प्रदेश नम्बर २ स्वास्थ्यको क्षेत्रमा सबैभन्दा कमजोर : मन्त्री उपेन्द्र यादव


आलोक यादव, सिरहा।
देशका सातै प्रदेशमध्ये प्रदेश नम्बर २ स्वास्थ्य तथा शिक्षामा सबैभन्दा पछाडि रहेको उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताएका छन् । सिरहाको मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री उपेन्द्र यादवले स्वास्थ्यकर्मी डाक्टरहरू यस प्रदेशमा धेरै भए पनि स्वास्थ्यको अवस्था कर्णाली प्रदेश भन्दा कमजोर रहेको बताएका छन् ।

पछाडि परेका क्षेत्र, प्रदेश वा गाउँलाई सन्तुलनमा ल्याउन लगानीको थप जरुरी रहेको मन्त्री यादवले बताए । उनले भने, ‘जुसुकै क्षेत्रमा विकासको लागि लगानी जरुरी हुन्छ, यहाँ स्वास्थ्यको अवस्था अत्यन्त कमजोर रहेकोले स्वास्थ्यक्षेत्रमा सरकार लगानी गरिरहेको छ ।’ प्रदेश नम्बर २ स्वास्थ्यको क्षेत्रमा सबैभन्दा कमजोर रहेकोले यहाँ सरकारले लगानी गर्ने मन्त्री उपेन्द्र यादवले बताए । उनले यो क्षेत्र भूगोलको हिसाबले सुगम भएका कारण धेरै जनसङ्ख्याको बसोबास भएको तर स्वास्थ्य र शिक्षाको अवस्था कमजोर देखिएकोले सरकारले लगानी गर्न तयार रहेको जनाए।  हरेक वडाका स्वास्थ्य केन्द्र, गाउँपालिकामा प्राथमिक उपस्वास्थ्य केन्द्र, नगरपालिकामा अस्पताल र प्रदेशहरूमा एउटा विशिष्ट स्वास्थ्य उपचार गर्ने अस्पताल स्थापना गर्ने सरकारको नीतिगत व्यवस्था भएकोले सबै गाउँमा स्वास्थ्यसंस्थाहरु स्थापना हुने मन्त्री उपेन्द्र यादवले दाबी गरे । मन्त्री यादवले यो वर्षमा करिब १२ सय अस्पताल बन्ने समेत जानकारी दिएका छन् ।

सोही क्रममा सहरी विकास मन्त्री इस्तिफाक रायले नेपाल सरकारको शिक्षा तथा स्वास्थ्यमन्त्रीमा यही प्रदेशका नेताहरू मन्त्री बनेका भए पनि यो प्रदेश शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सबैभन्दा कमजोर रहेको बताए । अबको दिनमा यो प्रदेशलाई सन्तुलित विकासको लागि लगानी गर्न तत्पर रहेको बताए । उनले आफ्नो मन्त्रालयले देशभरनै खरको छाप्रो विस्थापित गर्ने, जोखिमयुक्त स्थानमा बसेकाहरूलाई स्थानान्तरण गर्ने र अति विपन्न तथा दलित परिवारलाई सुरक्षित बसोबासको लागि आवास कार्यक्रम अन्तर्गत अनुदान सहयोग गर्ने बताए ।  मन्तव्यकै क्रममा उनले नागरिकता सम्बन्धी समितिले सम्पूर्ण काम सकिसकेकोले अब चाँडै सदनबाट पास गराएर नागरिकता समस्या समाधान गर्ने बताएका छन् ।

स्वास्थ्य विभागले स्वास्थ्यकेन्द्रलाई आवश्यक स्वास्थ्य उपकरण तथा औषधिहरू प्रदान गरेको छ । विभागले एक्सरे मेसिन र आवश्यक सम्पूर्ण सामार्गीहरु, बाल बालिकाको विशिष्ट उपचारका लागि आवश्यक उपकरण तथा अन्य अति आवश्यक उपकरण र औषधिहरू सहयोग गरेको थियो । मन्त्री उपेन्द्र यादवले आवश्यक परेको बेला सबैखालको सहयोग गर्न सरकार तयार रहेको पनि बताए ।


Related posts

Leave a Comment