अबअध्यक्षमा मेरो दाबी स्वाभाविक, गलत अभ्यास भए सामना गर्न तयार छु : आचार्य


” काम गर्नका लागी पद नै चाहिन्छ भन्ने होईन । पदमा रहेर वा नहरेर पनि यो अभियानमा योगदान गर्न सक्छु । एनसीसी आईसीसीमा रहेर निरन्तर १२ वर्ष काम गरेका साथीहरु सायदै छन । अनुभव, ज्ञान र क्षमताका आधारमा पनि अब नेतृत्वका लागी स्वभाविक दाबेदार हुँ । यो बुझेर पनि नेतृत्वमा जानकै लागी कतैबाट गलत अभ्यास भयो भने म यसको डटेर सामना गर्न तयार छु । “

१५ वर्ष पहिले विश्वभर छरिएको नेपाली डायस्परालाई एउटै संस्थामा आबद्ध गर्ने उदेश्यले स्थापित गैरआवासीय नेपाली सङ्घ अहिले विश्वभर नेपाली पुगेका ७९ देशमा क्रियाशील छ ।

विश्वको जुनकुनामा भए पनि आफू जन्मेको देशको सेवा गर्ने पवित्र उदेश्यले सक्रिय एनआरएनलाई नेपालको समृद्धिको यात्रामा धेरैले जोडेर चर्चा गर्ने गरेका छन् ।

भर्खरै मात्रा एनआरएनएले आर्थिक लगानी मात्रै होइन विकसित देशमा सिकेको सिप र ज्ञानलाई नेपालमा लगानी गर्न सके नेपाल समृद्ध बन्ने उदेश्यसहित विज्ञ सम्मेलन काठमाण्डौमा गरेको छ ।

विभिन्न देशमा कायरत नेपाली विज्ञहरूलाई एउटै थलोमा ल्याएर छलफल चलाउने र उहाँहरूको सिप र ज्ञानलाई नेपालको हितमा प्रयोग गर्ने रणनीतिक उदेश्यसहित सम्पन्न सम्मेलनले नेपालको समृद्धिमा ठुलो योगदान दिने धेरैको अनुमान छ ।

एनआरएनको विधान सभा, अहिलेका खास एजेन्डा, विश्भर रहेका नेपालीका गतिविधि र आगामी नेतृत्वसम्मका विषयमा एनआरएनएका उपाध्यक्ष कुल आचार्यसँग टिभी अन्नपूर्णका सम्पादक राजु सुवेदीले गरेको कुराकानी :

एनआरएन अभियान कसरी अगाडि बढिरहेको छ ?

हामी पहिलो कार्यकालमा बाँकी रहेका केही कामहरू पुरा गर्न गइरहेका छौ । विभिन्न देशमा रहेका गैर आवासीय नेपालीलाई यो अभियानमा सक्रिय बनाउन विश्वभर पुगेका छौँ । भर्खरै मात्रै काठमाडौंमा विज्ञ सम्मेलन गरेका भयो ।

एनआरएनएको क्षेत्रीय सम्मेलन एक वर्ष नेपाल र अर्को वर्ष नेपाल बाहिर हुन्थ्यो । तर यो वर्षदेखि दुई वटै नेपालमै गर्ने सुरु गरेका छौ । यसले सम्मेलनका बेला विदेशमा हुन खर्च नेपालमै भएकोले हामी थप हर्षित छौँ । साथै विधान सभा मार्फत गैरआवासीय नेपाली सङ्घको विधानमा सामान्य परिमार्जन समेत भएको छ ।

एनआरएनए संसारभरि फैलिएका सबै नेपालीहरूको साझा अभियान हो भन्ने म्यासेज आम नेपालीबिच पुगेको छ । यो अभियान मार्फत सबै नेपालीलाई एउटै सञ्जालमा आबद्ध गर्न सफल भएका छौँ । त्यस्तै विभिन्न कार्यदलमार्फत केही परियोजनाहरू अघि बढेका छन् । समय समयमा सभा सम्मेलन गर्ने, नेपालमा लगानी कसरी भित्राउने भनेर गृहकार्य भइरहेको छ ।

सङ्क्षेपमा भन्दा एनआरएन अभियान नेपालमा केही योजना बनाउँदै, केही हस्तान्तरण गदै र प्रवासमा सबै नेपालीहरूको एउटा साझा संस्थाको रूपमा विस्तार गदै अघि बढेको छ ।

गैर आवासीय नेपाली सङ्घलाई धेरैले नेपालको कायापलट गर्न सक्ने संस्थाका रूपमा बुझ्न थालेका छन् । तर तपाइहरू गफ गर्ने काम नगर्ने हुनुभयो भन्ने आरोप छ नि ?

हामी यो देशको समृद्धिको लागी एउटा अङ्ग हुन सक्छौँ, हामी एउटा पार्टनर हुन सक्छौँ तर कायापलट गर्ने संस्था भन्नु मलाई व्यक्तिगत रूपमा उपयुक्त लागेन । हामी अहिले पहिलो जेनेरेशनको नेपाली हौँ । हामी आफ्नै विभिन्न समस्याले विदेशिएका थियौँ । आफूलाई प्रवासमा स्थापित गर्नका लागी पनि त्यति सजिलो छैन ।

विदेशमा आफूलाई आर्थिक रूपमा केही उक्सेर नेपालतिर फर्कने कुरा धेरैले सोचेजस्तो सजिलो छैन । यद्यपि हाम्रा संस्थापकहरू , अध्यक्षज्यूहरू लगायत धेरै गैरआवासीय नेपालीले नेपालका केही क्षेत्रमा लगानी गर्नुभएको छ । यसले धेरैलाई उत्साहित बनाएको छ ।

भर्खर जुन नेपालमा पहिलो विज्ञ सम्मेलन भएको छ । यसमा विश्वका विभिन्न देशमा ७ सय विज्ञहरू सहभागी भएका छन् । हामी सधैँ ठुला ठुला अपेक्षा बोकेर हुँदैन । गर्न सम्भव भएका ठुला काममा पनि हाम्रो चासो अवश्य रहन्छ । तर नेपालमा अहिले पनि गैरआवासीय नेपालीले खुलेर काम गर्न सवालमा सानातिना समस्या छन् । जस्तै मैले एउटा सानो उदारहण यहाँलाई पेस गरौँ ।

विदेशमा रहेको नेपालीका उनीहरू रहेकै देशको बैङ्कका खातामा प्रशस्त पैसा छ । तर यसरी जमेर बसेको पैसा नेपालका बैङ्कमा ल्याएर राख्ने र उनीहरूले चाहेको बेला विदेश लैजान सक्ने वातावरण सरकारले बनाउने हो भने यसले पनि नेपालमा ठुलै चेञ्ज ल्याउँछ । सरकारले वातावरण अझै अनुकूल बनाउदैं लैजानुपर्छ ।

एनआरएनएले गफ मात्रै गर्छ काम गर्दैन भन्ने थेगो पुरानो भई सक्यो । काम र कुरा सँगसँगै अघि बढिरहेका छन् । मैले सुरुमै भनिसकेको छु । हामी केही परियोजना सुरु गदैंछौं, केहीको काम तीव्र गतिमा भइरहेको छ । केही काम पुरा भएर हस्तान्तरण पनि भैसकेको छन् ।

तपाईँको आफ्नै सक्रियतामा बेलायतमा भएको एक कार्यक्रममार्फत नेपाल १० अर्ब भित्राउने घोषणा गर्नुभएको थियो त्यो कार्यक्रम कहाँ पुग्यो ?

अहिले हामी यो विषयलाई कार्यन्वयनमा लैजान आन्तरिक गृहकार्यमा लागिरहेका छौँ । यो कार्यक्रमका लागी नेपाल सरकारको पनि स्वामित्व रहने गरी निजी सरकारी साझेदारीमा काम गर्ने हाम्रो सोच हो ।

सुरुवातमै पब्लिक लिमिटेड कम्पनीका रूपमा लैजान सक्नेगरि नेपाल सरकारको समेत आंशिक स्वामित्वमा कसरी जान सकिन्छ भन्ने अध्ययनको क्रममा छौ । हामी यसबारे छिट्टै निष्कर्षमा पुगेर जानकारी दिनेछौँ ।

प्रवासमा बस्ने नेपालीलाई केन्द्रित गरेर एनआरएनले के कस्ता कार्य गरिरहेको छ ?

वास्तवमा भन्ने हो मैले गौरवका साथ भन्छु गैरआवासीय नेपाली सङ्घ विश्वभरका नेपालीको सारथि बनेको छ । आफ्नो स्थापनाकाल देखिनै प्रवासमा बस्ने नेपालीहरूको हकहितको लागि काम गर्दै आएको छ ।

प्रवासी नेपालीहरूलाई विदेशमा सङ्गठित गर्नुका साथै उनीहरूका हरेक दुःख सुखमा साथ दिदैं आएको छ । म केही साना साना कामको उदारहण दिन चाहन्छु । केही वर्ष अघि बेलायतमा नेपालीले नेपालीलाई समेत दुःख दिए । त्यो अवस्थामा एनआरएनए जुर्मुरायो ।

पोर्चुगलमा त्यस्तै अवस्था आयो । मध्यपूर्वका केही देशमा नेपाली मजदुरहरू समस्यामा परे त्यहाँ हाम्रो उपस्थिति भयो । धेरै ठुला कुरा अहिले नगरौँ तर विश्वभर रहेका आम नेपालीका दुःख सुखमा एनआरएनएले निक्कै महत्त्वपूर्ण काम गरेको छ ।

गैर आवासीय नेपाली सङ्घ विदेशमा बस्ने धनीहरूको क्लब बन्यो, गरिब मजदुर प्रवासी नेपालीलाई समेट्न नसकेको हो ?

एनआरएनए धनीहरूको कल्व बन्यो भन्ने कुरामा म सहमत छैन । तर यो स्वाभाविक हो की अहिले एनआरएनए सेल्फ फण्डेड संस्था हो । हामी हरेक कार्यक्रममा आफै आर्थिक स्रोत जुटाएर काम गरिरहेका छौ । यसमा सक्रिय साथीहरू विश्वभर घुम्ने र सङ्गठित गराउदैं हिँड्नुपर्ने अवस्था छ । यसमा स्वाभाविक रूपमा सबैको उपस्थिति सहज नहुन सक्छ । यसबाहेक कतिपय अवस्थामा व्यक्तिगत रूपमै पनि केही धनराशि आर्थिक सहयोग गर्नुपर्ने हुन्छ ।

तपाईँ अनुमान गर्न सक्नुहुन्छ यो संस्था बनाउने हाम्रा अग्रजहरूले पुरै आफ्नै लगानीबाट संस्था बनाउनका लागी अहिलेसम्म कति लगानी गर्नु भए होला ? यस कारण पनि अलिकति पैसा नभएको वा सफल नभएको मान्छेले काम गर्न पक्कै सहज थिएन । यसको अर्थ यसमा कम आर्थिक हैसियत राख्नेहरू सहभागी हुदैनन वा नहुने भन्ने हुँदै होइन ।

हामीले हाम्रो कमिटी बनाउने क्रममा भने हरेक पटक तल देखी माथि हरेक तह तप्का र वर्गको सहभागिता सुनिश्चित गरेका छौ । यसैले यहाँहरूले यसलाई धनीहरूको कल्व भन्दा धनी बनाउने खोज्ने क्लबको रूपमा परिभाषित गरिदिनुभयो भने न्याय हुने मेरो बुझाई छ ।

तपाइहरूले गरेको विज्ञ सम्मेलनको विशेषता के हो ? यो के को लागी गर्नुभयो ?

नेपालमा लगानी भनेको पुँजीको मात्रै लगानी होइन ज्ञान सिपको आदानप्रदान पनि महत्त्वपूर्ण हुन्छ । विज्ञ भन्नाले पिएचडी वा प्रोफेसर मात्रै होइन । विकसित देशमा जुनसुकै क्षेत्रमा हासिल गरेको दक्षता नेपालमा प्रयोग गर्न सके यसले नेपालको समृद्धिमा टेवा पुग्न सक्छ भन्ने नै हो । सम्रगमा यसको उद्देश्य विदेशमा नेपालीले सिप र ज्ञानलाई नेपाल कसरी भित्राउन सकिन्छ भन्ने नै हो । कति सम्म यसलाई उपयोगमा ल्याउन सक्छौँ हो आगामी दिनले देखाउला ।

विदेशमा नेपालीले सिकेको सिप र ज्ञानलाई नेपालमा प्रयोग गर्ने वातावरण बनाउन ठोस के गर्दै हुनुहुन्छ ?

पहिलो चरणमा त हामीले यो ज्ञान र सिपलाई कसरी नेपालमा ल्याउन सकिन्छ भन्ने विषयमा सैद्धान्तिक छलफल मात्रै सुरु गरेका हौँ । यो सोसल नेटवर्कले तत्काल प्लानिङ भन्दा पनि म्यासेज दिने काम गर्छ भन्ने विश्वास लिएका छौ । अहिले नै कुनै योजना नै बनाई सकेको अवस्था भन्दा पनि अहिले जुन बृहत् छलफलको पहल थालेका छौ । आशा छ हामीले छिट्टै यसका लागी ठोस योजना पनि बनाउने छौँ ।

यस पटक भएको विधान संशोधनले एनआरएन मुभमेण्टमा के अर्थ राख्छ ? अध्यक्षको कार्यकाल बढाउने प्रस्ताव किन पारित हुन सकेन ?

यसपटकको विधान संशोधनमा खासै ठुलो परिवर्तन भएको अवस्था होइन । विभागीय उपाध्यक्षहरूका बारेमा केही परिमार्जन गरेका छौँ ।

अध्यक्षको कार्यकाल बढाउने सवालमा हो बेला बेला २ वर्षे कार्यकाल आफैमा पर्याप्त भएन । यो समयमा चाहे जति काम गर्न नसक्ने भएकाले कार्यकाल बढाउने विषयमा बहस कहिलेकाहीँ हुने गरेको पक्कै हो । यही कारण अध्यक्षज्यूले ३ वर्षे कार्यकाल बनाउने प्रस्ताव गर्नुभएको थियो । तर हलले पारित गर्न सकेन । यसमा मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने दुई वर्षे कार्यकाल आफैमा छोटो समय हो भन्ने मलाई लाग्दैन । यसलाई भरपुर उपयोग गर्न चाहे यो समयमा धेरै काम गर्न सकिन्छ ।

तपाईँ उदारहणकै रूपमा हेर्नुहुन्छ भने वर्तमान अध्यक्ष गएका एकवर्षमा पुरै विश्व घुम्नुभयो । त्यहाँ रहेका समन्वय समितिसँग विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । नेपालमा भएका एनआरएन मुभमेण्टमा पनि उहाँ सक्रियताका साथ लाग्नुभएको छ । केही कार्यक्रमहरू सम्पन्न हुने क्रममा थिए ती सकिए । केही चलिरहेका छन् अहिले पनि ।

केही नयाँ योजनाहरू पनि बनिरहेका छन् । मेरै व्यक्तिगत धारणा सोध्नुहुन्छ भने यो अवधिमा भएका गतिविधिहरू लोभलाग्दो गरी अघि बढेका छन् । यस कारण दुईबर्षे कार्यकाल कामै गर्न नसक्ने छोटो भयो भनेर मैले भन्दिन ।

अब अलिकति प्रंसग बदलौँ, तपाईँ आफैले नेतृत्व गरेको एनआरएनए च्यारिटी विभाग के गदैंछ ?

संसार भरि रहेका एनसीसीहरुलाई वान एनसीसी वान प्रोजेक्ट गर्नुस् भनेर आग्रह गरेका छौ । सोही अनुसार काम पनि भइरहेको छ । यसअन्र्तगत कतिपय अवस्थामा देखासिकीमार्फत पनि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गैरआवासीय नेपालीले काम गरिरहेको अवस्था छ । यसका लागी हामी ईनकरेजमेन्ट गर्ने काम पनि हामीले गरेका छौँ । जस्तै कुनै एक ठाउँमा अष्ट्रेलियामा बस्ने नेपालीले स्कुल बनाइदियो भने अर्कोले पनि यस्तै कुनै सामाजिक हितको कार्य गर्ने गरेको पाइएको छ । यसबाहेक हामी ६ वटा शीर्षकमा आईसीसी मार्फत च्यारिटीका काम गर्ने गरेका छौ । यी काम मेरै संयोजकत्वमा हुन गरेको छ । जस्तै वोमेन वेल्फेयर, सिस्टर स्कुल, टेली मेडिसिन बैङ्क, डिजास्टर म्यानेजमेन्ट शीर्षकमा । यही अभियानमार्फत हामी भर्खरै शंखमुल पार्क सम्पन्न गरेका छौँ । उपत्यका बाग्मती सफाइ अभियान अन्र्तगत यसबाहेक यो भन्दा अघिल्लो कार्यकालमा मैले प्राप्त गरेको एउटा डाटामा १४ करोड बराबर एनआरएनले च्यारिटीका लागी खर्च गरेको थियो । यस पटक दोब्बर पुराउने उदेश्यसहित काम गरिरहेका छौ । यसको पनि डाटा एकीकृत गरेर आगामी ग्लोबल कन्फरेन्समा प्रस्तुत गर्नेछौँ ।

उपाध्यक्ष जिम्मेवारीमा हुँदा तपाईँ तुलनात्मक रूपमा बढी सक्रिय जस्तो देखियो, आगामी कार्यकालका लागी अध्यक्ष बन्ने दौडमा हुनुहुन्छ हो ?

उपाध्यक्ष स्वाभाविक रूपमा अध्यक्षको प्रत्यासी हुन सक्छ, यसर्थ सोचाई त अवश्य आउने भयो । तर अहिले नै यसका लागी न म कुनै दौडमा छु भन्न मिल्छ न योजना नै बनाएको छु । हो साथीहरूको सुझाव अवश्य छ । मैले १२ वर्षसम्म कमिटीमा बसेर काम गर्दा साथीहरूलाई लागेको हुनसक्छ मैले नै अझै सक्रियताका साथ यो मुभमेण्टको नेतृत्व गर्नुपर्छ । यदि साथीहरू मलाई यसरी अघि सार्नुभयो भने मैले नाई भन्ने अवस्था होइन ।

स्वाभाविक रूपमा अध्यक्ष भईसकेपछि अबको पालो अध्यक्ष बन्ने हो । तर मलाई काम गर्नका लागी पद नै चाहिन्छ भन्ने पनि लाग्दैन । एनआरएनएलाई सबैको साझा संस्था बनाएर यहाँसम्म ल्याउनका लागी हाम्रा अग्रजहरूको सानो लगानी छैन । यस्तो पवित्र संस्थाको नेतृत्वमा आउनकै लागी हुने कुनै चलखेलका कारण संस्थालाई हानी पुग्न हुन्छ भन्नेमा कोही होला जस्तो लाग्दैन । यदि कोही यसरी आई हाल्यो भने यसको सामना गर्न त अवश्य तयार हुनुपर्छ र म छु पनि । तर अहिले नै यो बारेमा धेरै नबोलौ । तीन महिनाको समय रहन्छ सोही परिस्थितिको आँकलन गरेर अघि बढ्न तयार छु ।

 


Related posts

Leave a Comment