इटलीबाट गाउँपालिका प्रमुखलाई खुल्ला पत्र: अहिले पनि केही गर्नु भएन भने तपाइकै मलामी घट्नेछन्


तिर्थराज अधिकारी

डिएर बाजे(हजुरबा),
नवल सिंह रावल(मोहन्याल गाउँपालिका प्रमुख)
ढोग छ ।
सन्चै हुनुहुन्छ भन्ने आशा छ ।
मेरो नामले मात्रै मलाई चिन्नुहुन्न होला ।
म देवीराम अधिकारीको साइँलो छोरा ।
आशा छ यती भनेपछि चिन्नुहुन्छ ।
टाढा भए पनि गाउँघरको याद आइरहने । विदेशमा जति सुख सुविधा भए पनि जन्मे हुर्केको गाउँको याद आउनु स्वाभाविकै पनि हो ।
म यो पत्र मार्फह तपाइलाई केही कुरा भन्न चाहन्छु । मेरो पढाई राम्रो छ । म क्यान्सरको विकिरणद्वारा निदान गर्ने सम्बन्धी अध्ययन गरिरहेको छु ।
बाजे,
मेरो सुगरखाल (हाल मोहन्याल)प्रति उच्च माया छ । सुगरखालमा जन्कमेकोमा मलाई गर्व छ । साबिक सुगरखालको आखडेकोटमा जन्मिएर मैले तत्कालीन समयमा साह्रै अपमानको सामना गर्नु परेको मलाई याद छ ।
कञ्चनपुरको महेन्द्रनगरमा पढ्दा सोल्टाको भएर मैले सोल्टी उपनाम पाए । तराई तिरको साथीहरूले पाखे भनेर जिस्काउँथे ।
मेरा एक लम्कीमा बस्ने आफन्तले सुगरखालमा भात खान पाइँदैन भनेका थिए । यी सबै कुरा भोगेको मेरो दिमागमा अझै ताजा छ ।
एक जनाले मलाई सुगरखालको मान्छे तराइ झर्दा डराउँछन् र प्रगति गर्न सक्दैनन् भनेको अझै सम्झन्छु । पहाडका मान्छेलाई बोल्न आउँदैन ।
जङ्गलमा बस्ने मान्छे ।
कपडा लाउन आउँदैन ।
खान आउँदैन भनेर मलाई कतिले भने भने ।
सुगरखालमै जन्मेर पनि आफ्नो परिचय लुकाउने पनि मैले कति मान्छे देखेको छु ।
तर मलाई गर्व छ । यी सबै कुरा सुन्नु किन र्पयो तपाईँ ज्ञात हुनुहुन्छ । बोल्नेको मुखमा मास्क लाउने ठाउँमा तपाईँ हुनुहुन्छ । तपाइले अहिले पनि केही गर्नु भएन भने तपाइकै मलामी घट्नेछन् ।
डियर बाजे,
मरी लानु केनै छ र ? तपाइका छोराहरू पनि सबै आफै सक्षम छन् । अब मोहन्याललाई व्यवस्थित गर्नुस् । तपाइलाई सम्झिनेछन् मोहन्यालीले सधैसधैसम्म ।
मैले जति पनि हेपाई खाए । धेरैले जिस्क्याए । तर अबका पुस्ताले त्यस्तो परिस्थितिको सामना गर्नु नपरोस । कसैले हेप्ने वा जिस्काउँने आँट नगरुन् । त्यसका लागि तपाइले पहल गर्नु र्पयो । काम गर्नु र्पयो ।

के छन् त गर्नु पर्ने ?
पहिलो काम चिसापानी देखि सोल्टासम्मको बाटो कालोपत्रे गर्नुहोस् । विद्युतको व्यवस्था गर्नुस् । यती मात्रै गर्न सकियो भने पनि हामीलाई हेप्न कम हुनेछ । मोहन्यालको भनेर हेप्न कम हुनेछ । तपाइले एउटा ठुलो गल्ती गर्नु भएको छ ।
आखडेकोट र रुइनीकोट लगायतका ठाउँमा सोलारबाट पानी र्पुयाउनु भएको छ । त्यो सराहनीय छ । तर त्यो ठाडो भ्रष्टाचार हो । त्यहाँ बनायएका एक योजनाले मात्रै त्याहा राष्ट्रिय प्रसारणको विद्युत् पुग्थ्यो । तपाइले किन सोच्नु भएन । ती योजनामा लाखौँको कमिसन तपाइले वा तपाइका कोही मान्छेले खाएको प्रस्ट छ । समस्या धेरै छन् तिनको दीर्घकालीन समाधान खोज्नुपर्छ ।
सोलार दीर्घकालीन उपाय होइन । यो त अझै माथि डाडातीर जहाँ विद्युत् र्पुयाउन गाह्रो छ त्याहाको लागि उपयुक्त हुन्थ्यो । ओखडेकोटमा पानी पुग्दा म धेरै खुसी भए । रुइनीकोटमा पानी पुग्दा पनि म खुसी भए । तर मोहन्यालको सुख्खा ठाउँ ती मात्रै होइनन् । धेरै गाउँ छन् ।
उनीहरूको पीडामा मल्हम लगाउने पनि योजना ल्याउनुर्पयो ।
विकासका नाममा तपाइका जनप्रतिनिधिले ठुलो भ्रष्टाचार गरेका छन् ।
उपभोक्ता समितिको नाममा लुट्ने काम भएको छ । तपाईँ त रमिते बन्नु भएको छ ।
डियर बाजे,
मलाई तपाइले नै अनियमितता गर्नुहुन्छ होला जस्तो लाग्दैन । तर तपाइकै नाममा ठुलै भ्रष्टाचार भएको छ । यसमा सजग रहनुस् ।
सम्पूर्ण योजनाको पूर्ण जानकारी राख्नुस् । तपाइका झोलेले भनेको कुरा मात्रै सुन्नु भयो भने तपाइले पाएको नयाँ जीवनलाई मान्छेहरूले धिक्कार गर्नेछन् । आफ्नै दिमागले काम गर्नुहोला ।
शिक्षकलाई राजनीतिक संरक्षण नदिनुस्
जसले पढाउने बेला राजनीति वा अरू केही गर्छ भने उसलाई सिधै जागिरबाट हटाउनुस् । त्यहाँका धेरै शिक्षकले अझै कालोपाटीमा लेख्छन् । साना केटाकेटीको ब्रेनवास नगर्नुस् । कम्तीमा सेतोपाटीको व्यवस्था गर्नुस् । झोले शिक्षक छन् भने तुरुन्त कारबाही गर्नुस् ।
त्यस प्रकारका कुकृत्यबाट म निकै दुखी छु । शिक्षकलाई कुनै पनि राजनीतिमा लाग्न निशेध गर्नुस् ।
कर्मचारीको मिलेमतोमा विकासको पैसा खाएको भन्ने सुनिन्छ । सजग रहनुस् ।
शिक्षा समितिमा भएका शिक्षकलाई सुझावको लागि मात्रै प्रयोग गर्नुस् । स्कुलको कामै छोडेर राजनीतिक कार्यक्रममा कुद्ने नबनाउनुस् । त्यस्तो भेटिए ठाडो कारबाही गर्नुस् । अङ्ग्रेजी माध्यमबाट पढाउने व्यवस्था गर्नुस् । जो सक्दैन तालिमको व्यवस्था गर्नुस् । त्यति गर्दा नि भएन भने ती शिक्षकलाई बिदा गर्दा हुन्छ ।
मोहन्यालका डाँडातिर विकास गर्न गाह्रो छ । त्यहाँका मानिस निकै पीडा र कष्टमा छन् । तिनलाई बस्ती हस्तान्तरण गर्नुस् । कर्णाली छेउतिर सार्नुस । जङ्गलको पनि संरक्षण हुन्छ ।

बढीगाउँको बादेखोला बजार, एमपी बजार, सोल्टा रुईनिकोटलाई एकीकृत बस्ती मोडेलमा विकास गर्नुस् । जसबाट तराइमा बसाई सर्ने काममा कमी आउनेछ । तराइका सबै सेवा गाउँमै दिनुस् ।
जङ्गल, ढुङ्गा र पानी हाम्रो सम्पत्ति हो । त्यसको समुचित प्रयोग गर्नुस् ।
चिसापानी देखि सोल्टा सम्म स्टिमर चलाउनुस् । यसबाट गाउँपालिकालाई आर्थिक रूपमा फाइदा हुनेछ भने हाम्रा दाजुभाइले रोजगारी पाउने छन् ।
युवालाई कृषिमा आकर्षित गर्नुस् । डाँडातिरका मान्छेलाई फलफुल खेतीमा प्रेरित गर्नुस् । उनीहरूलाई आर्थिक सहयोग गर्नुस् ।
कर्णालीले कटान गर्दै गएको क्षेत्रमा वृक्षारोपण गर्नुस् ।
बोटा खोला, टिउले, बादेखोला साउरे लगायतको साइडमा धेरै खाली छन् । त्यहाँ वृक्षारोपण गर्नुस् । जसबाट खोलाले गरेको क्षति पनि कमी हुनेछ । त्यसबाट काठ पनि उपलब्ध हुनेछ । आर्थिक फाइदा हुनेछ ।

खैरेनी जङ्गललाई व्यवस्थित गर्नुस् । पार्क बनाउनुस् । पर्यटक ल्याउन सकिन्छ ।
राजकाडा देखि सुगरखालसम्म गोरेटो र सुगरखाल देखि सोल्टासम्मको राम्रो बाटो र सोल्टाबाट चिसापानी बोटिंगको विकास गर्न सके पर्यटनले कायापटल गर्न सक्छ ।
बाजे , मान्छे जीवनमा अफ्ठेरोमा नआत्तिने र आलोचना र असहयोगबाट नडराउने हुनुपर्छ ।
मलाई विश्वास छ तपाइले चाहने हो भने मोहन्याल बनाउन सक्नुहुन्छ । अन्तमा उपप्रमुखसँग समय नबिताउनुस् । आफ्नो काम गर्नुस् । वडाका जनप्रतिनिधि आलोकाँचा छन् । ती राजनीतिज्ञ होइनन् । तिनलाई निगरानीमा राख्नुस् । उपभोक्ता समिति बनाउँदा आफ्नो होइन समाजको हित चाहने मान्छे खोज्नुस् ।
यत्ति गर्दा तपाइले आलोचना खेप्नु पर्ने छैन ।
यस्तो मौका मोहन्यालवासीका लागि विरलै आउँछ । यो या त्यो पार्टी नभनेर सबैले बाजेलाई सहयोग गर्न अपिल गर्दछु ।
यस्ता धेरै कुरा छन् समय आएपछि प्रेसित गर्नेछु ।
मैले मोहन्यालका धेरै ठाउँ नदेखेको र थाहा नभएकोले लेख्न सकिन । जती देखे त्यती लेँखे । त्यसका लागि क्षमा चाहन्छु ।

उही तपाइको नाति
तिर्थराज अधिकारी
ओखडेकोट
हालः मिलान इटली ।
जय नेपाल !


Related posts

Leave a Comment