मदन भण्डारी लोकर्मागको सडक विस्तारले कटारीका दलित बस्ती विस्थापित हुँदै


अभिमन्यु लामिछाने, उदयपुर
धरान-चतरा-हेटौडा सडक योजना (मदन भण्डारी लोकर्माग)को विस्तारसँगै कटारी नगरपालिका— ४ कटारी बसपार्क नजिकैको मुसहर बस्ती विस्थापित हुने भएको छ । दक्षिण क्षेत्रमा प्रशस्त स्थान हुँदाहुँदै पनि नजिकैबाट सडक विस्तार हुँदा कटारीका २२ घर रहेको मुसहर बस्ती विस्थापित हुन लागेका हुन् ।

सडक विस्तारसँगै बस्ती विस्थापित भएमा त्यहाँका मुसहर पुन सुकुम्वासी हुने छन् । नेपाल सरकारले सुकुम्वासी मुसहरलाई २०५५ सालमा अहिले बसोबास गरिरहेको जग्गामा लालपुर्जा दिएर जग्गाको मालिक बनाएको थियो । सामान्य बसोबास गर्न पुग्नसम्मको जग्गामा नेपाल सरकारले नै जनता आवास अन्तर्गत घर बनाई दिएको छ । सरकारले नै जग्गा दिएर घर समेत बनाई दिएपनि सडक विस्तारले विस्थापित हुनु परेमा मुसहर पुन सुकुम्वासी हुने भएका छन् । पुस्तौंदेखि अहिले बसोबास गरिरहेका स्थान मै मुसहरहरू बस्दै आएका थिए । अन्य विकल्प नहुँदा तावा खोला किनार र कटारी बजार भन्दा तल खोला छेउमा बस्दै आएका उनीहरूलाई सरकारले उनीहरुकै नाममा जग्गा दर्ता गराएर लालपुर्जा समेत दिएको उनीहरू बताउँछन । तर अन्य विकल्प नदिई बस्तीबाटै सडक विस्तार हुने भएपछि समस्यामा परेको स्थानीय हरि कार्कीले बताए ।
‘दुई पुस्ता अहिलेकै स्थानमा बित्यो, खोलाले समेत विस्थापित गर्न सकेन’ स्थानीय नन्द माया परियारले भनिन्, ‘ मेरो श्रीमानलाई सरकारले जग्गा दर्ता गरिदिएको हो ।’ सरकाले नै दिएको जग्गामा सडक विस्तार हुने भएपछि फेरी सुकुम्वासी हुने अवस्था आएको उनले बताए । अहिले सडक विस्तार गर्ने काम बस्तीबाटै विस्तार हुँदै गरेको स्थानीय लक्ष्मी परियारले बताइन। तलतीरबाट सडक लैजाँदा बस्ती बच्ने तर कसैले सहयोग नगरेको उनको आरोप छ । तर सडक सर्वे भइसकेकोले अहिले आएर फेर्न नमिल्ने भन्दै बस्तीबाट सडक बन्न लागेको उनले बताइन् । ‘बस्ती विस्थापित गर्दै सडक निर्माण हुँदै छ’ लक्ष्मीले भनिन, ‘बस्ती बचाएर लैजान बारम्बार अनुरोध गरिएपनि केहिहोला जस्तो छैन ।’ सडक विस्तारबाट बस्ती विस्थापित भए मुसहरसँगै दुई परियार परिवार पनि सुकुम्वासी हुने उनले बताए । २ पुस्ता अघि नै बस्तीलाई सरकारले नापी गरेर पुर्जा दिएको स्थानीय ५३ वर्षीया नन्दमाया परियारले बताइन । ‘सकारले दिएको जग्गा अब सरकारले नै सडक बनाउने भन्दै खोस्ने भयो’ उनले भनिन, ‘जग्गा पाउने बुढा पनि मरेर गए भएका छोराछोरी नातिनातिना लिएर अब कहाँ जाने ।’ पुन सुकुम्वासी भएर जङ्गल क्षेत्र वा खोला किनार मै बसोबास गर्नु पर्ने अवस्था रहेको उनले बताइन् ।

मदन भण्डारी लोकमार्ग विस्तारले मुसहर बस्ती विस्थापित हुने कटारी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण दनुवारले बताए । ‘पटक पटक मुसहर बस्ती जोगाएर सडक विस्तार गर्न पहल गरियो’ वडाध्यक्ष दनुवारले भने, ‘अहिलेपनि २२ परिवार रहेको मुसहर बस्ती जोगाएर सडक विस्तार गर्न पहल भइरहेको छ ।’ विकल्प हुँदाहुँदै सडक बस्तीबाटै विस्तार हुनु दुर्भाग्य भएको उनले बताए ।
यता सडक एलाईमेन्ट बाहेकको क्षेत्रमा रहेको मानव बस्ती विस्थापित नगरिने सडक योजनाको पूर्वी खण्ड आयोजना कार्यालय गाईघाटका प्रमुख ललित जन खनालले बताए । ‘सडक विस्तार हुने क्षेत्रमा पनि एलाइमेन्ट एरियामै परे मात्रै बस्ती विस्थापित हुन्छ’ प्रमुख खनालले भने, ‘सडक एलाईमेन्टमा नपरेर बस्ती विस्थापित हुँदैन ।’

पूर्वी खण्डको १ सय ३४ किलोमिटरमा सडक निर्माण कार्य जेडआइइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरले करिब अढाई वर्षयता गरिरहेको छ । यो खण्डमा निर्माण हुने ४३ वटा पुल बाहेक सडकको पूर्वाधार निर्माण गर्ने कार्य भइसकेको छ । कतिपय स्थानमा बेस र सबवेसको काम भई कालोपत्रे गर्ने अवस्था भइसकेको छ । सरकारले मदन भण्डारी लोक मार्ग नामकरण गरेको धरान-चतरा- हेटौडा सडक योजना दुई खण्डमा विभाजन गरेर निर्माणको लागि ठेक्का लगाएको थियो । धरानदेखि सिन्धुलीको भिमानसम्म पूर्वी खण्डमा पर्दछ । पूर्वी खण्डमा ४३ वटा पुल सहित १ सय ३४ किलोमिटर सडक निर्माण कार्य करिब दुई वर्षयता भइरहेको छ । विभिन्न खोलामा निर्माण हुने पक्की पुल बाहेक ६ अर्ब रुपैयाँको लागतमा ३ वर्ष भित्र सम्पन्न गर्ने गरी सडक निर्माणको काम भइरहेको सडक आयोजनाले जनाएको छ । यस खण्डमा पर्ने पुल निर्माणको ठेक्का भने कोभेक-रसुवा-टुन्दि जेभी कन्ट्रक्सनले लिएर काम गरिरहेको छ ।


Related posts

Leave a Comment