उनले भनिन् चिठी पत्र खासै आउँदैनन् ।

यो पनिः हेर्नुस कर्मचारीले सरकारी गाडीका पार्टपुर्जा बेचेर खान्छन

कहिले काहीँ एउटा दुइटा आउँछन् । कहिले भने ३० चालिस पनि आउँछन् । खासै काम हुँदैन तर पनि कार्यालय समयमा बस्नै पर्‍यो । कार्यालय प्रमुख विष्णुहरि सापकोटा भने कार्यालयमा थिएनन् । ती कर्मचारीका अनुसार कार्यालय प्रमुख सुन्धारा गएका थिए । तर टिभी अन्नपूर्णसँगको टेलिफोन कुराकानीमा भने उनले आफू कार्यालयमै रहेको जिकिर गरे । हामी उनकै कार्यालयमा पुगेको पत्तो पाएपछि भने उनले बोली फेरे । आफू नजिकै रहेको भने पनि उनको फोनको आवाजसँगै पृष्ठभूमिमा बोलेको आवाजले प्रस्ट हुन्थ्यो उनी केही चिज बेच्दै थिए । तर उनले भने, म नजिकै छु । केही समयमै आउँछु । ११ नबज्दै कार्यालय पुगेका हामी ४ बजेर १५ मिनेटसम्म बस्यौँ १ बजे म आई हाल्छु भनेका हाकिमले मोबाइल अफ गरे तर कार्यालय फेरि आएनन् ।


Related posts

Leave a Comment