सरकारी कागज कीर्ते गरी अर्बौं मुल्य हात पार्ने गरेको आरोपमा महन्त पक्राउ


सरकारी कागज कीर्ते गरी अर्बौ मूल्यको जग्गा हात पार्ने प्रयास गरेका जनकपुरका एक महन्तलाई प्रहरीले पक्राउ गरेको छ। जनकपुर उप महानगरपालिका ८ स्थित रत्न सागर कुटीका महन्त बैकुण्ठ तिवारी भनिने वैकुण्ठ दास वैष्णवलाई जनक हजारी विद्यापिठ जनकपुरको भोगमा रहेको गुठी संस्थानको नाममा दर्ता जग्गाको कीर्ते कागज बनाई भोगचलनको प्रयास गरेपछि पक्राउ गरिएको हो।रत्नसागर मठ जनकपुरको महत्वपूर्ण मठमध्ये एक हो।
महन्थ दासले विद्यापीठको नाममा दर्ता रहेको उपमहानगरपालिका ८ को सिट नं। १३५४९१४ किता नं। ६२ को क्षेत्रफल २ कठ्ठा ११ धुर र सिट नम्बर १३५४९१५ किता नं। २८ को क्षेत्रफल २ बिग्घा ८ कठ्ठा १४ धुर जग्गा नक्कली जग्गा धनी दर्ता श्रेष्ता बनाई बिक्री गर्न खोजेका थिए।
नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको विद्यापीठको साबिक नापिमा गुठी संस्थान अधिनस्त बराही कुटीको नाममा रहेको जग्गासँगै सडकको पश्चिमको समेत गरी ६ बिग्घा ३ कठ्ठा ५ धुर जग्गा २०५० साल जेठ १३ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई भोगचलनको लागि दिएको थियो।
गुठी संस्थानद्धारा उपलब्ध जग्गामा विद्यापीठले संस्थाको आम्दानीका लागि एक वर्ष पूर्व अढाई बिघामा पसल निर्माणका लागि भौतिक संरचना निर्माण गर्न खोजेपछि उच्च अदालत जनकपुरले निर्माण रोक्न आदेश दिएपछि आफूहरुले यस जालसाजीको बारे जानकारी पाएको प्राचार्य विजय चौधरी बताउँछन्।
उच्च अदालतले संरचना निर्माणमा रोक लगाएपछि हामीले सत्य तथ्य खोज्दै जाँदा महन्थ दासले सो जग्गाको कीर्ते कागज बनाई सोहीको आधारमा आफ्नो नाममा गर्न लगाएको र नक्कली मोही समेत खडा गरेको थाहा पाएका थियौं प्राचार्य चौधरीले भने ।
दासले किर्ते कागज बनाई जग्गाधनी महलमा रत्नसागर गुठीको नाम तथा मोही महलमा आफ्नै मठका पुजारी अशोक शर्माको नाम उल्लेख गरी जग्गाधनी पूर्जा बनाएर अदालतमा पेश गरेका थिए।
महन्थ दासको यस फर्जी कामको बारे जानकारी पाएपछि विद्यापीठका प्राचार्य चौधरीले अदालतमा वैकुण्ठ र उनका पुजारी शर्मा विरुद्ध सरकारी कागज कीर्ते गरेको मुद्दा दर्ता गराए। तर, पछिल्लो एक वर्षदेखि मुद्दामा फैसला हुन सकेको थिएन् ।
यसै क्रममा दुई साता पूर्व प्रहरीले जग्गाको नक्कली मोही बनाइएका शर्मालाई पक्राउ गरेपछि उनलेनै महन्थ दासको योजनामा आफू मोही बनाईएको बयान दिएका थिए।
सोही बयानका आधारमा गत बुधबार जिल्ला अदालतले महन्थ दासलाई आरोपी ठहर गर्दै उनको नाममा पक्राउ पुर्जी जारी गरेपछि दास जनकपुरबाट फरार भएर काठमाडौं पुगेका थिए।
उनलाई बुधबार राति अपराध अनुसन्धान महाशाखाको सहयोगमा काठमाडौंको बागबजारबाट पक्राउ गरी बिहीबार हवाईजहाजबाट कडा सुरक्षाका बीच जनकपुर ल्याइएको हो। महन्थ दासले आफ्नो घरमै बसेर सरकारी कागज किर्ते गरेको हुनाले यसमा मालपोत कार्यालय वा गुठी संस्थान कार्यालय वा कर्मचारीहरुको कुनै संलग्नता नरहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए।
महन्थ दासलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै घटनाको जानकारी गराएको हो। उनलाई जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने जनाइएको छ। उनीमाथि अपराध सिद्ध भएको खण्डमा जग्गाको बिगो बमोजिमको माग दाबी र ३ वर्ष सम्मको कैद हुनसक्ने जनाइएको छ।
यस अघि महन्थ दासले गुठी अधिनस्त जग्गामा अवैद्य रुपमा बस्ती बसाएर त्यसलाई आफ्नो नाममा नामांकरण समेत गरेका छन्। महन्थ दासले अवैद्य रुपमा बिक्री गरेको मन्दिरको जग्गामा बसेको वैकुण्ठ नगरमा करिब तीन सयभन्दा बढी पक्की घर निर्माण भइसकेका छन्। उनी पक्राउ परेपछि ढिलो भएपनि न्याय पाउने आश जागेको विद्यापीठका कर्मचारीले बताएका छन्।


Related posts

Leave a Comment