मेयरका दाईको घरमा हतियार देखाएर लुटपाट


आलोक यादव, सिरहा ।

सिरहाको कल्याणपुर नगरपालिका-३ स्थित इटारीप्रसाही गाउँमा हतियारधारी समूहले लुटपाट गरेका छन् । बिहीबार राति १ बजेतिर गाउँमा समुहले लुटपाट गरेका हो ।
कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलका दाई रामदेव मण्डलको घरमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलले बताएका छन् । प्रहरीका अनुसार लुटेराले रामदेवको टाउकोमा पेस्ताल तेर्साएर लुटपाट गरेका थिए । लुटेराहरुले मण्डलको घरबाट १८ तोला सुन, ४० हजार नगद, तमसुक कपाली र चाँदी लुटपाट गरेको डिएसपी खरेलले बताए। उनका अनुसार लुटपाट भएको एक घण्टापछि प्रहरीलाई खबर भएको थियो । खबर पाएपछि प्रहरीले लुटरा समुहलाई खोजतलास गरेका थिए।

कल्याणपुर नगरपालिका १२ स्थित बेल्हाबाट लुटेरा समुहलाई लखेट्दा उनीहरुले एक/एक राउण्ड गोली लोड गरिएको २ थान कटवा पेस्तोल, ताना, चप्पल छाडेर भागेका डिएसपी खरेलले बताए। लुटेरा समुह कमला खोला हुँदै धनुषातिर भागेको प्रहरीले बताएको छ ।  कल्याणपुर नगरपालिकाकै वडा ११ मा गत २२ गते राति सुरुङ खनेर लाखौंको चोरी भएको थियो । पटकपटक चोरीका घटना भइरहँदा समेत प्रहरीले खासै चासो नलिएको स्थानीयहरुको आरोप छ । कल्याणपुरमै प्रहरी चौकी भएपनि नजिकमै यस्ता घटना पटकपटक भइरहनु आश्चर्यजनक भएको उनीहरु बताउँछन् । लुटेरा समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Related posts

Leave a Comment