थारू पहिरनमा सजिँदै खानेपानी मन्त्री मगरले भनिन् ‘विकासको काममा कसैले अवरोध नगरौं’


खानेपानी मन्त्री बिना मगरले विकासको काममा रचनात्मक र सकारात्मक भूमिका खेल्न प्रतिपक्ष दललाई आग्रह गरेकी छन् ।
कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा थारु कल्याणकारी सभाले आयोजना गरेको प्रथम बेलौरी माघी मेलाको उद्घाटन कार्यक्रममा पुगेकी खानेपानी मन्त्री मगरले विकासको काममा सबैको भूमिका अपरिहार्य भएको बताएकी छन् । विकासको काम सबैको दायित्व भएको बताउँदै यसमा कसैले अवरोध पुर्‍याउन नहुने धारणा मन्त्री मगरको थियो ।
थारू संस्कृतिको संवर्द्धनको विषयमा उनले गाउँगाउँ बिच संस्कार तथा परम्पराहरू आदानप्रदान हुनुपर्ने बताइन्। नेपालका विभिन्न जातिले माघी पर्व मनाउने गरेको भन्दै उनले घरआँगनमा सीमित भएको माघी पर्व अब मेला र महोत्सवको रूपमा विकास भएको जिकिर गरिन् ।
उनले कञ्चनपुरको क्षेत्र नम्बर १ आफ्नै निर्वाचन क्षेत्रमा माघी खेल्न आएको बताइन् । उनले चौधरी समुदायमा देखिएको सिकल सेल एनिमियाको परीक्षण र उपचारमा सरकार गम्भीर रहेको प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा मन्त्री मगर थारु पहिरनमा मञ्चमा पुगेकी थिइन् । कार्यक्रममा उनले माघी मेलाका अवसरमा सबै आम नेपालीमा बधाई तथा शुभकामना व्यक्त गरिन् । मन्त्री मगर यसै क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । थारूहरूको महान् पर्व माघेसंक्रान्तिको अवसरमा थारू कल्याणकारी सभा बेलौरी नगर समितिले आयोजना गरेको यस माघी मेला ३ दिन सम्म चल्नेछ ।
कार्यक्रममा उपस्थित कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य सांसद कुलवीर चौधरीले थारु संस्कृतिलाई जगेर्ना गर्न सबैलाई आह्वान गरेका छन् । उनले थारु संस्कृति, खाना, रितिरिवाजको संरक्षण गर्नुपर्नेमा जोड दिए । “थारू एकता हमार सान, शिक्षा भाषा संस्कृति पौर्हैटी लैजान हमार अभियान” भन्ने मूल नाराका साथ बेलौरीमा पहिलो पटक आयोजना भएको बृहत् मेलामा जातीय पहिचान, भाषा, धर्म तथा संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्य राखिएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताए ।
तराईका चौधरी समुदायमा देखिने वंशाणुगत रूपमा सर्ने रक्तअल्पता सम्बन्ध रोग सिकल सेल एनिमियाका कारण धेरैले ज्यान गुमाउनु परिरहेको सिकल सेल एनिमिया रोग न्यूनीकरण समिति बेलौरीका संयोजक पीताम्बर चौधरीले बताए । उनले रोगको पहिचान गर्दै ल्याब तथा औषधिउपचारमा निःशुल्क व्यवस्था गर्न नेपाल सरकारलाई खानेपानी मन्त्री बिना मगरमार्फत आग्रह गरे ।
मेलामा थारू खानाका परिकार बङ्गुरको मासु, माछा, बयरको चटनी, ढिक्री, सिन्की, तिलको अचार, जाँडको झोल आदि राखिएका छन् ।
कार्यक्रममा थारु समुदायको कला संस्कृति झल्किने झाँकी, मघौटा नाच, मुङ्ग्रह्वा नाच, झुम्रा नाचको प्रदर्शन गरिएको छ । छुट्टै पहिचान बोकेको थारु संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई आफ्नो कला संस्कृति प्रतिको सम्मान र संवर्द्धन गर्न मेला आयोजना गरिएको थारू कल्याणकारिणीसभा बेलौरी नगर संयोजक खड्ग बहादुर चौधरीले जानकारी गराए । थारु समुदायको बाहुल्यता भएको कञ्चनपुर जिल्लाको पुनर्वास, लालझाडी, बेलौरी र बेलडाँडीका १० हजार भन्दा धेरैले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रमका प्रचारप्रसार समिति संयोजक कृष्ण गम् बाले बताए ।


Related posts

Leave a Comment