मुआब्जा वितरण भन्दा फरक जग्गामा राजमार्ग निर्माण


अनिल पोखरेल, राजविराज ।
नक्सांकन (सर्वे) गरिएको र मुआब्जा तिरेको भन्दा फरक नक्सामा हुलाकी राजमार्गको स्तरोन्नती निमार्ण भइरहेको छ । हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको कल्याणपुर–बरसाइन–स्वर्णपट्टि सडक खण्डको देउरी, सिम्रहा र स्वर्णपट्टिसहितको स्थानमा नक्सांकन र मुआब्जा वितरण गरिएको जग्गाभन्दा फरक जग्गामा सडक निर्माण गरिरहेको बताइएको छ ।

राजमार्गको बोदेबरसाइन नगरपालिका वाड नं. ९ सिम्रहा स्थित स्वार्ण पुल भन्दा करिब ४०० मिटर दक्षिण सो पुलको करिब २५० मिटर उत्तर र स्वर्णपट्टि टोलमा करिब २०० मिटर सडक सर्वे गरी मुआब्जा तिरेको भन्दा फरक जग्गामा निमार्ण कार्य भइरहेको स्थानीयसहित परियोजना मेनेजर बिनोद गौतमले जानकारी दिएका छन् । बोदेबरसाइन ९ बस्ने नरेन्द्रनारायण साहले साविक देउरी पञ्चायत ५ को कित्ता नम्बर ५९४ बाट कित्ताकाट गरी कायम भएको ८९५ कित्ताको साढे छ धुर जग्गाको मुआब्जा पाएको छ । सो कित्तामा बाँकी एक कठ्ठा एक घुर जग्गा मिच्ने हिसाबले स्वर्णा पुलदेखि दक्षिण करिब ५० मिटर लम्बाइ सडक टेढो पारी निर्माण गरिरहेको नरेन्द्रले बताए । सडकको बीच भागबाट दुवैपट्टी बराबर गरी जग्गा अधिग्रहण गर्नुपर्नेमा सो नगरी स्थानीय जनप्रतिनिधिको दबाबमा परेर जानी जानी सडकलाई टेढो बनाउन लागेको उनको कथन छ । साविकको नक्सामा यस स्थानमा हुलाकी सडक सिधा रहेको प्रष्ट रहेको नापी कार्यालयबाट प्रमाणित गरेको नक्सा देखाउँदै उनले भने, अहिले कसरी टेढो भयो ।

त्यस्तै देउरी नजिक योगेन्द्र यादव, रामप्रसाद यादवको नाममा रहेको कित्ता नं. ३०९ र ३१० को कुल जग्गामध्ये २२ धुरको मुआब्जा पाएको भन्दा फरक जग्गामा सडक निमार्ण सुरु गरेपछि निर्माण कार्य रोकेका छन । यस्तै स्वर्णपट्टि स्थित देउरी ९ (ख) को सर्वेगरी नक्साकंन भएकोलाई छोडेर ९ (क) मा निर्माण गर्न थालिएपछि जग्गाधनी जिवछ भनिने धर्मेन्द्र साहले उच्च अदालत जनकपुर इजलास राजविराममा गरिएको रिटमा तत्काल त्यस स्थानमा सडक निर्माण काम नगर्न आदेश भएपछि अहिले त्यहाँ काम रोकिएको छ ।

सो सम्बन्धमा यस हुलाकी राजमार्ग परियोजनाका प्रबन्धक इन्जिनियर बिनोद गौतमले ती स्थानहरुमा मुआब्जा उठाउँदा साविकको नक्साभन्दा बाहिर गएको कारण यस्तो समस्या आएको स्वीकार्दै अदालतमा बिचाराधिन मुद्दा चाडै फैसला भएमा आउँदो चैतभित्र काम सकेर हस्तान्तरण गरिने गरी काम भइरहेको जानकारी दिए । डिवा निर्माण प्रालि काठमाण्डौले १७.२८ किलो मिटर लामो, बजार क्षेत्रमा ११ र बजार बाहिर सात मिटर चौडाइ कालोपत्रे गर्ने उक्त सडको भ्याट बाहेक रु.५८ करोड तीन लाख ९७ हजारमा निर्माण ठेक्का लिएका हुन । २०७६ असार २० गते सडकको कालोपत्रे निर्माण कार्य सम्पन्न हुने गरी सम्झौता भएको छ ।


Related posts

Leave a Comment