जापानसँग दोस्रो विश्वयुद्धदेखिको मनमुटाव अन्त्यका लागि वार्ता गर्न पुटिनको प्रस्ताव


रूस र जापानबीच ‘कुनै पूर्व सर्त बिना’ नै ऐतिहासिक शान्तिवार्ता गरेर दोस्रो विश्वयुद्धदेखिको मनमुटावलाई अन्त्य गर्नुपर्ने मस्कोले प्रस्ताव गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापान र रूसको सीमा क्षेत्रमा जमिनको विषयलाई लिएर लामो समयदेखि विवाद भएको भन्दै यसलाई वार्ताका माध्यमबाट समाधान गर्नुुपर्ने नयाँ प्रस्ताव ल्याएका हुन्।

यदि दुई मुलुकबीच सम्झौता भएमा रूस र जापानको सीमा क्षेत्रमा रहेको कुरिल टापूको विवाद पनि समाधान हुने अल जजिरा टेलिभिजनले जनाएको छ। दोस्रो विश्व युद्धको अन्त्यपछि जापान र रूसबीच ठूला विवाद नदेखिए पनि उनीहरूबीच कुनै सम्झौता भने हुन सकेको छैन।

‘मैले एउटा उपाय सोचेको छु। यो वर्षको अन्त्य पहिले हामीले कुनै पूर्व सर्त बिना’ शान्ति वार्ता गर्नुपर्छ,’ रूसको पूर्वी शहर भ्लादिभोस्तोकमा भएको आर्थिक फोरममा रूसी राष्ट्रपतिले भने।

पुटिनको प्रस्तावमा जापानी प्रधानमन्त्री सिन्जो आवेले कुनै प्रतिक्रिया भने नदिएको अल जजिराले जनाएको छ।

तर जापानको मन्त्रीमण्डलका पूर्व मुख्य सचिव योसिहिदे सुगाले भने सम्झौता गर्नु पहिले रूस र जापानबीच रहँदै आएका जमिनसम्बन्धी विवादलाई टुङ्गाउनुपर्ने बताएका समाचारमा उल्लेख छ।

पुटिन र आवेबीच भौगोलिक सीमानाका विषयमा यस पहिले पटक–पटक छलफल भए पनि ती बैठकहरू विवाद अन्त्य गर्न असफल सिद्ध भएका थिए। रासस


Related posts

Leave a Comment