उत्तर कोरियाली नेता किम चीन भ्रमणमा


उत्तर कोरियाका नेता किम जोङ उन फेरि चीन भ्रमणमा निस्केका छन् । चीनका राष्ट्रपति सि जिनफिङको निमन्त्रणामा चार दिने भ्रमणका लागि किम चीन गएका हुन् । उनी रेल चढेर उत्तर कोरियाली सीमा पार गरी सोमबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो शिखर सम्मेलनको तयारी भइरहेको बेलामा उनको यो चीन भ्रमण भएको बताइएको छ । उत्तर कोरियाको सरकारी सञ्चार संस्था केसीएनएले सोमबार किम चीन भ्रमणमा निस्केको पुष्टि गरेको बीबीसीले जनाएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले भ्रमणबारेमा पुष्टी गरेपनि के विषयमा छलफल हुन लागेको भन्ने बारेमा नखुलाएको समाचारमा जनाइएको छ ।

भ्रमणको बारेमा पहिलो पटक दक्षिण कोरियाको हान्क्योरेह न्यूज पेपरले  समाचार ब्रेक गरेको थियो ।  ट्रम्पसँग शिखर सम्मेलन हुनुअघि किमले गएको वर्ष तीन पटक चीनको भ्रमण गरेका थिए । चीन उत्तर कोरियाको मुख्य कूटनीतिक सहयोगी हो । उसको व्यापार र सहयोगको प्रमुख स्रोत पनि चीन नै हो ।


Related posts

Leave a Comment