मोदीको नेपाल भ्रमण, पशुपतिको जात्रा सिद्राको व्यापार


राजेशचन्द्र राजभण्डारी, बागलुङ ।
नेपालीमा उखान छ पशुपतिको जात्रा सिद्राको ब्यापार भने झैँ छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण धार्मिक उदेश्य चाहिँ राजनीति नै हो भन्ने कुरामा कुनै शंका छैन । प्रधानमन्त्री कार्यकालको तेस्रो नेपाल भ्रमणमा आएका छिमेकी मुलुक भारतका प्रधानमन्त्री मोदीको अहिले भएको भ्रमण लाई राजनीति नभएर बिशुद्द धार्मिक भनेर जतिसुकै प्रचारप्रसार गरिए पनि अहिले नेपाली जनताले त्यो कुरा बिश्वास गर्ने वाला भने छैन ।
नेपाली जनताले संविधान सभाबाट नयाँ संविधान पाएपछि आफ्नो अनुकूल संविधान घोषणा नगरीएको भन्दै भारतले ५ महिनासम्म नेपाली जनता माथि आर्थिक नाकाबन्दी लगाएर जुन सकस दिए त्यो नेपाली जनताले भुल्न नसकिरहेको समयमा जसरी मोदीले नेपालको भ्रमण गरे यसलाई राजनीति भ्रमण सद्भाव भ्रमण भन्न नसकेर धार्मिक भ्रमणको नारा दिए जसलाई एकमिनेट पनि बिश्वास गर्ने आधार भने छैन ।

हिजो नेपालमाथी नाकाबन्दी गरेर जुन अपराध भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए अहिले देशमा नयाँ जननिर्वा्चित बामपंथी गठबन्धनको प्रचण्ड बहुमतको सरकार बनिसकेको सन्दर्भमा भारतले नेपालसँग सम्बन्ध सुधार गर्नुको अर्को बिकल्प थिएन , त्यसलाई मजबुत बनाउने नाममा मोदीले योजनाबद्द रूपमा नेपालको भ्रमण तय गरेको हुन् भन्ने कुरा स्पष्ट छ ।नेपालमा केपी ओली प्रधानमन्त्री बन्ना साथ भारतीय बिदेश मन्त्री सुषमा स्वराज सिधै नेपाल आएर राजनीति कुराकानी गरे अनि ओलि लाई भारतीय प्रधानमन्त्री मोदिले भारत भ्रमणको निम्तो पठाएको जानकारी दिनु देखिको घटनाक्रमलाई बिचार विश्लेषण गर्दा अहिले भएको मोदीको भ्रमण लाई धार्मिक भ्रमणको संज्ञा दिनु साच्चै भन्ने हो भने धर्ममाथी नै बलात्कार हो भन्दा फरक पर्दैन । किनभने चोरको पनि इमानदारीता हुन्छ तर यहाँ नेर मोदीको भने इमानदारीता नभएको कारणले अहिले धर्म भाके पनि भगवान भाके पनि कसैले पनि यसलाई बिश्वास भने गर्दैनन् धर्मको नाममा गेरू बश्त्र पहिरेर दुनियाँ झुक्याएर अब कोही पनि झुक्किने वाला छैन ।

अहिले जसरी मोदीले नेपाली जनतालाई फेरि एकपटक गुमराहमा राख्न नेपाल बिना भारतको काम अधुरो राम अधुरो भारतको धाम अधुरो नेपाल बिना भारतको सब थोक अधुरो भनेर जुन भाषण गरे त्यहीँ भाषणमा मोदीले नेपाल लाई गरेको नाकाबन्दी मधेसी मोर्चाको साथ बिना अधुरो भनेर भनी दिएको भए साच्चै मोदीले भनेको कुरामा केही सत्यता छ भन्ने पत्याउने आधार हुने थियो तर यसपटक पनि मोदीले नेपाली जनताको मन जित्ने निकै प्रयास गरे पनि उनको भाषण सुनेपनि यसपटक भने कसैले पनि बिश्वास भने गरेनन् यसबाट के कुरा सिद्ध भएको छ भने अहिले मोदीले नेपाल र नेपाली बिचमा जतिसुकै नाटक मंचन गरेपनि त्यसको कुनै अर्थ देखिएन ।यसबाट मोदी लाई नै घाटा पुगेको छ भारत प्रति नेपाली जनताको माया र बिश्वास ह्वात्तै घटेको छ ।

नेपालमा बामपंथी गठबन्धनको सरकार गठन भए पछि कसरी हुन्छ यो गठबन्धन लाई सरकार बनाउन नदिने खेल पनि भारतीय शासकहरूले खेले अहिले सरकार बनेपछि भारत संग भन्दा छिमेकी चीन तिर नेपालको सम्बन्ध बलियो हुन सक्छ भन्ने अनुमान लगाएर जसरी हुन्छ त्यसलाई रोक्ने र छेक्ने कामको लागि पनि अहिले भारतको सक्रियता बढेको देखिन्छ ।केपी ओली भारत भन्दा पहिला चीन जान सक्छन् भन्ने लागेर उनलाई रोक्न भारतमा बोलाए अनि आफु चीन गए फेरि ओली चीन जानसक्छन् भनेर फेरि आफु नै नेपालमा आए अहिलेको काम गतिविधिले बामपंथी सरकारका प्रधानमन्त्री केपी शर्मा ओली लाई चीनले भरसक बिश्वास नगरोस् भन्ने बाताबरण मोदीले सृजना गरिदिएको छ ।

मोदीको जगजगी भारत बाट काठमाडौ नआइकन सिधै जनकपुर आउनु आफु संगै सुरक्षा फौज समेत भारत बाटै ल्याउनु अनि धार्मिक भ्रमण भनिन्छ अनि जनकपुर अयोध्या सम्मको रामायण सर्किटको उद्घाटन गर्नु बिबादास्पद अरूण तेस्रो सुभारम्भ गरिनु जनकपुर लाई १०० करोड सहयोग घोषणा गर्नु कहाँ को धार्मिक भ्रमणमा पर्छ ।हिजोका दिनमा भारतले धेरै सहयोग गर्ने प्रतिबद्धता भएको आयोजना अहिले पनि नाममै सिमित छ अहिले फेरि नेपाली जनतालाई झुक्याएर केही समय आँखामा छारो हाल्ने काम पनि अझै नहोला भन्ने के ठेगान ।
अहिले पनि भारतका प्रधानमन्त्री मोदीले कुनै पनि लाज शरम नमानी नेपाली जनताको सामु उभिएर नक्कली आश्वासन दिन सफल त भएका छन् तर भबिस्यमा यो कुरा सफल कसरी हुने भन्ने बारे बिश्वास गर्ने आधार छैन ।अहिले मोदीको भाषण चुनावी नेताको चुनावी भाषण जस्तो मात्रै हुने हो कि भन्ने आशंका नेपाली लाई छ ।जुन संविधानको बिषयमा असहमति भएर जसरी ५ महिनासम्म नाकाबन्दी गरे असल छिमेकी हैन दुष्ट छिमेकीको व्यवहार गरे नाकामा आफ्नो हनुमान आफ्नो दासहरू लाई अगाडि सारेका थिए धन्य छन् मोदी र उनको इसारामा चल्ने मधेसी मोर्चाहरू ।
अहिले मोदीको जनकपुर देखि मुक्तिनाथको यात्रा लाई धार्मिक संज्ञा दिए जानकी मन्दिर मुक्तिनाथ मन्दिरमा पुगेर विधि पुर्बक पुजा अर्चना गरेको पनि देखाए यो त सबै राजनीति हो कुटनैतिक हो हिजो जसरी नेपाल संग सम्बन्ध बिग्रेको थियोे अहिले त्यसलाई सुधार गर्न खोजेको अबश्य पनि देखिन्छ ।
मोदी भारतका प्रस्त बोल्ने नेता मध्य एक हुन उनले यसपटक पनि नेपालमा धेरै कुरा बोले धेरै सहयोगको आश्वासन पनि बाडे तर नेपालको संविधान प्रति जुन असहमति थियो त्यो पुरा भयो कि भएन भन्ने बारे केही कुरा नबोल्नु बाट के कुरा बुझ्न सकिन्छ भने कित मोदी अहिले पनि छलछाम नै गरिरहेका छन् नेपाल र नेपाली जनताप्रति हैन भने उनी स्पष्ट बोल्छन् तर सत्य बोल्न भने डर मान्छन् भन्ने कुरा सत्य साबित भएको छ ।

अहिले मोदी आउदा नेपालको संचार जगत निरही बन्नुपर्ने अबस्थामा पुगेको देखियो समाचार सबै भारतीय च्यानलहरूले प्रसारण गरे नेपाली संचार माध्यम लाई नेपाल मै रोक लगाइयो यो बिदम्बना नै मान्नुपर्छ ।साच्चै नेपाल अहिले पनि सार्बभौम छैन कि भन्ने देखियो साच्चै हाम्रो देशको शासकहरू भारत बिना राजनीति शक्ति र सक्ता अनि सरकार अधुरो छोराछोरीको छात्रवृत्ति अधुरो भन्ने दास मानसिकता कै उपज अझैसम्म कायमै देखिन्छ यसलाई अब चिर्न जरुरी छ ।
नेपालका प्रधानमन्त्री ओलीले जुन रास्ट्रबादी छबि बनाउन सफल भएका थिए अहिले मोदीको भ्रमणले त्यो साख ह्वात्तै घटाइएको छ ।जनकपुरमा ओलीले लगाएको ड्रेस नेपाली जनताले मनपराएका छैनन् ।पाहुनालाई स्वागत गर्नुपर्छ तर स्वागत गर्ने नाममा लम्पसार पर्ने परिपाटीको पनि क्रम भंग भने गर्न जरुरी देखिन्छ ।प्रधानमन्त्री ओलीले अङ्ग्रेजीमा भारतीय प्रधानमन्त्री मोदीले हिन्दीमा बोलेको कुरा पनि सान्दर्भिक थिएन साच्चै भन्ने हो भने ओलीले नेपालीमै बोल्ने हिम्मत गर्नुपर्थ्था ।मोदी मुक्तिनाथ पुगेर प्रदेश नम्बर ४ का मुख्य मन्त्री संग झुकेर जुन कला प्रर्दशन गरे त्यसबाट के कुरा बुझ्न सकिन्छ भने भारतको राजनीति ठुलो छ नेपालीले सजिलोसँग बुझ्न र्गाहो छ ।


Related posts

Leave a Comment