‘मेड इन नेपाल’ प्रदर्शनीको उद्घाटन


प्रनिश थापा, चितवन ।
नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले चितवन महोत्सवमा आयोजना गरेको ‘मेड इन नेपाल’ प्रदर्शनी उद्घाटन भएको छ । स्वदेशमा उत्पादित वस्तु तथा सेवाका बारेमा उपभोक्तालाई जानकारी गराई स्वदेशी उत्पादन प्रयोगमा आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीको चितवन महोत्सव–२०७५ का संयोजक सहनलाल प्रधान र नेपाली युवा उद्यमी मञ्च चितवनका निवर्तमान अध्यक्ष निर्देश सेढाईले संयुक्तरुपमा समुद्घाटन गरेका हुन् ।

१२ औं संस्करणको चितवन महोत्सवमा यसका लागि छुट्टै पेभेलियन व्यवस्था गरिएको छ । जसमा २२ स्टल रहने मञ्चका अध्यक्ष निरञ्जन न्यौपानेले जानकारी दिए । स्वदेशमा उत्पादित वस्तु तथा सेवाका बारेमा उपभोक्तालाई जानकारी गराई स्वदेशी उत्पादन प्रयोगमा आकर्षित गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको अध्यक्ष न्यौपानेले बताए । नेपाली युवा उद्यमी मञ्चले ‘आफ्नो भनेको आफ्नै हो’ नारासहित प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनीको सातौं संस्करण चितवनमा आयोजना गरिएको हो । यो परिसरमा २२ स्टल छन् । नेपालमै उत्पादित माइनस ३ सय २१ डिग्रीमा बन्ने आइसक्रिम, कंक्रिटका वस्तु, मार्वल, फलामका झ्यालढोका, स्टिलका उत्पादन, पेन्ट्स, गार्मेन्ट, जुस, काठका सामान, प्लाष्टिकका उत्पादनजस्ता स्तरीय नेपाली उत्पादनलाई मेड इन नेपालले समेटेको छ ।

यता, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष एवं महोत्सव मूल संयोजक सहनलाल प्रधानले नेपाली उद्योगका उत्पादन तथा सेवा प्रयोग गर्न आम उपभोक्तालाई सचेत गराउने उद्देश्य प्रशंसनीय भएको बताए। मेड इन नेपाललाई एसियन कंक्रिटो नेपालले मुख्य प्रायोजन गरेको छ । परिसरलाई पृथक बनाउन एशियन कंक्रिटोले परिसरलाई मार्वल पार्केटिङ गरी आकर्षक लुक्स दिने एसियन कंक्रिटो नेपालका उपाध्यक्ष श्याम झाले बताए ।


Related posts

Leave a Comment