बोका जुनियर्स र रिभर प्लेट भिडन्त–‘जितलाई जीवन दिन तयार’


यसै साता अन्त्यमा अर्जेन्टिनामा हुन लागेको जी–२० शिखर सम्मेलनमा डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन, सी जिङपिङमा केन्द्रित छ । ब्युनस आयर्सको मुटु भने एउटा अलग्गै फुटबल मेलाका लागि धड्किरहेको छ ।

रिभर प्लेट र बोका जुनियर्स । राजधानीमा मात्र होइन, पूरै अर्जेन्टिनाभर सबैभन्दा लोकप्रिय यी दुई टोली कोपा लिबर्टाडोरेस उपाधिका लागि निर्णायक खेलमा आमनेसामने हुँदैछन् । नोभेम्बर २४ मा हुने यस खेललाई ‘सुपर क्लासिको’ भनिएको छ ।

दुई साताअघि सम्पन्न पहिलो लेगमा बोकाको प्रतिष्ठित बोम्बोनेरा रंगशालामा दुईपल्टसम्म पछि परेको स्थिति उल्टाउँदै रिभरले सानदार बराबरी खेलेको थियो । र, त्यसैले यो निर्णायक भिडन्त हुनेछ । स्मरणीय यो पनि छ कि पहिलोपल्ट महादेशीय क्लब फुटबल प्रतियोगिताको फाइनलमा एउटै मुलुकका दुई टोली भेट भएको छ । कोपा लिबर्टाडोरेसलाई युरोपको च्याम्पियन्स लिगसँग तुलना गर्न सकिन्छ ।

‘यसकारण पनि यो प्रतिस्पर्धाको महत्त्व कम गर्न सकिँदैन । हामी जितका लागि आफ्नो जीवन अर्पण गर्दैछौं,’ बोकाका प्रशिक्षक गुलेर्मो बार्रोस चेलोट्टोले भनेका छन्, ‘यो जर्सीका लागि हामी सबै कुरा त्याग्न तयार छौं ।’

जब फुटबलको कुरा आउँछ तब अर्जेन्टिनी समर्थक उत्साही हुन्छन् । र, स्थानीय ‘डर्बी’ सँग सम्बन्धित हुन्छ तब यो दुनियाँकै सबैभन्दा भयंकर मानिन्छ । कुनै पनि बोका समर्थकले यो फाइनल रंगशालाबाट प्रत्यक्ष हेर्न पाउने छैनन् । सन् २०१३ यता अर्जेन्टिनी मैदानमा भ्रमणकारी समर्थकलाई मैदान छिर्ने अनुमति छैन । साल्भेमोस एल फुटबोल नामक च्यारिटी संस्थाको तथ्यांकअनुसार अर्जेन्टिनामा पछिल्लो ५० वर्षमा तीन सयभन्दा बढी फुटबल समर्थक मारिएका छन् ।

दक्षिण अमेरिकन फुटबल फेडेरेसन ९कोनमेबोल० बाट चार खेलको प्रतिबन्धका कारण रिभर प्लेटका प्रशिक्षक मार्सेलो गालार्डोले पहिलो लेग गुमाएका थिए । शनिबार हुने दोस्रो लेगका लागि उनी तयार छन् साथै उत्साही पनि । ‘म र मेरा खेलाडीहरू समर्थकप्रति नतमस्तक छौं, जसले दोस्रो लेगमा स्पष्ट जितका लागि हामीमाथि भरोसा गरिरहेका छन्,’ प्रशिक्षक मार्सेलोले भने । उनले थपे, ‘हामी यो मान्छौं कि हाम्रो जमिन र हाम्रा समर्थक दोस्रो लेगमा हाम्रो पक्षमा हुनेछन् ।’

मैदानभित्र, सेन्टर मिडफिल्डको प्रतिस्पर्धा दुई क्लबको प्रचलित उपनामले प्रतिविम्बित गर्नेछ । द मिलियोनायर्स भर्सेज म्यानुर सोभेलर्स । सेन्टर मिडफिल्डर गोन्जालो मार्टिनेजले हालै अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीको ध्यान केन्द्रित गर्न सफल भएका थिए । उनी अन्तर्राष्ट्रिय डेब्यूमै गोल गर्न सफल भएका हुन् । सेप्टेम्बरमा भएको खेलमा अर्जेन्टिनाले ग्वाटेमालाविरुद्ध ३–० को जित दर्ता गरेको थियो ।

उनले शनिबार बोकाका कोलम्बियन डिफेन्सिभ मिडफिल्डर विल्मर बार्रियसको खराब ट×याकलबाट जोगिएर बस्नुपर्ने हुन्छ । २६ वर्षीय यी खेलाडी सन् २०१६ यता कोलम्बियाको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्छन् ।

रिभरले ३६ वर्षीय भेट्रान कप्तान लियोनार्दो पोन्जियोलाई पुनरागमन गराउँदैछ । मांसपेसीको चोटका कारण उनले पहिलो लेग गुमाएका थिए । यता बोकाले पनिआफ्नो स्वर्ण पुस्ताका खेलाडी ३३ वर्षे पाब्लो पेरेजलाई दुई सातापछि मैदानमा उतार्दै छ । गोलीगाँठाको चोटका कारण मैदानबाहिर रहेका पेरेज पूर्ण स्वस्थ भइसकेका छन् ।

यी दुई क्लबका प्रशिक्षकको इतिहास पनि कम्ती रोचक छैन । दुवै आफ्ना क्लबका महान् हुन् । दुवैले टिमका लागि थुप्रै उपाधि दिलाएका छन् । खेलाडीका रूपमा गालार्डोले रिभरबाट ६ पटक अर्जेन्टिनी लिग र सन् १९९६ मा लिबर्टाडोरेसको उपाधि जितेका छन् ।

सन् २०१४ मा प्रशिक्षकका रूपमा जिम्मेवारी लिएकै वर्ष उनले रिभरलाई कोपा सुडामेरिकाको उपाधि दिलाए । जुन, रिभरका लागि १७ वर्षपछिको पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो । त्यसको अर्को वर्ष नै उनले रिभरलाई तेस्रोपल्ट लिबर्टाडोरेसमा च्याम्पियन बनाए ।

यता बार्रोस चेलोट्टोको कीर्तिमान त अझै प्रभावशाली छ । खेलाडीका रूपमा ६ पटक अर्जेन्टिनी लिग जित्नुका अलावा उनले चारपल्ट लिबर्टाडोरेज र दुईपल्ट कोपा सुडामेरिकाको उपाधि जितेका छन् । चेलोट्टोले बोका जुनियर्सको प्रशिक्षण थालेको दुई वर्षमात्र भयो ।

त्यसमा एउटा अर्जेन्टिनी लिग जित समावेश छ । छपल्ट लिबर्टाडोरेजको उपाधिसाथ बोका जुनियर्स दक्षिण अमेरिकामा सर्वाधिक सफलताको कीर्तिमान बराबरी गर्न एउटा उपाधिबाट टाढा छ । यद्यपि उसले पछिल्लोपल्ट यस प्रतियोगिताको उपाधि जितेको एक दशकभन्दा बढी भइसकेको छ । जबकि रिभरले सन् २०१५ मा यो उपाधि जितेको थियो ।


Related posts

Leave a Comment