अघिल्लो पटक खासै केही गर्न सकिन, यसपटक देखाईदिन्छु : मन्त्री पण्डित


 स्वच्छ छवि सरल तर खरो स्वभावका कारण अघिल्लोपटक लालबाबु पण्डितले निक्कै वाही वाही पाए । तत्कालिन प्रधानमन्त्री सुशील कोइराला सरकारका पालामा सामान्य प्रशासनमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका पण्डित सफल मन्त्रीका रुपमा चिनिन्छन । विदेशी ग्रिनकार्ड र पिआर लिएका सरकारी कर्मचारीलाई कारबाही गर्ने पण्डितको योजना सबैभन्दा बढि लोकप्रिय बनेको थियो । पहिलो पटक मन्त्री बन्दा धेरै जनताको मन जितेका पण्डितले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका शेखर कोइरालालाई हराएपछि फेरि चर्चित बनेका थिए । उनै लालबाबु पण्डित फेरि अर्कोपटक सामान्य प्रशासन मन्त्रालयकै जिम्मेवारी सम्हाल्ने मौका पाएका छन । उनै मन्त्री पण्डितसँग टिभी अन्नपूर्ण रिपोटर्र शर्मिला सुवेदीले गरेको कुराकानीको सारसंक्षेप ।
के छ कस्तो चल्दैंछ यसपटकको मन्त्रालय ?
ठिकै छ सन्तोषजनका रुपमा अघि बढदैछ । नियमित जुन रफ्तारमा काम गर्ने मन हो मेरो सो अनुसार काम हुन सकेको अझै छैन । पहिलो त शुरुमा फरक मन्त्रालयको जिम्मेवारी पाए । त्यसलाई अलिकति लयमा ल्यान के थालेको थिए फेरि अर्को मन्त्रालयमा जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आयो । यसबाहेक धेरै मिडियालाई समय दिनुपर्ने र केही सक्दिन भन्नै नमिल्ने कार्यक्रममा सहभागी हुदाँ काम अपेक्षाकृत भएको छैन । जे होस जनताले दिएको जिम्मेवारी पुरा गर्न उत्साहित छु ।
तपाई गणतन्त्रपछि पहिलो शक्तिशाली सरकारमा प्रधानमन्त्री ओलीको पहिलो रोजाइमै पर्नुभयो नि ?
चुनाव जितेर आएपछि हिसाब(किताब गरौंला है कमरेड भनेर अन्य नेताजस्तै केपी कमरेडलाई पनि भनेर चुनावी मैदानमा गएको थिएँ । जितेर काठमाडौं आएपछि ओली कमरेडसँग भेट भयो । उहाँलाई लगाइदिन मैले माला र खादा लगेको थिएँ । उहाँलाई लगाइदिन खोज्दा मान्नुभएन । यो चुनावमा तपाईं हिरो हुनुभएको छ भन्ने अभिव्यक्ति दिनुभयो । त्यसपछि माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेललगायत नेता भेटें । सबैले त्यही शैलीकै अभिव्यक्ति दिनुभयो । जाडो समयमा गाउँमा न्यानो कपडा बाँड्न पुगें । संसदीय दलको बैठकमा पुगें । त्यहाँबाट फर्केर एक टेलिभिजनमा अन्तर्वार्ता दिई डेरामा फर्कन लाग्दा एकाएक दौरा सुरुवाल लगाएर आउन शीर्षनेताको फोन आयो । हत्त न पत्त दौरा सुरुवाल तानतुन पार्दै शीतल निवास गएँ । त्यहाँ पुग्नुअघि शपथ कुन मन्त्रालयको हो भन्ने पनि थाहा थिएन ।
 शुरुमा तपाईलाई फरक मन्त्रालयको जिम्मेवारी थियो कस्तो लाग्यो ?
झन्डै दुई वर्षअघि नै मैले कुन मन्त्रालयमा के(कस्ता सुधारका कार्य गर्न सकिन्छ भनेर योजना बनाइसकेको थिएँ । त्यसलाई सांकेतिक रूपमा सार्वजनिक गरिसकेको थिएँ । जस्तो, सबै मन्त्रालयको आन्तरिक ‘कनेक्सन’ गृह मन्त्रालयसँग हुन्छ । गृहलाई ठीक ठाउँमा राख्ने हो भने धेरै ठाउँमा सुधार हुन्छ । इमानदार र आँटिलो व्यक्ति हुने हो भने ६ महिनामै गृहमा सुधार ल्याउन सकिन्छ । आपराधिक कार्यमा ५० प्रतिशले कमी आउँछ । त्यस्तै, सरकारी अस्पतालमा जनताको स्वास्थ्य जाँच गर्न मन नगर्ने डाक्टर छन् भने तिनलाई त्यहाँ किन राख्ने ? तिनको सट्टा एक से एक डाक्टर सरकारी अस्पतालमा सेवा गर्न आउँछन नि ! मलाई शिक्षा मन्त्रालय दिने हो भने सरकारी विद्यालयमा नपढाई तलब खाने शिक्षकलाई ६ महिनाभित्र कारबाही गर्छु । कि बानी सपारेर पढाउन जान्छन् कि त सीधै कारबाहीमा पर्छन् । मलाई जुनसुकै मन्त्रालयको जिम्मेवारी दिए पनि काम गरेर देखाउँछु । व्यवधानलाई हटाउन जानेको छु यसकारण मलाई जुनकुनै मन्त्रालयको जिम्मेवारी निर्वाह गर्न समस्या थिएन । यसैले सहज नै भयो भन्दा हुन्छ ।
सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दाँ कस्तो अनुभुत हुदैछ त ?
म खुसी छु । सामन्य प्रशासन मन्त्रालयभित्रै धेरै समस्या छन अघिल्लो पटक चाहेर पनि छोटो समयमा मैले गर्न खोजेका सबै काम सम्पन्न हुन सकेन । यसपटक ती बाँकी रहेका काम र अन्य धेरै नयाँ कामसमेत सँगै लैजानुपर्ने छ । म जनताले दिएको जिम्मेवारी पुरा गर्न दत्तचित्त भएर लाग्नेछु । म पुरै ढुक्क छु यसपटक आम नेपालीले मेरो काम अनुभुति गर्नेछन । अहिलेसम्म राजनीतिक अस्थिरतालाई देखेर सरकार पन्छिने गरेको छ । यसपटक बहुमतको सरकार बनेको छ ।
अबको अवस्थाबारे तपाईको आँकलन कस्तो छ ?
हो हामीले चाहेअनुसार नै जनताले हामीले बहुमत दिएर पठाएका छन । अस्थिर राजनीतिका कारण अपेक्षित काम हुन नसकेको यर्थाथ जुन थियो यसको अन्त्य भएको छ । यद्यपी अहिलेपनि नेपालको राजनीतिक अवस्था असामान्य नै छ । संविधान कार्यान्वयनको सुरुवात भएको छ । समस्या र चुनौती धेरै छन् । संघीयतामा जाँदा पाइला ‘फुकि फुकि’ चल्नुपर्ने अवस्था छ । स्रोत(साधनको अभाव छ । कतिपयले नेपाल फेरि पनि अस्थिरतामा फस्यो भने स्वाद आउँथ्यो भनेर टुलुटुलु हेर्नेहरू पनि भएकाले यात्रामा आउने कठिनाइलाई हिम्मतसाथ समन्वय गरेर अघि बढ्नुपर्ने अवस्था छ । मलाई विश्वास छ हामी अब समृद्धिको बाटोमा अघि बढ्नेछौ ।
यसमा नेतृत्वको भूमिकाले प्रभाव पार्ला नि ?
नेतृत्वले सबैलाई साथ लिएर अघि बढ्नुपर्ने हुन्छ । आर्थिक विकास र समृद्धिलाई अघि बढाउने मिसन छ । त्यसका लागि धेरै कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ । भविष्यको सुखका लागि वर्तमानमा केही कठिनाइ सहनुपर्ने हुन्छ । अहिलेको सरकार पनि प्रतिबद्ध छ । मागेर कोही पनि धनी भएको छैन । आफ्नै मिहिनेतले धनी हुने हो । नेतृत्वको कौशल र शैलीमा त्यो भर पर्छ । भेडाको नेता सिंहलाई बनायो भने भेडाले पनि सिंहको जस्तै ‘एक्सन’ गर्छ । सिंहको नेतृत्व भेडा बनायो भने सिंहले पनि भेडाको जस्तै एक्सन गर्छ । के हो माओवादी केन्द्र र एमालेका बीचमा प्रधानमन्त्री आलोपालो हुने भद्र सहमतिका कुरा बाहिर आईरहेका छन ।
आखिर फेरि पनि आलोपालो कुरा शुरु हुदाँ देश फेरि अस्थिरतामै जाने त होईन ?
व्यक्ति परिवर्तन हुन सक्छ । तर, मूलनीति परिवर्तन नभएपछि सरकार त उही नै हुन्छ । यसलाई अस्थिर सरकारका रूपमा सोच्नु पनि हुँदैन । हामीले जन्मको दिनमा मृत्युको कुरा गर्दैनौं । जन्मेपछि मृत्यु अवश्यंभावी छ । तर, जन्मेको दिन भोटो किनिन्छ र कात्रो पनि सँगै किनेर राख्ने चलन छैन । हामीले पनि अहिलेको परिस्थितिमा एकता र समृद्धिको बाटो हेर्ने हो । त्यहीबारे नै ध्यान केन्द्रित गर्ने हो । कठिनाइ आउँदा दीर्घकालीन समाधानको बाटो खोज्ने हो । कहिलेकाहीँ अल्पकालीन समाधानको बाटो खोज्नुपर्ने पनि हुन्छ । त्योबेला संकट व्यवस्थापन गर्ने्तिर जानुपर्छ । अहिलेको काम कतिपय संकट व्यवस्थापन र कतिपय दीर्घकालीन नीतिसँग जोडिन्छ ।
हामी कर्मचारीतन्त्रमा धेरै समस्या छन त भन्छौं तर ती समस्या भनेका के हुन ?
मैले पहिले कर्मचारीतन्त्र चलाइसकेको छु । मलाई लाग्दैन कर्मचरीतन्त्रभित्र त्यती ठुला समस्या छन । हो केही समस्या अवस्या अहिले बिद्यमान छन ।जुन समस्या प्रमुख होइन, सहायक मात्र हो । मुख्य समस्या राजनीतिभित्र छ । राजनीतिभित्र बाटो देखाउने कमान्डर अलमल पर्नु हुँदैन । कर्मचारीतन्त्र आफैँमा बाधक बन्न सक्दैन । तर, नेतृत्व गर्नेले कमान्ड राम्रोसँग गर्ने हो भने कर्मचारीतन्त्र सही मार्गमा आइहाल्छ । कर्मचारीतन्त्र हाँक्ने व्यक्तिमा भर पर्छन् यी सबै कुरा ।
अघिल्लो पटक मन्त्री हुँदा जुन रूपमा लोकप्रिय हुनुभयो अब फेरि मन्त्री बन्दा तपाईंको विगतको छवि कायम राख्ने र झन् परिस्कृत गराउने दबाब महसुस भइरहेको छ कि छैन ?
आकाशमा उडिरहेको चराले पनि धर्तीको आशा गरिरहेको हुन्छ किनकि त्यो चरा फेरि धर्तीमै बस्न आइपुग्छ । त्यस्तै, सगरमाथाको टुप्पोमा पनि कोही बसिरहन सक्दैन । ओर्लिनु परिहाल्छ । मेरो यात्रा पनि एउटा चुचुरोेमा पुगेपछि ओर्लिएर अर्को चुचुरो चढ्ने तयारी गर्ने हो । मलाई हिम्मत र सुझाव दिनुभयो भने अर्को चुचुरो पनि चढ्न सकिन्छ । मलाई कसैले तर्साउन खोजे भने पनि मेरो शक्ति झन् गुणात्मक रूपले बढ्दै जान्छ । मलाई ‘इगो’ उत्पन्न हुन्छ । र म यसपटक अघिल्लो पटकका कामले चिनिने होईन झन राम्रो काम गर्न सक्छु भन्नेमा म ढुक्क छु ।

 


Related posts

Leave a Comment